+
+

चट्याङ किन पर्छ, कसरी बच्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १६:०१

प्रत्येक वर्ष चट्याङ लागेर नेपालमा धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो गर्मी महिनामा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ ।

चट्याङको बारेमा हामीले धेरै मिथक सुन्दै आएका छौं । जस्तै, चट्याङ सधैं सबैभन्दा अग्लो वस्तुमा पर्छ वा चट्याङ कहिल्यै पनि एकै ठाउँमा दोहोर्‍याएर पर्दैन । तर यी दुवै कुरा सत्य होइनन् ।

बिजुली चम्किंदा त्यसले आकाशबाट शक्तिशाली विद्युतीय तरंग पृथ्वीमा प्रवाह हुन्छ, त्यसैलाई चट्याङ परेको भनिन्छ । मौसमको यस नाटकीय घटनाको बारेमा थाहा पाइराख्नुपर्ने केही जानकारी यहाँ प्रस्तुत छ ।

बिजुली चम्किने र मेघगर्जन कसरी हुन्छ ?

चट्याङ वायुमण्डलमा देखापर्ने एक किसिमको बिजुलीको धार हो । यो आकाशबाट पृथ्वीको सतहतिर प्रवाहित हुन्छ ।

जब वायुमण्डल अस्थिर हुन्छ र आकाशमा कालो बाक्लो कुमुलोनिम्बस बादलहरु बन्छन् । त्यस्तोमा जमिनको सतहको तातो हावाको उठेर माथिको चिसो हावासँग ठोकिन्छ, त्यसपछि बिजुली चम्किने गर्छ ।

बिजुली चम्किंदा ठूलो मात्रामा विद्युतीय शक्ति निस्कन्छ र यो बादलबाट हावा हुँदै जमिनको सतहमा आउँछ । त्यस्तै, बिजुली चम्किंदा उत्पन्न भएको विद्युतीय शक्ति छिटो तातेपछि त्यसले ठूलो आवाजमा मेघगर्जन हुन्छ ।

चट्याङ पर्दा विद्युतको धार आकाशबाट पृथ्वीको सतहतिर प्रवाह हुन्छ । यसले कुनै मानिस वा प्राणीलाई लाग्यो भने उनीहरुको मृत्यु समेत हुनसक्छ ।

यो कति खतरनाक छ ?

चट्याङ लागेर मानिसको मृत्यु समेत हुन सक्छ । चट्याङ पर्दा २० हजारदेखि ३० हजार एम्पियर इलेक्ट्रिकल करेन्ट उत्पन्न हुन्छ, जुन आकाशबाट पृथ्वीमा । यो तपाईंले वासिङ मेसिन प्रयोग गर्दा आवश्यक पर्ने विद्युत भन्दा २३ सय गुणाले बढी हो ।

चट्याङ ३० हजार सेल्सियस भन्दा धेरै तापक्रममा पुग्छ, जसको अर्थ यो सूर्यको सतह भन्दा पनि तातो हुन्छ । र, चट्याङ प्रतिसेकेण्ड ७५ माइल हावामा फैलिन सक्छ ।

यसको जोखिममा धेरै घरबाहिर हुने मानिस पर्छन् । जस्तै किसान, पैदलयात्रु, बाहिर काम गर्ने र विभिन्न खेलाडीहरु । धेरैजसो चट्याङ पर्ने हावाहुरी आएको र बादल मडारिएको बेलामा हुन्छ, करिब बीस प्रतिशत जति चट्याङ आकाशबाट जमिनमा आइपुग्छ ।

तपाईंलाई यसले प्रत्यक्ष लाग्न सक्छ भनेर मात्रै डराउन पर्दैन । तपाईंको नजिकको कतै पनि चट्याङ पर्‍यो भने यसले तपाईंलाई खतरामा पार्न सक्छ । किनभने यसले तपाईंको वरिपरि धेरै ठूलो मात्रामा विद्युत छोड्न सक्छ । चट्याङले तपाईं नजिक मार हानेर अन्तै मोडिन पनि सक्छ ।

चट्याङ कति टाढा परेको छ ?

धेरै मानिस चट्याङ टाढा परेको सोचेर आफू सुरक्षित भएको ठान्छन् र त्यसै कारणले चट्याङबाट मारमा पर्न सक्छन् । यसबारेमा तपाईंले याद गर्नुपर्ने चट्याङ कति टाढा छ भन्ने हो । यो तपाईंले बिजुली चम्किएको र मेघ गर्जिएको बीचको अवधिको समय गनेर थाहा पाउन सक्नुहुन्छ ।

सामान्य रुपमा भन्नुपर्दा प्रत्येक तीन सेकेण्डले बराबर एक किलोमिटर दूरी हुन्छ । त्यसैले तपाईंले नौ सेकेण्ड गन्नुभयो भने चट्याङ तीन किलोमिटर टाढा परेको छ । त्यसैले तपाईंले बिजुली चम्किएको र मेघ गर्जिएको ३० सेकेण्डभित्र कुनै पनि ठाउँमा ओत लागिहाल्नुपर्छ ।

चट्याङ पर्नुअघि के गर्ने ?

