+
+

एमालेले उम्मेदवार तोकिसक्यो, माओवादीलाई लागेन उपचुनाव

‘अहिलेसम्म पार्टीमा उपनिर्वाचनमा उम्मेदवारको विषयलाई लिएर छलफल भएको छैन, अब छलफल होला’, माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटा भन्छन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० चैत ११ गते २०:००

११ चैत, काठमाडौं । राजनीतिक दलहरु आगामी १५ वैशाखमा हुने उपनिर्वाचनको तयारीमा जुटेका छन् । नेकपा एमालेले उपनिर्वाचन हुने दुवै क्षेत्रका लागि उम्मेदवार टुंगो लगाएको छ ।

आइतबार बसेको सचिवालय बैठकले इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि सुहाङ नेम्वाङ र बझाङ (१) बाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम २ बाट प्रतिनिधि सभा सदस्यको पद रिक्त भएको थियो । त्यसक्षेत्रमा एमालेले उम्मेदवार बनाएका सुहाङ, नेम्वाङकै कान्छा छोरा हुन् ।

सुहाङ नेम्वाङ

बझाङ–१ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत ५ असारमा सवारी दुर्घटनामा परेर निधन भएको थियो । त्यहाँ एमालेले उम्मेदवार बनाएका भण्डारी, पार्टीको बझाङ जिल्ला अध्यक्ष हुन् ।

नेपाली कांग्रेसको सम्बन्धित पार्टी कमिटीले इलाम–२ र बझाङ १ का लागि उम्मेदवारहरुको सिफारिस गरिसकेको छ । कांग्रेसको क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले ६ जनाको नाम सिफारिस गरेको छ ।

जसमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका छन् । आचार्य २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए भने खड्का ४ मंसिर २०७९ को आमचुनावमा नेम्वाङसँगै पराजित भएका थिए ।

बझाङको उपनिर्वाचनका लागि जिल्ला कार्यसमितिले आकांक्षी १० जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

पृथ्वीबहादुरका छोरा अभिषेक सिंहसँगै सत्यराज भण्डारी, जगतप्रसाद जोशी, शान्ति बोहरा, नन्दकृष्ण जोशी, ध्रुवराज उपाध्याय, विष्णुकुमार सिंह, लोकेन्द्रबहादुर रोकाया, नारायण हमाल र अर्जुन स्याडाको नाम सिफारिस भएको छ ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार नाम सिफारिसका लागि तोकिएको समय भर्खरै सकिएकाले एकाध दिनमा निर्णय हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशको उपचुनावमा भाग नलिने निर्णय गरेको छ भने इलाम २ का लागि आगामी शनिबार उम्मेदवार घोषणा गर्ने तयारी छ । निर्वाचन आयोगले उपचुनावको मिति तय गरेसँगै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई इलाम २ मा खटाएको थियो भने मत सर्वेक्षण गर्न ६ जना सांसद पनि गएका थिए ।

इलाममा मत सर्वेक्षणका लागि खटिएका रास्वपाका नेताहरु ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उपनिर्वाचनको तयारी अघि बढाएको छ । इलाम २ मा चुनावी गतिविधिका लागि रवीन्द्र लिङ्देनको नेतृत्वमा टोली परिचालित छ भने लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

बझाङमा भने उम्मेदवारको टुंगो लगाउन बाँकी छ ।

एकीकृत समाजवादीले पनि दुबै क्षेत्रमा उम्मेदवारी दिने तयारी रहेको बताएको छ । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार उम्मेदवारीको तयारी हुँदैछ ।

अधिकांश राजनीतिक दलहरु उपनिर्वाचनमा केन्द्रित हुँदा केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने मौन छ । माओवादीको कोशी प्रदेशका सचिव गणेश उप्रेतीका अनुसार इलाम २ को उपनिर्वाचनको विषयमा केन्द्रीय कमिटीले प्रदेश र जिल्ला कमिटीसँग कुनै प्रकारको संवाद गरेको छैन ।

अरु दलहरुले उम्मेदवार तय गरिसके, तपाईंहरुले उम्मेदवार सिफारिस गर्नुभयो भन्ने प्रश्नमा उनले भने, ‘पार्टी केन्द्रले हामीसँग उम्मेदवार मागेकै छैन कसरी पठाउनु ?’

तथापि प्रदेशले आफ्नो ढंगले तयारी गरिरहेको र केन्द्रले नाम मागेपछि पठाउने उप्रेती बताउँछन् । भन्छन्, ‘प्रदेश कमिटीको तयारी उम्मेदवार उठाउने नै छ ।’

प्रदेश सभा सदस्यका लागि बझाङ १ मा हुन लागेको चुनावका लागि पनि माओवादीको गतिविधि अघि बढेको छैन ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका सचिव जनक बुढा पार्टीको केन्द्रीय नीति अनुसार अगाडि बढ्ने बताउँछन् । ‘अहिलेसम्म माथि (केन्द्र) बाट कुरा केही आएको छैन’, उनले भने, ‘एमालेले सिंगल/सिंगल लड्ने भनेर निर्णय गरेको भन्ने छ । यसो हुँदा हामी पनि केही दिन भित्रै कुनै न कुनै निर्णयमा पुग्छौं ।’

तल्लो कमिटीले केन्द्रको निर्देशन पर्खिरहँदा नेतृत्व तहमा भने कुनै छलफल भएको छैन ।

माओवादी महासचिव देव गुरुङ अन्य दलहरुसँगको संवादका आधारमा उम्मेदवारबारे पार्टीले निर्णय लिने बताउँछन् । ‘राष्ट्रिय राजनीतिमा हामीले संयोजनकारी भूमिका निर्वाह गर्दै आएकाले उपनिर्वाचनको सम्बन्धमा पनि दलहरुसँग संवाद गर्नुपर्छ’, उनले भने, ‘कुन कुन दलको बीचमा तालमेल मिल्छ–मिल्दैन भन्ने कुरा हुन बाँकी छ । त्यसपछि मात्रै हाम्रो उम्मेदवारीको विषय टुंगो लाग्छ ।’

निर्वाचन आयोगले यही चैत २४ गते उम्मेदवारी दर्ताको समय तय गरेको छ । त्यस दिनसम्म माओवादी एउटा निर्णयमा पुग्ने माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाको जवाफ छ ।

‘अहिलेसम्म पार्टीमा उपनिर्वाचनमा उम्मेदवारको विषयलाई लिएर छलफल भएको छैन, अब छलफल होला’, प्रवक्ता सापकोटा भन्छन्, ‘उम्मेदवारी दर्ताको समय बाँकी भएकाले पार्टीमा छलफल हुन्छ र एउटा निर्णयमा पुगिन्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?