 
																			१० चैत, पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरताका लागि नयाँ दल होइन, भएकै दलहरु बलिया हुनुपर्ने बताएका छन् ।
एमालेको कास्की जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले पुराना दलका कारण देश विकास भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै आपत्ति जनाए । पोखरेलले दुनियाँको कुनै पनि शक्ति राष्ट्र नयाँ दलबाट नबनेको जिकिर गरे ।
‘दुनियाँका विकसित मुलुकहरुलाई के नयाँ पार्टीहरुले विकसित गरेका हुन् ? अमेरिकामा नयाँ नेतृत्वको आकांक्षा पनि पुरानै पार्टीहरुले पूरा गर्दछन् । त्यहाँ नयाँ नीतिको पैरवी पनि तिनै पुराना पार्टीहरुका माध्यमबाट गरिन्छ’, पोखरेलले भने, ‘अमेरिकालाई विश्वको शक्ति राष्ट्र बनाउन पुरानोले भएन, नयाँ चाहियो भनेर कसैले भनेको छैन ।’
विश्वमा नीति र नेतृत्वको विकल्प राजनीतिक दलहरुबाट खोज्ने प्रणाली नै स्थापित भएको उनको जोड थियो । अमेरिका, चीन, बेलायत र भारतको उदाहरण दिँदै पोखरेलले पुरानो पार्टीले नै रुपान्तरण गरिरहेको बताए ।
‘नेपालमा पुराना पार्टीले भएन अब नयाँ पार्टी चाहिन्छ भन्ने जुन प्रकारको हौवा चलाउन खोजिएको छ, त्यसको उद्देश्य के हो भन्दाखेरि नेपाललाई स्थायित्वतर्फ जान नदिने, अस्थिरतामा रुमल्याई राख्ने प्रवृत्ति हो’, पोखरेलले भने । यस्तो प्रवृत्ति नै नेपालको विकासको बाधक भएको पोखरेलले बताए ।
नेपाली समाजमा स्थायित्व निर्माण गर्न बलिया राजनीतिक दलहरुको खाँचो रहेको पोखरेलको जोड छ । ‘नेपाललाई अब नयाँ नयाँ प्रयोगशाला बनाउने होइन, नेपालको राजनीतिक परिवर्तनलाई जनताको आकांक्षालाई निरन्तर नेतृत्व गर्दै आइरहेका राजनीतिक दलहरुलाई बलियो बनाउनुपर्दछ’, पोखरेलले भने ।
मुलुकमा जतिबेला बलियो शक्तिको आवश्यकता पर्छ त्यतिबेला नै जनमत विभाजित भइराखेको पोखरेलले बताए । ‘नयाँ नयाँ शक्तिका नाममा, स्वतन्त्रका नाममा, केके नाममा जनमत विभाजित भइराखेको छ,’ पोखरेलले भने, ‘पार्टीलाई बलियो बनाउनुपर्ने ठाउँमा विभाजित गर्न खोज्ने प्रवृत्ति के राष्ट्रका निम्ति सहयोगी हुन सक्छ ?’
जनताले सबैभन्दा मन पराएको पार्टीले शासन गर्न नपाएका कारण पनि जनतामा निराशा बढेको पोखरेलको भनाइ छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो गठबन्धनबाट सुशासन र विकास गर्न नसक्ने देखेपछि नयाँ गठबन्धन बनेको उनको भनाइ छ ।
‘देशभक्तिपूर्ण आन्दोलनको यात्राबाट मैले आफूलाई अलग गर्न सक्दिनँ भन्ने लागेर सुशासन र विकासका प्रश्नमा आफू नेतृत्वको टीम सहयोगी बन्न नसक्ने निष्कर्षमा प्रचण्ड पुग्नुभयो’, पोखरेलले भने, ‘उहाँले नेकपाकालको विवादको विषयमा पनि आत्मलोचना गरेपछि हामीले पुरानो गठबन्धन भत्काएर नयाँ समीकरणको सरकार बनाएका छौं ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4