+
+
ब्लग :

मान्छे नभएको शहरको मान्छे म

कृष्णमणि पराजुली कृष्णमणि पराजुली
२०८० चैत १९ गते १०:४०

जब हवाईजहाज अवतरण हुन्छ अनि मेरा पाइला अमेरिकी भुईंमा सल्बलाउन थाल्दछन् । त्यसपछि मलाई लाग्छ मैले आफ्नो धर्ती गुमाइसकेको छु र अर्कै धर्तीमा आएको छु ।

हवाईजहाजको लामो यात्राले आफ्नो शरीर पनि आफ्नो जस्तो हुँदो रहेनछ । शिथिल शरीर, विचार र दिमागको कारणले गर्दा मन त्यसै अत्तालिंदो रहेछ । सायद मेरो लागि आफूले टेकेको धर्ती, आफूले देखेका मानिस र अन्य सबै कुरा अपरिचित भएकोले होला । म आफू पनि कता कता हराएको जस्तो, केही गुमाएको जस्तो र केही अलमलिएको जस्तो भएको थिएँ ।

हवाईजहाजबाट ओर्लिने बित्तिकै मानिसहरूको लामो ताँती देख्दा मनमा अनेक कुरा आएका थिए । ब्यागेज क्लेम गर्न मानिसहरू ठेलमठेल गरिरहेका थिए भने कतिपय मानिसहरू अध्यागमनमा कहिले पुगिन्छ भनी दगुरिरहेका थिए ।

भिसा, पासपोर्ट, टिकट र ट्रान्जिटमा आउने समस्याका बारेमा केही अनुहार किंकर्तव्यविमूढ जस्ता देखिन्थे । छोटो समयमा धेरै काम गर्नुपर्ने हुँदा सबै मानिसहरू व्यस्त थिए र उनीहरूको अनुहारमा कत्ति पनि रौनकता थिएन । थियो त केवल मलिन अनुहार ।

मलाई लाग्थ्यो उनीहरू पनि म जस्तै हुन् । आफ्नो धर्ती छोडेर अर्को धर्तीमा पाइला टेकाउनु पर्दा नरमाइलो मानेर निदाउरो अनुहार बनाएका थिए । आफ्नो धर्ती छोड्नु र नौलो धर्तीमा पाइला चाल्नुपर्दा निश्चय नै पहिलेको आफ्नो पहिचानमा कमी भएको हुन्छ नै ।

नयाँ धर्तीमा अभ्यस्त नभइसकेको अवस्थामा मानिसहरू अलमलिनु कुनै नौलो कुरा होइन पनि । हो, यसरी जसरी अरू मानिसहरू अलमलिएका थिए म पनि त्यसरी नै अलमलिएको थिएँ । त्यस बखत मैले आफूले छोडेको आफ्नो धर्ती र नयाँ धर्तीको तुलना गरिरहेको थिएँ ।
जब म हतारहतार गर्दै हिंडिरहेको थिएँ, एक्कासी मानिसहरूको लामा दुई लाइन आँखा अगाडि देखापरे । लाइन यति लामो थियो कि मेरा आँखाले भेउ नै पाउन सकेनन् र ती लाइन अध्यागमन अधिकृततर्फ नै केन्द्रित थिए ।

एउटा लाइन अमेरिकी नागरिकको लागि भनेर छुट्याइएको थियो भने अर्को लाइन विदेशी यात्रुको लागि भनेर छुट्याइएको थियो । यसरी लाइन छुट्याउनुको अर्थ आफ्ना नागरिकलाई विशेष सुविधा दिनको लागि भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्थ्यो ।

एउटै धर्तीका मानिसलाई पनि आफ्नो र पराइ भनेर छुट्याएको देख्दा मनमा जिज्ञासा आएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुनबेला हवाईजहाजले भुईं छाडेर आकाशमा उडिरहेको थियो त्यसबेला मलाई लाग्यो– मानिस जहाँ भए पनि आकाश त एउटै हो र अनि धर्ती पनि एउटै । तर, बिरानो मुलुक अमेरिकामा ओर्लिने बित्तिकै मेरा आँखाले देखेका त्यो दृश्य कता कता धर्ती पनि आफ्नो र पराइ बनाइँदोरहेछ जस्तो लागेर आयो ।