टेलिभिजन, कम्युटर, फ्रिज लगायत सबै विद्युतीय उपकरणलाई बन्द गरेर तार निकाल्नुहोस् । किनभने चट्याङ पर्दा पावर तलमाथि भएर तपाईंको सामान बिग्रिन सक्छ ।

सकेसम्म चाँडो ओत खोज्नुहोस् । जब तपाईंले गड्याङगुडुङको आवाज सुन्नुहुन्छ, तपाईं ओत लागि हाल्नुपर्छ ।

चट्याङले जहाँ पनि मार हान्न सक्छ र तपाईं त्यस्तो ठाउँको आसपासमा पनि हुन सक्नुहुन्छ । त्यसैले चट्याङले बिजुली चम्किएको १० माइल टाढासम्म मार हान्न सक्छ ।

चट्याङ परेपछि के गर्ने ?

१. तपाईं घरभित्र हुनुहुन्छ भने ल्याण्डलाइन टेलिफोन प्रयोग नगर्नुहोस्, किनभने ल्याण्डलाइनमा विद्युत प्रवाह भएको हुन सक्छ ।

२. त्यसैगरी तपाईंले धातुको पाइपबाट बनेको धाराहरु पनि प्रयोग नगर्नुहोस्, किनभने यसमा पनि विद्युत प्रवाह हुनसक्छ ।

३. यदि बाहिर कुनै ओतबिना हुनुहुन्छ, तपाईं धातुको सामान बाट टाढै रहनुहोस् र विद्युतीय सामानहरु आफूबाट करिब २० मिटर टाढा राख्नुहोस् ।

४. पानीबाट टाढा बस्नुहोस्, किनभने पानीले पनि विद्युत प्रवाह गर्छ ।

५. रुख, खम्बा वा अन्य धातुका सामानहरु नभएको भुईंमा बस्ने मिल्ने खुल्ला ठाँउमा बस्नुहोस् । किनभने चट्याङ अग्ला वस्तुमा पर्ने सम्भावना बढी हुन्छ ।

६. सम्भव भए कारभित्र बस्नुहोस् । चट्याङ गाडीको धातुमा फैलिन्छ र टायरको माध्यमबाट अर्थिङ हुन्छ ।

७. यदि तपाईं चट्याङ पर्न सक्ने स्थानको नजिकै हुनुहुन्छ भने भुईंतर्फ फर्केर घोप्टिनुहोस् । हातलाई घुँडाहरु राखेर टाउको त्यसको बीचमा राख्नुहोस् । जमिनलाई सकेसम्म थोरै छुनुहोस्, भुईंमै सुत्न हुँदैन ।

८. विशेषगरी विद्युत प्रवाह गर्न सक्ने धातुका सामानबाट टाढै रहनुहोस् । जस्तै- गल्फ क्लब, छाता, मोटरसाइकल, साइकल तारबार ।

९. यदि तपाईंको कपाल उठेको अनुभव भयो भने फेरि तत्कालै पहिलेकै पोजिसनमा बस्नुहोस् ।

१०. चट्याङपछि पनि बन्द भएका विद्युतलाइन र चुँडेका तारहरुबाट टाढा हुनुहोस् ।

यदि कसैलाई चट्याङ लाग्यो भने के गर्ने ?

यदि कसैलाई चट्याङ लाग्यो भने उसको शरीर जलेको हुनसक्छ । चट्याङले मुटुलाई असर गर्छ । त्यसैले चट्याङ लागेको मानिसको मुटुको धड्कन छ कि छैन परीक्षण गर्नुपर्छ ।

एम्बुलेन्स वा स्वास्थ्यकर्मीलाई खबर गर्नुहोस् । उनीहरु आइपुग्नुभन्दा पहिले तपाईं अरु चट्याङ पर्नबाट जोखिम छैन भन्ने सुनिश्चित हुनुहोस् ।

उनीहरुको मुटुले काम गर्न छोडेको छ भने सीपीआर विधि अपनाउनुहोस् । तपाईंलाई इलेक्ट्रिक सक लाग्दैन किनभने शरीरमा विद्युतीय चार्ज बसिरहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?