+
+
सहकारी संकट–३१ :

कृषि सहकारीमा जीबी, डीपी र कविन्द्रको सेटिङ : हजारौं किसानको करोडौं झ्वाम

२०७७ सालमा सहकारी उपाध्यक्ष बनेका वर्तमान श्रममन्त्री अर्याल र रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीकै सक्रियतामा २०७९ मा भएको १०औं वार्षिक साधारणसभाबाट जीबी राई उक्त सहकारीको अध्यक्ष बने ।

विजय पराजुली नवीन तिमल्सिना विजय पराजुली, नवीन तिमल्सिना
२०८० चैत २५ गते २०:२०

२५ चैत, काठमाडौं । साढे दुई वर्षअघि २ पुस २०७८ मा मकवानपुर पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–४ जुरेलीमा अंकिता सुवेदी पुडासैनी ‘हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड’ बारेमा कुरा गर्न पुगेकी थिइन् ।

अंकिताले हाम्रो नयाँ कृषि सहकारीले ‘कृषि उत्पादन खरिद–बिक्री गर्ने, किसानलाई सहुलियत दरमा ऋण प्रवाह गर्ने, दशैंमा सेयर सदस्यलाई बोनस वापत खर्च दिने’ लगायत अफरबारे सुनाएकी थिइन् ।

‘यसरी फाइदै फाइदा देखाएपछि किसानहरू हाम्रो नयाँ कषि सहकारीमा आबद्ध भए । पछि त कहाँ भाग्यो, भाग्यो,’ बकैया–३, हात्तीसुँढेकी विष्णुमाया बोम्जन विगत सुनाउँछिन् ।

बकैया क्षेत्र कृषि उत्पादन दृष्टिकोणले अग्रभागमा आउँछ । जसका कारण किसानहरू कृषिसम्बन्धी काम गर्ने सहकारी खुल्न लागेको कुराले उत्साहित थिए ।

अंकिताले बकैया–४ का अगुवा शिवबहादुर खुलाललाई हातमा लिएर सहकारी विस्तार गरेको खुलेको छ । अंकितालाई अगाडि बढाएर सबै योजना बनाउने पर्दा पछाडिका ‘खलनायक’ थिए, हेटौंडा–२, घर भएका सरोज पुडासैनी ।

हाम्रो नयाँ कृषि सहकारीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष रहेका पुडासैनीले सहकारीलाई जिल्लाको बकैया गाउँपालिका, मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा कार्यालय खोलेर काम गरेका थिए । तीन वटै क्षेत्रमा करिब एक वर्ष बसेर सेयर रकम र कृषि उत्पादन खरिद गरेका पुडासैनी एक वर्षदेखि फरार छन् । पुडासैनी र अंकिता दुवै फरार रहेको बकैयामा सहकारी अगुवाइ गरेका खुलालले बताए ।

७ पुस २०७८ मा बकैया–४ माझिखोलामा १ सयभन्दा बढी किसान भेला गराएर कार्यालय सञ्चालन गरेको सहकारीले उन्नत जातका फलफूल उत्पादन गर्न ऋण लगानी गर्ने, गाउँमै दूध डेरी खोल्ने, कृषि उत्पादन विदेश लगेर सिधै बिक्री गर्ने भएकाले बजारभन्दा बढी मूल्य दिने, किसानलाई विना धितो ऋण उपलब्ध गराउने आश्वासन बाँडेको पीडित विष्णुमायाले अनलाइनखबरसँग बताइन् ।

उनका अनुसार सहकारीका जिल्ला अध्यक्ष पुडासैनीले विदेशबाट फर्किएका किसानलाई विना धितो १५ लाखसम्म ऋण दिने र विदेश नगएका किसानलाई ५ लाखसम्म ऋण दिने भनेर प्रलोभन देखाएका थिए ।

फागुन २०७९ सम्म सहकारीले बकैया–३, ४, ५, ७ लगायत वडा र बागमती गाउँपालिकाको विकट राईगाउँ, पुरानो व्यापारिक केन्द्र फापरबारी, गाउँपालिका केन्द्र रहेको झुरझुरे र ज्यामिरे क्षेत्रका गरी करिब ४ सय जनालाई सेयर सदस्य बनाएको थियो ।

