+
+

विस्फोटक लोकेशको चाहे जस्तो शतकीय इनिङ्स

भुपेन्द्र जि.सी. भुपेन्द्र जि.सी.
२०८० चैत १६ गते २०:५०

१६ चैत, काठमाडौं । नेपालका युवा ब्याटर लोकेश बमले आयरल्यान्ड ए विरुद्ध पहिलो टी–२० मा ओपनिङ गर्दै १०६ रनको शतकीय इनिङ खेले । ५६ बलमा ९ चौका र ८ छक्का सहित शतक हाने पनि नेपाल हारबाट भने जोगिन सकेन ।

२२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट हुन पुग्यो । विकेटकिपर विनोद भण्डारी १६, देव खनाल डक र अर्जुन घर्ती ३ रनमा आउट हुँदा नेपाल ८.४ ओभरमा ६८–३ को अवस्थामा पुगेको थियो ।

सुरुवाती १० ओभरमा घरेलु टोली ७९–३ को अवस्थामा पुग्दा जित्नलाई प्रतिओभर १४.४० रन रेट आवश्यक थियो । चौथो विकेटका लागि लोकेशले आरिफ शेखसँग ४६ बलमा १२१ रनको शतकीय साझेदारी गर्दै नेपाललाई तिलस्मी जिततर्फ अघि बढाए ।

लोकेशले सुरुवाती ५० रन ३७ बल, त्यसपछि बाँकी ५० रन १५ बलमै पूरा गरेका थिए । ११ औैं ओभरको अन्तिम दुई बलमा उनले गेभिन होईलाई लगातार छक्का हान्दै आफ्नो शैलीमा खेल्न थालेका थिए । ग्यारेथ डेलानीलाई १५औं ओभरको दोस्रो बल हानेको छक्का पेभेलिएन बक्सको माथिबाट पर्खाल कटेको थियो । पर्खाल बाहिर बल गएको टीयुमा कमै देखिन्छ ।

१६औं ओभरको दोस्रो बलमा लोकेशले दुई रन बटुल्दै ५२ बलमा आफ्नो करिअरको पहिलो शतक पूरा गरेका थिए । पहिलो शतकपछि लोकेशले चोभार एण्डतर्फ दर्शकतर्फ पुगेर सेलेब्रेसन गरे । ‘यो क्षणको लागि धेरै पहिलादेखि पर्खिएको थिएँ’ खेलपछि लोकेशले भने, ‘शतक बन्दा छुट्टै आनन्द हुन्छ । एकदमै भावुक पनि थिएँ । म्याच जिताउन खोजेको थिए, तर त्यो चाहिं भएन ।’

लोकेशले १६ औं ओभरको पाँचौं बलमा लङअफमा चौका प्रहार गरेपछि नेपाल १५.५ ओभरमा १८९–३ का बलियो अवस्थामा थियो । तर त्यही ओभरको अन्तिम बलमा लोकेश डीप प्वाइन्टमा मेयर्सबाट क्याच आउट हुन पुगे ।

लोकेश आउट हुनु नेपालको हारको टर्निङ प्वाइन्ट बन्यो । ‘बल एकदमै ब्याटमा आएको थियो । बाउन्ड्री पनि सानो थियो, जहाँ हानेपनि छक्का लागेको थियो’ लोकेशले भने, ‘दुर्भाग्य त्यो बल लागेन । तर पनि खेल जित्ने आशा थियो ।’

लोकेश आउट हुँदा भरपर्दा ब्याट्सम्यान आरिफ ४६ रनमा क्रिजमा थिए भने त्यसपछि पनि ब्याटिङ लाइनअप बलियो थियो । २४ बलमा ३४ रन चाहिएको थियो । तर आरिफ ४९ रन, किरण ठंगुन्ना २, बसिर अहमद ३, राशिद खान, कमलसिंह ऐरी र हेमन्त धामी शून्यमा आउट भए ।

लामो समयपछि मैदान फर्किएर ३ विकेट लिएका कमल सिंह ऐरीका अनुसार खेल जितिहालिल्छ भन्ने लाग्दा पनि हार्न पुग्यो । भन्छन्, ‘अब यहाँबाट सहजै जितिन्छ भन्ने लाग्यो, कसैले पनि प्रेसर लिएन । २/३ विकेट गएपछि धेरै प्रेसर भयो ।’

