१८ चैत, काठमाडौं । बोरुसिया डर्टमण्डले बायर्न म्युनिखलाई २०१९ पछि पहिलो पटक पराजित गरेको छ । जर्मन बुण्डेसलिगा अन्तर्गत गएराती भएको खेलमा डर्टमण्डले डेर क्लेसिकर डर्बीमा बायर्नलाई २-० ले पराजित गरेको हो ।
डर्टमण्डलाई घरेलु मैदानमा जित दिलाउने करिम अडेयमी र युलियन राएरसनले गोल गरे । यो हारपछि लिगको साविक विजेता बायर्न शीर्ष स्थानको बायर लेभरकुजनभन्दा १३ अंकले पछि छ ।
हारपछि बायर्नका प्रशिक्षक थोमस टुचेलले बायर्नको उपाधि जित्ने सम्भावना सकिएको स्वीकार गरे ।
डर्टमण्डसँग पराजित भएपछि बायर्न उपाधि होडबाट बाहिरिएको हो भन्ने प्रश्नमा टुचेलले भने, ‘हो ।’ उनले थपे, ‘आजको खेलपछि अंक गणना गर्नुपर्ने कुनै आवश्यकता छैन । अब कति अंक बाँकी छ । लेभरकुजनलाई बधाई ।’
गएराती नै भएको खेलमा लेभरकुजनलले होफेनहेइममाथि २-१ को पुनरागमन जित निकाल्दै उपाधि होड बलियो बनाएको हो ।
लिगमा अब ७ खेल मात्र बाँकी हुँदा लेभरकुजनले १३ अंकको अग्तरा बनाएको छ । २७ खेलबाट लेभरकुजनको ७३ अंक छ । समान खेलबाट बायर्नको ६० अंक छ ।
पहिलो पटक लिग जित्नका लागि लेभरकुजनलाई अब ७ मध्ये ३ खेलमा मात्र जित हात पारे पुग्छ । लेभरकुजनका म्यानेजर जावी अलोन्सोले आफू अर्को सिजनमै पनि क्लबमै बस्ने र लिभरपुलपुल नजाने घोषणा गरिसकेका छन् ।
यस्तै बायर्नलाई पराजित गरेको डर्टमण्ड २७ खेलबाट ५३ अंकसहित चौथो स्थानमा छ र शीर्ष चारमा लिग सकाउने योजनामा छ ।
प्रतिक्रिया 4