४ सय ३५ जनाले सेयर वापत १ हजार र प्रवेश शुल्क १ सय गरी १ हजार १ सय रुपैयाँ सहकारीमा बुझाएका थिए । पुडासैनीले सहकारीको सेयर रकम झन्डै ५ लाख रुपैयाँ लिएर गत चैतदेखि बेपत्ता भएको सहकारीलाई गाउँमा अगुवाइ गरेको खुलालले बताए ।

‘ऊ नै सञ्चालक भएपछि हामीले सहकारीको पैसा दिनुपरिहाल्यो,’ खुलालले भने, ‘पटक–पटक गरेर सेयर रकम दिएका थियौं । चैतदेखि फरार छ ।’

पुडासैनी बागमती गाउँपालिका–२ राईगाउँका प्रेमबहादुर माझीको ८ लाख मूल्य बराबर धान खरिद गरेर फरार भएको खुलेको छ ।

अनलाइनखबरसँग सम्पर्कका आएका माझीले गत वर्ष पुसमा मकै, धान र गेडागुडी खरिद गर्न आग्रह गर्दा आफूले ८ लाखको धान बिक्री गरेको बताए ।

उनले सहकारीको सिधै विदेशमा सम्पर्क भएको र राम्रो मूल्य आउने प्रलोभनमा पारेर धान लगेको सुनाए । धान लगेपछि पुडासैनी फर्किएर नआएको उनी बताउँछन् ।

‘गाउँमा यत्रो सहकारी खोलेको, ४ सयभन्दा बढीले सेयर हालिसकेपछि विश्वास नगर्ने कुरा थिएन । धान दिनू, विदेशमा बिक्री गरेर बजारभन्दा राम्रो मूल्य दिन्छु भनेपछि पठाएको हुँ,’ उनी भन्छन्, ‘त्यसपछि त्यो पुडासैनी फर्किएर आएन । पछि खोजतलास गर्दा भगिसकेको रहेछ ।’

बागमती गाउँपालिकाभित्रका किसानले १ लाख रुपैयाँ सेयर रकम पनि सहकारीमा फसेको उनले बताए ।

सहकारी बकैयामा ८/९ महिना मात्रै बसेको खुलाल बताउँछन् । पुडासैनीले २७ असोज २०७९ मा बकैया गाउँपालिका कार्यालयमा सेवा केन्द्र स्थापनाका लागि सहमति दिन पत्र लेखेका थिए ।

जबकि, गाउँपालिकासम्म अनुमति माग्दा सहकारीले सेयर रकम उठाइसकेको थियो । गाउँपालिकाले सेवा केन्द्र स्थापना अनुमति नदिएको खुलालले बताए ।

मनहरीमा झनै वितण्डा

पुडासैनीले हाम्रो नयाँ कृषि सहकारी संस्था किसान धेरै भएको ठाउँ र कृषि उपज उत्पादन हुने पकेट क्षेत्र हेरेर स्थापना गर्ने गरेको देखिन्छ ।

जिल्लाको पश्चिमी क्षेत्रस्थित कृषि उत्पादनमा प्रचुर सम्भावना बोकेको मनहरी गाउँपालिका–४ हाँडीखोला लक्षित गरी सहकारी संस्था स्थापना भएको थियो ।

२०७८ सालमै सहकारी मनहरी–३ पाल्दमारमा बसेर सेवा सुरु गरेको थियो । त्यसको दुई महिनापछि नै पाल्दमारबाट हाँडीखोलातर्फ कार्यालय लैजाने भनेर सामान लगेको स्थानीय सरोज अर्यालले जानकारी दिए ।

पुडासैनीले ऋण दिने, कृषि उत्पादन खरिद गरेर राम्रो मूल्य दिने प्रलोभन देखाएको अर्यालले बताए । मनहरीबाट ३ सय ७३ जना सेयर सदस्यको सेयर रकम ४ लाख र बचत हिनामिना भएको अर्यालले जानकारी दिए ।