लोकेशको करिअरको त्यो टर्निङ प्वाइन्ट

धनगढी क्रिकेट एकेडेमीबाट हुर्किएका लोकेश ओपनिङदेखि तल्लोक्रममा खेल्ने गुण भएका ब्याटर हुन् । नेपालको यू–१९ टोली, घरेलु क्रिकेट हुँदै सिनियरबाट खेलिसकेका छन् ।

पोखरा प्रिमियर लिग २०१९ मा चितवन राइनोजले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर ८.२ ओभरमा ३७–६ को दयनीय अवस्थामा पुगेको थियो । त्यहाँबाट उनले ३६ बलमा ५ चौका र ५ छक्का सहित ६२ रन जोड्दै घरेलु क्रिकेटमा तरङ्ग ल्याए । त्यही प्रदर्शका कारण सिनियर टोलीको बन्द प्रशिक्षणमा परे । यद्यपि उनले अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

२०२१ मा त्रिभवुन आर्मी हुँदै घरेलु क्रिकेट खेल्न नेपाल एपीएफ पुगेका थिए । २०२२ जनवरीमा एपीएफबाट आर्मीविरुद्ध प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगितामा टीयुमा १४ बलमै अर्धशतक हाने । १८ बलमा २ चौका र ९ छक्कासहित ६६ रनको इनिङ खेलेपछि तत्कालिन मुख्य प्रशिक्षक पुबुदु दसानायिकेले उनलाई टी–२० विश्वकप छनोट खेल्ने नेपालको अन्तिम टोलीमा समेटे ।

२०२२ फेबुअरीमा लोकेशले युएईविरुद्ध चार देश सम्मिलित टी–२० आई सिरिजमा युएईविरुद्ध डेब्यू गरे । २१ बलको समान गरेका उनले २ चौका र छक्कासहित ३३ रन बनाएका थिए । उक्त सिरिज सकिए लगत्तै भएको आईसीसी टि–२० विश्वकप छनोटमा खेल्ने मौका पाए पनि राम्रो गर्न सकेनन् ।

लोकेश नेपालका विष्फोटक ब्याटर हुन् । तर उनको प्रदर्शन निरन्तर एकै किसिमको छैन । एउटा इनिङ राम्रो खेलेपछि अर्को आउन समय लाग्ने गरेको छ । नेपालबाट ११ टी–२० आई खेल्ने क्रममा ८ इनिङमा ब्याटिङ क्रमश: ३३, ६, १६, ६, ०, ५, १४ र ६ थियो ।

२०२२ को त्यो १४ बल अर्धशतकपछि यादगार प्रदर्शन टीयुमा बल्ल आएको हो । अब उनी लगातार सानदार प्रदर्शन चाहन्छ । ‘क्रिकेटमा लय तलमाथि त भइराख्छ, तर कसरी लगेर जाने विस्तारै सिकिरहेको छु’ नेपाल ए का मुख्य प्रशिक्षक ज्ञानेन्द्र मल्लले पनि आफूलाई निकै मदत गरेको भन्दै लोकेशले भने, यो इनिङले मनोबल बढेको छ । आगामी खेलमा यही लगेर जानेछु ।’

विकेटकिपर ब्याटरमा नजर

नेपालको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईले लोकेशलाई टी–२० मा विकेटकिपर ब्याटरको रुपमा तयार पार्न खोजेका छन् । सिनियर टोलीमा पहिलो रोजाइमा खेल्ने अवसर नपाएपनि अभ्यास वा खाली समयमा प्रशिक्षक मोन्टीले लोकेशलाई निरन्तर विकेटकिपरमा ट्रेनिङ दिएका हुन्छन् ।

नेपाल ए मा भने उनले विकेटकिपरको भूमिका निभाएका छैनन् । कप्तान विनोद भण्डारी आफैं विकेटकिपर ब्याटर हुन् ।

लोकेशले भने ओपनरको भूमिका पाएका छन् । नेपाल एमा गर्ने प्रदर्शनले सिनयर टिमको ढोका खोल्ने भएकाले टिममा रहेका उत्साहित रहेको उनले सुनाए । भन्छन्, ‘नेपाल ए टोलीमा सबै जना खुसी छन् । माहोल पनि राम्रो छ ।’

लेखकको बारेमा
भुपेन्द्र जि.सी.

जिसी अनलाइनखबरको खेलकुद ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?