+

यौन स्वास्थ्यसम्बन्धी आठ भ्रम

२०८० चैत  १३ गते १२:०९ २०८० चैत १३ गते १२:०९
यौन स्वास्थ्यसम्बन्धी आठ भ्रम

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार दैनिक एक लाख मानिस यौन प्रसारित रोगबाट प्रभावित छन् । यत्तिका संख्या बढिरहँदा पनि अझै पनि समाजमा यौन प्रसारित रोगबारे खुलेर कुरा गर्दैनन् ।

रोगलाई लुकाएर राख्छन् । यसरी लुकाउँदा रोग एकबाट अर्कोमा फैलिने मात्र होइन, लामो समयसम्म उपचार नहुँदा कैयौंले ज्यान गुमाइरहेका हुन्छन् ।

अस्पतालमा यस्ता समस्या लिएर आउनेको संख्या निकै कम हुन्छ । तीमध्ये मुस्किलले केहीले चिकित्सकसँग यौन स्वास्थ्यबारे जिज्ञासा गर्छन् । कतिपय यसरी खुलेर आफ्नो समस्या राख्न नसक्दा गलत सूचनाको सिकार हुन पुग्छन् ।

पक्कै पनि अहिले सामाजिक सञ्जाल छ, जहाँ निर्धक्क आफ्नो समस्याबारे यौन जिज्ञासा टाइप गरेर उत्तर पाइन्छ । यसो गर्दा कसैले देख्लान् वा सुन्ला न भन्ने भय रहँदैन । गोपनीयता कायम रहन्छ ।

तर सामाजिक सञ्जालको वेब साइटमा राखिएका सबै सूचना विश्वासिलो र भरपर्दो हुन्छन् भन्ने हुँदैन । जसबाट तपाईंको समस्याको संकेत यही रोगको भनेर किटान गर्न सकिंदैन । सतही अनुमान मात्र लगाउन सक्छ । र, कहिलेकाहीं सही सूचना नपाउँदा मानिसले गलत भ्रम पाल्न सक्छन् ।

यस्तै केही यौन रोगसम्बन्धी केही सामान्य भ्रमबारे चर्चा गरौं ।

१. गर्भ निरोधक चक्की सेवन गरेमा यौन प्रसारित रोग सर्दैन

यो एक किसिमको भ्रम हो । यस्ता चक्कीले यौन प्रसारित रोगविरुद्ध लड्न मद्दत गर्दैन ।

पब्लिक हेल्थ इङल्याण्डका यौन तथा प्रजनन् स्वास्थ्यका परामर्शदाता डा. स्यू मान यस भ्रमबारे प्रस्ट पार्दै भन्छिन्, ‘गर्भनिरोधक चक्कीले गर्भावस्थालाई मात्र रोकथाम गर्छ । यौन रोगबाट बच्न एउटै गर्भनिरोधक साधन मात्र प्रभावकारी हुन्छ, त्यो हो, कण्डम ।’

सीडीसीका अनुसार गर्भ रोक्ने अस्थायी साधन जस्तै, चक्की, कपरटी, तीनमहिने सुई, नरप्लान्टले एचआईभी जस्ता रोगलाई रोक्न सक्दैन । मात्र गर्भमा सन्तान बस्नबाट रोक्न सकिन्छ ।

२. ‘विद ड्र वेल मेथड’ले गर्भ रोक्न मात्र होइन, यौन रोग लाग्दैन

‘विद ड्र वेल मेथड’ अर्थात् शारीरिक सम्पर्क गरेपछि वीर्य योनी बाहिर स्खलित गर्नु हो । ‘विद ड्र वेल मेथडले गर्भ बस्ने सम्भावना कम हुन्छ भन्ने कुरामा कुनै सत्यता छैन । सही समयमा यो प्रक्रिया गर्दा गर्भ बस्ने सम्भावना केही घटाउन सक्छ । तर चरम उत्कर्षमा पुग्दा योनी बाहिर स्खलित गर्ने समय ठयाक्कै नमिल्न सक्छ,’ डा. मान भन्छिन् ।

त्यति मात्र होइन, कहिलेकाहीं स्खलन हुनुअघि ‘प्रि एजाकुलेट’ हुनसक्छ । यस्तोमा कतिपय केसमा तरल पदार्थमा पनि वीर्य हुनसक्छ ।

यसैबारे भएको एक अध्ययनअनुसार समयपूर्व स्खलन भएका २७ जनाको नमुना परीक्षण गर्दा १० जनामा वीर्य पाइएको थियो । जसबाट विज्ञहरुले कसैमा ‘प्रि एजाकुलेट’ हुँदा वीर्य हुन सक्ने र कसैमा नहुने निष्कर्ष निकालेका थिए ।

