
१६ चैत, काठमाडौं । भारतले दिउँसोको समयमा मात्रै नेपाललाई विद्युत् निर्यात गर्ने निर्णय गरेपछि बेलुका लोडसेडिङ होला कि भन्ने डर सर्वसाधारणलाई छ ।
खासगरी साँझ ६ देखि राति १०-११ बजेसम्म विद्युत् माग सबैभन्दा बढी हुन्छ । तर साँझ ६ देखि भोलिपल्ट बिहान ६ बजेसम्म विद्युत् आयात गर्न नपाउँदा त्यसले पुनः लोडसेडिङमा बस्नुपर्ने हो कि भन्ने चिन्ता सर्वसाधारणले गरिरहेका छन् । किनभने ‘पिक आवर’ मा भारतबाट करिब ७ सय मेगावाटसम्म विद्युत् आपूर्ति हुने गरेको छ ।
भारतले बिहीबार स्वीकृत गरेर पठाएको विद्युत् व्यापार सम्झौतामा भारतीय इनर्जी एक्सचेन्जको ‘रियल टाइम’ तथा ‘डे अहेड’ बजारबाट दिउँसोको समयमा मात्रै विद्युत् आयात गर्न पाउने व्यवस्था गरिएको ऊर्जा मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले जानकारी दिए ।
तर ग्यासबाट उत्पादित विद्युत् भने नेपालले जुनसुकै बेला आयात गर्न पाउँछ । ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारतीय रुपैयाँ (भारु) सम्म पर्छ ।
ग्यासको विद्युत् महँगो हुने भएकाले त्यो आयात नगर्ने अडान विद्युत् प्राधिकरणले लिएको छ । ‘हामीले अहिले पनि महँगो शुल्क पर्ने गरी विद्युत् आयात गरेका छैनौं, भोलि पनि घाटा खाने गरी आयात गर्दैनौं,’ विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष भन्छन् ।
बरु देशभित्रैका आयोजनाबाट हुने उत्पादन र वितरण व्यवस्थापन गर्दै लोडसेडिङ हुन नदिने उनले बताए । विद्युत् आपूर्तिको वैकल्पिक योजनामा काम गरिरहेको र सर्वसाधारणलाई लोडसेडिङ नगर्ने उनको दाबी छ । ‘देशभित्रै उत्पादन बढ्न थालेको छ, अहिले १२ देखि १४ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ । विस्तारै सहज बन्दै जाने अपेक्षा छ,’ उनले भने, ‘लोड व्यवस्थापनको वैकल्पिक उपाय अवलम्बन गरेर भए पनि लोडसेडिङ हुन दिंदैनौं ।’
प्राधिकरणले जलाशययुक्त र पिकिङ आरओआर आयोजनाहरू दिउँसो नचलाउने र राति मात्रै चलाएर पनि लोड व्यवस्थापन गर्न सक्ने ऊर्जा प्रवक्ता सिंह बताउँछन् ।
ग्यासबाट उत्पादित विद्युत् किन्न भारतको जोड
भारतले सुक्खा समयका लागि ग्यासबाट उत्पादित विद्युत् प्रयोगमा जोड दिइरहेको छ । भारतका ऊर्जामन्त्री आरके सिंहले त्यहाँको कुल विद्युत् आपूर्तिमा ग्यासको मात्रा बढाउन निर्देशन दिएका छन् ।
पछिल्लो ६ महिनामा भारतमा प्राकृतिक ग्यासको मूल्य ३० प्रतिशत घटेको मिडियाले उल्लेख गरेका छन् । तर ग्यासबाट उत्पादित विद्युत् ८ देखि १० रुपैयाँ भारु (१६ रुपैयाँ) सम्म पर्ने गर्छ । जुन भारतीय ऊर्जा एक्सचेन्ज बजारको तुलनामा धेरै नै बढी हो ।
बिहीबार भारतीय इनर्जी एक्जचेन्ज बजारमा प्रतियुनिट ३.८९ भारुमा विद्युत् व्यापार भइरहेको छ । ‘यस्तो अवस्थामा महँगो बिजुली किन्न सकिंदैन,’ प्राधिकरणका प्रवक्ता घोषले भने ।
३१ मार्चमा सकिने विद्युत् आयात सम्बन्धी सम्झौता नवीकरणमा ढिलाइ भएपछि ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भारतका ऊर्जा सचिव पंकज अग्रवाललाई फोन गरी त्यसलाई छिटो गरिदिन अनुरोध गरेका थिए ।
भारतले बिहीबार दिउँसोको समयमा मात्रै बिजुली बेच्ने गरी सम्झौता नवीकरणको निर्णय भएको जानकारी गराएको थियो । नेपालले भारतसँग भएको विद्युत् आयातसम्बन्धी सम्झौताअन्तर्गत रहेर प्रतिस्पर्धी बजारबाट बिजुली आयात गरिरहेको छ । खासगरी हिउँद र सुक्खा याममा भारतबाट करिब ४० प्रतिशत विद्युत् आयात गरी प्राधिकरणले आपूर्ति गर्दै आएको छ ।
हाल नेपालमा करिब १ हजार ५ सय मेगावाट विद्युत् आपूर्ति भइरहेकोमा त्यसको करिब ४६ प्रतिशत भारतमा आयात हुने गरेको विद्युत् प्राधिकरणको तथ्यांक छ । नेपालले भारतको इनर्जी एक्सचेन्ज लिमिटेडसँगको सम्झौताअनुसार त्यहाँको खुला बजारमा ऊर्जा किनबेच गर्दै आएको छ । नेपालमा आयात हुने अधिकांश ऊर्जा भारतको इनर्जी एक्सचेन्ज मार्केटमार्फत नै हुने गर्छ ।
औद्योगिक क्षेत्रमा लोडसेडिङ बढ्ने त्रास
विद्युत् आपूर्ति कम हुँदा विद्युत् प्राधिकरणले अहिले औद्योगिक क्षेत्रमा दैनिक ८-१० घण्टा लोडसेडिङ गरिरहेको छ । भारतले रातको समयमा विद्युत् निर्यात नगर्ने निर्णय गरेपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ बढ्ने हो कि भन्ने शंका उद्योगीले गरेका छन् ।
नेपालले भारतीय एक्सचेन्ज बजार अतिरिक्त बिहार र उत्तर प्रदेश सरकारसँग छुट्टै सम्झौता गरेर पनि विद्युत् आयात गर्छ । एक्सचेन्ज बजारमा आयात हुने विद्युत्काे दर हरेक दिन परिवर्तन हुन्छ । तर छुट्टै सम्झौतामार्फत आयात हुने विद्युत् दर भने स्थिर हुन्छ । त्यसरी आयात हुने विद्युत्लाई अहिले प्रतियुनिट ७ रुपैयाँ ६४ पैसा शुल्क तिर्नुपर्छ । त्यसमा पनि साढे ४ प्रतिशतले वृद्धि गर्नुपर्ने प्रस्ताव भारतले गरेको छ ।
प्रतिक्रिया 4