उनका अनुसार कृष्णप्रसाद पौडेलको ९ लाख ५० हजार, उत्तम सुवेदी १ लाख, उत्तम अधिकारीको १ लाख र विशाल ब्लोनको १ लाख गरी कुल १६ लाख ६० हजार ३ सय रुपैयाँ उठाएर पुडासैनी सम्पर्कविहीन भएका हुन् ।

पुडासैनीले मनहरीका धेरथोर गरेर धेरै किसान ठगेको मनहरी–३ का अध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए । अर्यालले पुडासैनीलाई खोजेर राज्यले कारबाहीको दायरामा ल्याई किसानकलाई राहत दिन सरकारसँग आग्रह गरे ।

हेटौंडामा अनुमति दिलाउन शक्ति केन्द्रको पहुँच

हेटौंडा उपमहानगरपालिका–५ पिप्लेमा हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडको कार्यालय थियो । तर, सेवा केन्द्र स्थापना अनुमति उपमहानगरपालिकाले दिएको थिएन ।

पुडासैनीले बकैया र मनहरी अगाडि हेटौंडामा सेवा विस्तार गर्न खोजेका थिए । उपमहानगरपालिकाको सहकारी शाखाका अनुसार २०७८ सालमै पुडासैनीले सहकारीको सेवा केन्द्र सञ्चालन गर्न अनुमति मागेका थिए । तर, उपमहानगरपालिकाले शंका लागेपछि अनुमति नदिएको शाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए ।

‘कागजपत्र हेर्दै शंका गर्ने ठाउँ थियो । मैले काठमाडौं महानगरपालिकाको सहकारी शाखामा फोन गरेर सोधेपछि त्यहाँबाट कागजात जारी नभएको खबर आयो । यो फर्जी कागज रहेछ । मैले गाली गरेर फर्काइदिएको थिएँ,’ पौडेलले भने ।

पौडेलका अनुसार हाम्रो नयाँ कृषि सहकारीलाई अनुमति दिन शक्ति केन्द्रबाट दबाब आएको बताए ।

‘मैले अनुमति नदिएपछि शक्ति केन्द्रको दबाब दिन लगाएको थियो । फर्जी काममा फसिन्छ भनेरै मैले सबै बुझेर अनुमति दिएको थिइनँ,’ पौडेलले सुनाए ।

हेटौंडाभित्रबाट हाम्रो नयाँ कृषि सहकारीका कारण समस्यामा परेको गुनासो हालसम्म नआएको उनले बताए । हाम्रो नयाँ कृषि सहकारी भागेको खबर पनि एक वर्ष पछि आएको पौडेलले जनाए ।

श्रममन्त्री अर्याल ‘कनेक्सन’

काठमाडौं बालुवाटारमा रजिस्टर्ड कार्यालय रहेको सहकारीको कार्यक्षेत्र नेपालभरि थियो । २०७० सालमा स्थापना भएको उक्त सहकारीले कोभिडपछि देशका विभिन्न स्थानमा किसानलाई प्रलोभनमा पारेर सेयर सदस्य बनाउन तथा बचत रकम संकलन गर्ने गरेको देखिन्छ ।

२७ साउन २०७७ मा भएको सहकारीको आठौं वार्षिक साधारणसभाबाट सूर्यबहादुर गुरुङको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन भएको थियो । उक्त सञ्चालक समिति उपाध्यक्षमा वर्तमान श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद (डीपी) अर्याल थिए ।

यस्तै रास्वपाकै सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहकारी सञ्चालक समिति सदस्य थिए । सञ्चालक समिति सचिवमा उत्तम अधिकारी, कोषाध्यक्ष जनक पौडेल, सदस्यहरूमा कृष्णकुमार न्यौपाने र शर्मिला तामाङ थिए ।

सोही समय देशभरि सहकारी सञ्चालन गरिरहेका गितेन्द्रबाबु (जीबी) राई नेपालभरि कार्यक्षेत्र भएको सहकारी खोजीमा थिए । काठमाडौं, पोखरा, चितवन, बुटवल, नेपालगञ्ज सहित देशका प्रमुख सहकारी स्थापना गरेर काठमाडौंमा नै सबै सहकारीको सफ्टवेयर नियन्त्रण गर्दै आएका थिए ।