वास्तवमा यो त गाडीमा सयर गर्ने मानिसहरूको शहर । म मध्यरातमा आफ्नो गन्तव्यमा पुग्दछु । बाटोमा कोही मानिस भेटिएका थिएनन् । मानिस नदेखिने तर लटरम्म घरहरू मात्र छरपस्ट देखिन्थे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जसरी यात्रुको भीडभाड, दौडधुप र अत्तालिएको अनुहार देखिन्थे यहाँ पनि त्यस्तै अवस्था देखिन्थ्यो । कोही ब्यागेज क्लेमतर्फ लागेका थिए भने कोही अध्यागमन र भन्सारतर्फ । त्यसैगरी कोही सुरक्षा चेकजाँचतर्फ । कोही आफ्ना झिटीगुन्टा फेला पार्न नसकेर अत्तालिएका अनुहार देखाउँदै फनफनी घुमिरहेका अनौठा दृश्यहरू देखिन्थे ।

यात्रुहरू यति व्यस्त थिए कि कसैलाई पनि एक सेकेन्ड फुर्सद थिएन । त्यहाँ प्रत्येक सेकेन्डले मानिसको मन पोलिरहेको हुन्थ्यो । यस्तो दृश्य देख्दा मलाई पनि कता कता खल्लो लागेर आएको थियो । यसरी व्यस्त, सास्ती र अत्तालिएर यात्रा गर्नु भन्दा त आफ्नै देशमा बस्नुको खुसी र आनन्द कति हो कति ! तर पनि मानिसहरूका आ–आफ्नै बाध्यता हुन सक्दछन् ।

तिनै बाध्यताहरूले गर्दा मानिसहरू आफ्नो देश र जन्मथलो छोडेर बिरानो मुलुकतिर आएका हुन सक्दछन् । कति यतै हराउने छन् कति स्वदेश फर्किनेछन् । सबैका आ–आफ्ना बाध्यता र कथा होलान् ।

एयरपोर्टको कोलाहलको वातावरण सँगसँगै बाहिर पनि भीडभाड त्यत्तिकै देखिन्थ्यो । कोही कतै भौंतारिएका थिए भने कोही कतै । सबै आ–आफ्ना धुनमा व्यस्त । प्रविधिको विकासले गर्दा मानिसलाई अरूको त्यति सहयोगको पनि आवश्यकता पर्दो रहेनछ । कुनै ठाउँमा एउटा स्वीच यसो दबायो आफ्नो गन्तव्य पुगिहालिने र कतै यसो एक क्लिक गर्‍यो आफ्नो काम फत्ते भइहाल्ने ।

ट्याक्सी, उभर र अन्य सवारी साधन पनि सहजै उपलब्ध हुने । यसो नम्बर डायल ग¥यो आइपुगिहाल्ने । कति सजिलो कति ! प्रविधिसँग अभ्यस्त भएकाहरूलाई त सजिलै होला नभएकाहरूलाई त फलामको चिउरा चपाउनु जस्तै कठिन ।

एकछिन म विचार गर्छु प्रविधिको विकास हुन नसकेको भए ती भीडको व्यवस्थापन गर्न कर्मचारीहरूलाई कति कठिन हुँदो हो । मानिसबाट यो व्यवस्थापन गर्न सम्भव नै थिएन । प्रविधि र यो वातावरणसँग परिचित नभएकाहरूको लागि त सगरमाथा आरोहण गर्नुभन्दा पनि कठिन काम थियो । यद्यपि मानिसहरूले आफ्नो काम जसरी भए पनि फत्ते गरेका नै थिए ।

एयरपोर्टको भीड देख्दा अत्तालिएको मान्छे म जब बाहिर निस्कन्छु त्यहाँको वातावरण अर्कै महसुस हुन्छ । रातको समय भएको हुँदा मानिसको आवतजावत त्यति बाक्लो देखिंदैनथ्यो । तर, गाडीहरू दगुरेका दग¥यै देखिन्थे । लाग्थ्यो मानिस विनाको ती गाडीहरू किन यसरी गुडिरहेका हुन् ।