जहाँसम्म यौन रोग नलाग्ने कुरा छ, यो पनि गलत बुझाइ रहेको छ । यो विधिबाट पनि यौन रोग एचआईभी, र्हप्स, साइफिल्स, गोनोरिया जस्ता रोग लाग्ने जोखिम उत्तिकै रहने डा. मान बताउँछिन् ।

३. दोब्बर कण्डम एकै पटक लगाउँदा दोब्बर सुरक्षा

धेरैको बुझाइ के छ भने दुईवटा कण्डम एकै पटक लगाउँदा दोब्बर सुरक्षा हुन्छ । तर यो एक भ्रम मात्र हो ।

‘दुई वा दुई भन्दा बढी कण्डम लगाएर यौन सम्बन्ध कायम गर्नु झन् जोखिमपूर्ण हुनसक्छ,’ डा. म्यान भन्छिन्, ‘धेरै कण्डम प्रयोग गर्दा घर्षण हुँदा चापले कण्डम फुट्ने जोखिम बढी हुन्छ । कण्डम फुटेमा यौन रोग र गर्भ बस्ने सम्भावना अत्याधिक हुन्छ । त्यसैले एउटा मात्रै कण्डम प्रयोग गर्नु उपयुक्त हुन्छ ।’

४. शौचालयबाट पनि यौन रोगको जोखिम हुन्छ

यो सायद यौन रोग सम्बन्धित सबैभन्दा बढी फैलिएको भ्रम हो । यद्यपि, बारम्बार यो भ्रम हो भनेर खण्डन गरिए पनि यसलाई चिर्न सकिएको छैन,’ उनले भनिन् ।

यी रोग यौनाङ्ग, मुख-मैथुन र यौन खेलौना जथाभावी प्रयोगबाट एकबाट अर्कोमा सर्छ । क्लामिडिया, गोनोरिया र सिफिलिस जस्ता भाइरसको संक्रमणले हुन्छ ती भाइरस मानव शरीर बाहिर लामो समयसम्म बाँच्न सक्दैन, त्यसैले सामान्यतया शौचालय सीटहरू जस्तै सतहहरूमा छिट्टै मर्छन् । जसकारण शौचालयबाट भाइरसहरुको संक्रमण सर्न नसक्ने उनी बताउँछिन् ।

५. यौनरोगको कुनै उपचार छैन

यौनरोगको उपचार सम्भव छ । तर पूर्णरुपमा सबै रोग निको हुन्छ भन्न सकिंदैन । विश्व स्वास्थ्य संगठनका अनुसार आठवटा जीवाणुमा क्लामिडिया, गोनोरिया र सिफिलिस र ट्रिकोमोनाइसिस जस्ता चारवटा रोग उपचार पछि निको हुनसक्छ ।

बाँकी रहेको चारवटा हेपटाडटिस बी, हर्पिस, एचआईभी र एचपीभी निको हुन सक्दैन ।

६. यौनरोग यौन सम्पर्क नगरेसम्म सर्दैन

यौन सम्पर्क मात्र यौन रोगको कारक होइन । मुख मैथुन, एकअर्काको यौनाङ्ग स्पर्श गर्ने र यौन खेलौना साटासाट गर्दा पनि यौन रोग सर्न सक्ने डा. म्यान बताउँछिन् ।

यौनक्रिया बाहेक सुईको गलत प्रयोगबाट पनि सर्न सक्छ ।

७. समलिङ्गी पुरुषहरू मात्र एचआईभी संक्रमित हुन्छन्

समलिङ्गी पुरुषहरू मात्र एचआईभी सङ्क्रमित हुन्छन् भन्ने ठूलो भ्रम छ । ‘जुनसुकै जाति, उमेर, लिङ्ग जो सुकैलाई एचआईभी संक्रमण हुनसक्छ । यदि तपाईंलाई एचआईभी छ र तपाईंलाई थाहा छैन भने यौनसाथीलाई सर्ने सम्भावना बढी हुन्छ,’ डा. म्यान भन्छिन् ।

८. यौनरोगको लक्षण छ भने मात्रअरुलाई सर्न सक्छ

धेरैलाई यौनरोग भएको थाहा नहुँदा यो रोग लाग्न र फैलिन सक्छ,‘ डा. मान भन्छिन्, ‘यौनरोग लक्षण विना र लक्षणसहित फैलिन सक्छ ।’

डब्लुएचओका अनुसार धेरैजसो यौनरोगमा लक्षण देखिंदैन । र, केहीमा हल्का किसिमका लक्षण देखिन सक्छ ।

लक्षण नदेखिने हुँदा यौनरोगको परीक्षण र यौन सम्बन्ध कायम गर्दा कण्डमको अनिवार्य प्रयोग गर्नुपर्छ  ।

मेडिकल न्युज टुडेबाट

भ्रम र यथार्थ यौन स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय