 
																			८ चैत, काठमाडौं । सूर्यदर्शन सहकारीका पीडितहरुले आफूहरुको वचत फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई आग्रह गरेका छन् ।
सूर्यदर्शन सहकारी पीडितका तर्फबाट संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै वचत फिर्ताको वातावरण बनाइदिन आग्रह गरेका हुन् ।
सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना वचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै उनले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
सञ्चालक समितिका पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जीबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरुलाई पक्राउ गर्न चासो नदिएको अध्यक्ष श्रेष्ठले बताए ।
हामी कानुनी प्रक्रियामा गएको पनि आठ महिना भइसक्यो । ‘तर यो राज्यका प्रतिनिधिले सुशासनको कुरा गरिरहँदा हामी सुशासन होइन, कुशासनको चपेटामा परिरहेका छौं’, उनले भने ।
अध्यक्ष श्रेष्ठले सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईलाई कसले लुकाएको छ भनी प्रश्न गरेका छन् । ‘कसले लुकाएका छन् हामीलाई जवाफ चाहिएको छ, जीबीलाई पक्राउ गरेर ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ ?’, उनले भने, ‘सूर्यदर्शनाका वचतकर्ताले आन्दोलन सुरु गरेपछि ३/४ पटक सरकार परिवर्तन भए तर अहिलेसम्म पीडितको समस्या समाधान भएको छैन ।’
गलत नियत भएका मान्छेले सुनियोजित ढंगले सहकारीको वचत दुरुपयोग गर्दा हजारौंले विगतमा आफैंले जम्मा गरेको रकम आफू संकटमा पर्दा फिर्ता पाउन नसकेको उनको भाइ छ ।
‘यसमा जो जसको संलग्नता भए पनि कानुनी दायरामा ल्याई वचत फिर्ताक्को वातावरण बनाइदिनुपर्यो । छानबिन र कारबाही सहकारी सञ्चालकमात्र होइन, सम्बन्धित नियामक निकायलाई पनि हुनुपर्छ’, अध्यक्ष श्रेष्ठले ज्ञापनपत्रमा भनेका छन्, ‘वचतकर्ता पीडित हुनुमा नियामक निकायको पनि दोष देखिन्छ ।’
ज्ञापनपत्र बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले सरकारले सहकारी पीडितलाई न्याय गर्ने विश्वास व्यक्त गरे ।
‘तपाईहरुले प्रधानमन्त्रीलाई पनि भेट्नुभएको छ । पीडितहरुको समस्या समाधान गर्नुपर्छ । मैले सुनेको थिएँ, वर्तमान गृहमन्त्रीले पनि केही पहिला राज्यले नै भएपनि पीडितहरुको समस्या समाधान गर्छौं भनेर बोलेको सुनेको थिएँ । राज्यको संयन्त्रमा उहाँ हुनुहुन्छ, त्यसरी समाधान गरिदिनुभयो भने राम्रो भयो’, उनले भने ।
 
                









 
                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4