सार्वजनिक यातायातको खासै सुविधा नभएकोले सामान्य मानिसहरूलाई समस्या पर्ने पनि हुन सक्दछ । तर, साथमा पैसा भएपछि सबै समस्या हल हुन सक्छन् होला । महँगा ट्याक्सी र उभर लिनुपर्दा र अलि टाढा जानेहरूको लागि भने समस्या त हुने नै भयो ।

मलाई सवारी साधनको समस्या नभए पनि अरूलाई पर्ने समस्या म आफूले अनुमान लगाउँदै हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं । रातको समय भएकोले हुनसक्छ हाइवेमा त्यति धेरै सवारी साधन गुडेका थिएनन् । निर्धारित स्पीड लिनुपर्ने र सवारीको चाप नभएकोले यात्रा सहज रूपमा चलेको थियो ।

तर, लाग्दथ्यो एयरपोर्टमा त्यतिविघ्न भीड भएकोमा बाहिर सडकमा भने भीड देखिंदैनथ्यो । सायद यात्रुहरूको गन्तव्य विभिन्न स्थान हुनु र रातको समय हुनुले पनि त्यस्तो भीड नभएको हुन सक्छ ।

मेरो गन्तव्य एयरपोर्टदेखि करिब ४ घन्टाको दूरी थियो । ४ घन्टासम्म यात्रा गर्दा खासै केही नयाँ कुरा नभए पनि यात्रा भने सुनसान जस्तै थियो । हाइवेमा गाडीहरू आ–आफ्नै किसिमले गुडिरहेका थिए । आवाजविहीन गाडीहरूको दगुराई प्रायः शून्यतामा परिणत भएको अनुभव हुन्थ्यो ।
सडकको दायाँ–बायाँ मानिस हिंड्ने पेटीसम्म थिएनन् । सायद ती सडक मानिसहरूको लागि नभएर गाडीको लागि मात्र बनेका थिए । त्यसैले मलाई लाग्यो यो मानिस विनाको सडक हो ।

अर्को अचम्म लाग्ने कुरा के थियो भने सडकका छेउमा मानिस नदेखिए पनि दायाँ–बायाँ घरमा पनि मानिसहरू देखिंदैनथे । घर भएकाले मानिस अवश्य नै थिए होलान् तर मानिस रहेका संकेत केही देख्न र अनुभव गर्न सकिंदैनथ्यो ।

वास्तवमा यो त गाडीमा सयर गर्ने मानिसहरूको शहर । म मध्यरातमा आफ्नो गन्तव्यमा पुग्दछु । बाटोमा कोही मानिस भेटिएका थिएनन् । मानिस नदेखिने तर लटरम्म घरहरू मात्र छरपस्ट देखिन्थे ।

जेट लागेको र सुत्न नसकेको लामो थकाइले गर्दा छिप्पिसकेको रात भए पनि मस्तसँग निदाएँ कुम्भकर्णलाई जित्ने गरी । तर, राति धेरै पटक धेरै सपना देखें, जसले मलाई सताउनुसम्म सताए । ती सपना यस्ता थिए जसले मलाई यी प्रश्न बारम्बार गरिरहेका थिए –

यस्तो देशमा किन आइस् ? जहाँ मानिस विनाको शहर छ ।

यस्तो देशमा किन आइस् ? जहाँ मानिस विनाको सडक छ ।

यस्तो देशमा किन आइस् ? जहाँ मानिस हिंड्ने बाटो छैन ।

यस्तो देशमा किन आइस् ? जहाँ मानिस सधैं भौंतारिरहेका छन् ।

यस्तो देशमा किन आइस् ? जहाँ कसैले केही वास्ता गर्दैन ।

यस्तो देशमा किन आइस् ? जहाँ सबै अपरिचित छन् ।

यस्तो देशमा किन आइस् ? जहाँ मानिसलाई एक सेकेन्ड पनि फुर्सद छैन ।

यी प्रश्न सपनामा सोधिएका थिए तर मसँग उत्तर थिएनन् । यी सपना मात्र थिएनन् यथार्थ पनि थिए । यही कुरा मैले देखें र अनुभव गरें ।

(लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?