+
+

इलाम-२ मा कांग्रेसको उम्मेदवार डम्बर कि भेषराज ?

लिलु डुम्रे लिलु डुम्रे
२०८० चैत १४ गते २१:०२

१४ चैत, काठमाडौं । इलाम-२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार हुने आकांक्षा राखेर सिफारिस भएका नेपाली कांग्रेसका सात मध्ये पाँच जना काठमाडौंमा छन् । क्षेत्र, जिल्ला हुँदै प्रदेश समितिले सात जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।

उम्मेदवारका आकांक्षीहरु डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल र रमेश लिङ्देन टिकट प्राप्त गर्ने आशाले काठमाडौंमा छन् । सिफारिसमा परेका दुई महिला चन्द्रमाया लिम्बू र शान्तिकला तामाङ भने काठमाडौं आएका छैनन् ।

पार्टीले उम्मेदवारको टुंगो भने चैत १९ वा २० गते लगाउने भएको छ । चैत १९ वा २० गते पार्टीले उपनिर्वाचनका उम्मेदवार तय गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए । त्यसअघि आफू इलाम जाने उनले बताए ।

टिकटको लागि नेताहरुको घरमा समूह÷समूह बनाएर आकांक्षीहरु पुगिरहेका छन् । टिकटका लागि सर्वाधिक चर्चामा रहेका डम्बर खड्का र भेषराज आचार्यले सभापति शेरबहादुर देउवा सहित शीर्ष तहका नेताहरु सबैजसोलाई भेटिसकेका छन् । सभापति र शीर्ष तहका प्रमुख नेताहरुलाई भेटेको टिकटका आकांक्षी खड्काले बताए ।

उम्मेदवारका आकांक्षीहरुसँग छलफल गर्न सभापति शेरबहादुर देउवाले बुधबार अपरान्ह आफ्नो निवासमा डाकेका थिए । सभापतिसँगको छलफल विषय केन्द्रीत कुरा हुन नपाएको देउवा निवास पुगेका आचार्यले बताए । ‘खास कुरा हुन पाएन । संसदीय बोर्डले उम्मेदवार बनाउने भन्नुभयो,’ आचार्यले भने ।

पार्टीका शीर्ष नेताहरुका अनुसार आकांक्षी सात जना रहेपनि खड्का र आचार्य मध्ये एक जनाले टिकट प्राप्त गर्नेछन् । अघिल्लोपटक चुनावमा पराजित भएका खड्का जिल्ला सभापति समेत हुन् । उनी नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । उनी सभापति देउवा पक्षीय हुन् ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका खड्का नेविसंघको दुईपटक जिल्ला सभापति बनेका थिए । उनी पार्टीको जिल्ला कोषाध्यक्ष समेत बने । खड्का नेविसंघको केन्द्रीय उपाध्यक्ष समेत बनेका थिए । १४ औं महाधिवेशनमा खड्काले जिल्ला सभापतिमा आचार्यलाई हराएका थिए । खड्का निर्माण व्यवसायी समेत हुन् । पार्टीले जसलाई टिकट दिएपनि आफ्नो दायित्व जिताउने हुने खड्काले अनलाइनखबरसँग बताए । ‘मैले टिकट पाएँ भने पाइहालें । टिकट पाइन भने सभापति भएकाले आफ्नो उम्मेदवार जिताउन लाग्ने हो,’ खड्काले भने ।

एकले टिकट पाए अर्कोलाई हराउने कांग्रेसको प्रवृत्ति यसपटक इलाम–२ को उप निर्वाचनमा नदेखिने खड्काले दाबी गरे । संगठन मजबुत रहेकाले कांग्रेसले नै जित्ने उनको दाबी छ । जित्ने आधार बारे उनले भने, ‘संगठन मजबुत छ । पहिचानको पक्षमा मुद्धा उठाएका साथीहरुको माग सम्बोधन गर्नुपर्छ भनेर कोशीका सभापतिहरुले महत्वपूर्ण निर्णय गरेका छौं ।’

तल्लो तहको संगठनको बल भने आचार्यलाई छ भने पार्टी मूल नेतृत्वको आड खड्कालाई छ । शीर्ष तहका एक नेताका अनुसार सभापति देउवा यसपटक पनि खड्कालाई उम्मेदवार बनाउने पक्षमा छन् । उनी भन्छन्,‘सुवासचन्द्र नेम्बाङ जस्तो उच्च तहको नेतासँग मात्रै ११४ मतले हारेको व्यक्तिले अरुलाई त डम्बरले सजिलै जित्छ भन्ने देउवालाई छ ।’

टिकटका लागि दौडधुप गरिरहेका आचार्यका लागि महामन्त्री गगन थापा र नेता शेखर कोइरालाको बल छ । लामो समय कांग्रेसको राजनीतिमा क्रियाशील र कार्यकर्ताको सहानुभूति उनीमा रहेको संस्थापनइतरका नेताहरु बताउँछन् । आफूले बाहेक अन्यले टिकट पाए जित्न सक्ने अवस्था नरहेको आचार्य दाबी गर्छन् ।

पार्टीको तल्लो संगठनमा आफू बलियो रहेको आचार्यले अनलाइनखबरसँग बताए । जिल्ला सभापतिमा आफूले जित्न नसकेपनि क्षेत्रीय सभापति, उपसभापति, सचिव, प्रदेश सांसद आफ्नो पक्षका भएको आचार्यले दाबी गरे ।

‘मैले टिकट पाएँ भने त संगठनले मलाई जुरुक्कै बोक्छ नि । मैले टिकट पाउन सकिन भने १५–२० प्रतिशत कांग्रेसका कार्यकर्ताले निराश भएर पार्टी छोड्ने अवस्था बन्छ,’ आचार्य भन्छन् ।

दुईपटक जिल्ला सभापतिमा पराजित आचार्यले २०७० सालमा टिकट पाएका थिए । तत्कालीन समयमा उनी एमाले नेता सुवासचन्द्र नेम्बाङसँग पराजित भए । २०३३ सालबाट नेविसंघमा क्रियाशील भएका उनी २०४२ सालबाट पार्टी राजनीतिमा आवद्ध लागेका थिए । २०४८ सालदेखि महासमिति सदस्य रहेका उनी पार्टीभित्र संस्थापनइतरमा छन् ।

कांग्रेसको क्षेत्रमा अवस्थाः

इलाम–२ मा देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका सबै वडा यस क्षेत्रमा पर्दछन् । इलाम नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडा र माइ नगरपालिकाका वडा नम्बर ६, ७ र ८ यस निर्वाचन क्षेत्रमा पर्दछन् ।

गत स्थानीय तहको चुनावमा इलाम नगरपालिका र चुलाचुली गाउँपालिका कांग्रेसले जितेको छ । इलामा ४२ वडा पर्ने यस क्षेत्रमा २२ वडा अध्यक्ष कांग्रेसका छन् ।

गत निर्वाचनमा एमालेका नेम्बाङले ३० हजार २० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका उम्मेदवार खड्काले २९ हजार ९०६ मत पाएका थिए । समानुपातिक तर्फपनि एमाले पहिलो दल बनेको थियो । समानुपातिकमा एमालेको पक्षमा २६ हजार ५६२ मत आएको थियो भने कांग्रेसले २२ हजार ३३३ मत पायोे ।

२०७९ सालको निर्वाचनमा प्रदेश तर्फ (१) मा कांग्रेस निर्वाचित भएको थियो भने २ मा एमालेका उम्मेवारले जितेका थिए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?