+
+

एचपीभी खोपको दोस्रो मात्रा दिन सुरू, कहाँ–कहाँ पाइन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १५:१६

७ चैत, काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरेको छ ।

सरकारले १४ वर्षका किशोरीहरूलाई एचपीभी खोप देशभर ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरू गरेको हो । पहिलो मात्रा लाएको ६ महिनापछि दोस्रो मात्रा लगाउनुपर्ने सरकारले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोशी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, सुर्खेत अस्पतालमा चैत ७ देखि खोप दिइने छ ।

त्यस्तै भेरी अस्पतालमा चैत ६, परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा चैत ८ र डडेलधुरा अस्पतालमा चैत १५ बाट एचपीभीको दोस्रो मात्रा दिइने छ । एचपीभी दोस्रो मात्राको खोप लिन जाँदा अनिवार्य खोप कार्ड लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीतिअनुसार पाठेघरको मुखको क्यान्सरलाई सन्न् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ ।नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) को कारण हुन्छ ।विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानका अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघरको मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।

एचपीभी भाइरसको संक्रमणका कारण ९९ प्रतिशत पाठेघरको मुखको क्यान्सर हुने गर्छ । तर पाठेघरको मुखको क्यान्सर अन्य क्यान्सर जस्तो चाँडै पत्ता लाग्दैन । संक्रमण सुरू भएको १० देखि १५ वर्षपछि मात्रै पाठेघरको मुखको क्यान्सर फैलिन्छ ।

एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ । चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरक्षित यौन सम्पर्क गर्ने, धेरै धुम्रपान तथा मद्यपान गर्ने र यौनांगको सरसफाइमा ध्यान नदिनु हो ।

चिकित्सकको अनुभवमा पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी ग्रामीण भेगका महिलामा देखिने गरेको छ । परिवार नियोजनका साधनको न्यून प्रयोग र स्वास्थ्य परीक्षणको दायरामा नआउँदा दुर्गम क्षेत्रका महिला बढी प्रभावित हुने गरेका छन् ।

चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।

एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन ।

एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जननेन्द्रीयहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभीविरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।

एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरूको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउनु आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?