सहकारी इजाजत र कार्यक्षेत्र विस्तारमा कडाइ र झन्झट हुने भएपछि राइले देशभरि कार्यक्षेत्र भएको सहकारीमा मर्ज गरी सहकारी सञ्जाल विस्तार गर्ने योजनामा पुगे ।

२०७७ सालमा सहकारी उपाध्यक्ष बनेका वर्तमान श्रममन्त्री अर्याल र रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीकै सक्रियतामा २०७९ मा भएको दसौँ वार्षिक साधारणसभाबाट जीबी राई उक्त सहकारीको अध्यक्ष बने ।

जीबी हाम्रो नयाँ कृषि सहकारी अध्यक्ष बनेपछि उनले आफू प्रत्यक्ष संलग्न रहेको काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, नेपालगञ्जको समानता, वीरगञ्जको सानो पाइला, चितवनको सहारा चितवन र पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीसँग मर्ज गर्ने भन्दै सहकारी विभागमा निवेदन समेत दिए ।

गत असारमा अनलाइनखबरसँगको कुराकानीमा पोखराको सूर्यदर्शन सहकारी सञ्चालक समितिमा रहेका जीबीका साझेदार कुमार रम्तेलले नेपाभरि कार्यक्षेत्र भएको सहकारी बनाउने उद्देश्यले उक्त मर्जर प्रस्ताव भएको बताएका थिए ।

जीबीले नै काठमाडौंकै खुसीँबुको लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र नयाँबानेश्वरको कल्याण उपकार बचत तथा ऋण सहकारी संस्थासँग समेत मर्जर सम्झौता गरे ।

हाम्रो नयाँ कृषि सहकारीमा अध्यक्ष हुँदा जीबीले कल्याण उपकार बचत तथा ऋण सहकारी संस्था अध्यक्ष रहेका लिलाबहादुर गुरुङलाई उपाध्यक्ष बनाए ।

जीबी २२ असोज २०७९ मा सहकारी अध्यक्ष बने भने त्यसभन्दा अगाडि संस्था उपाध्यक्षमा वर्तमान श्रममन्त्री अर्याल र सञ्चालक समितिमा रास्वपा सहमहामन्त्री बुर्लाकोटी हुँदा नै मकवापुरका विभिन्न स्थानबाट सरोज पुडासैनीले पैसा उठाएका थिए । उनी पछिल्लो समय फरार छन् ।

अनलाइनखबरसँग सुरक्षित कागजात अनुसार हाम्रो नयाँ कृषि सहकारीले किसानहरूबाट साढे ६ करोड रुपैयाँभन्दा बढी रकम उठाएर अपचलन गरेको छ ।

हाम्रो नयाँ कृषि सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ११ माघ २०८० मा समस्याग्रस्त घोषणा गरेको थियो ।

मन्त्रालयले समस्याग्रस्त घोषणा गरेपछि ऐनअनुसार सञ्चालक समिति निलम्बन हुने भएकाले सोही अनुसार सूचना प्रकाशित गर्दै संस्थाका कर्मचारी र सञ्चालक समितिसँग कुनै कारोबार नगर्न समितिले सूचना प्रकाशित गरेको थियो ।

श्रममन्त्री अर्यालले भने शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी गरेको र अहिलेसम्म फिर्ता नपाएको दाबी गरेका थिए ।
उनले सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नु बाहेक अरु कुनै कारोबारमा सही नगरेको समेत दाबी गरेका थिए ।

श्रममन्त्री अर्यालले भनेका थिए, ‘मैले २३ लाख रुपैयाँ लगानी गरेको छु, त्यो सहकारीमा । म ठगिएको छु, मलाई त्यो २३ लाख उठाइदिए हुन्थ्यो, बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले २३ लाख मेरो उठाइदिउन्, बरु उहाँहरुलाई म अलिअलि दिन्थें ।’

रास्वपाका सहमहामन्त्री बुर्लाकोटीले कोरानाकाल पछि मात्रै आफू सहकारीमा जोडिएको र पुरानो हिसाव मिलानको लागि भन्दै सहकारीमा आफ्नो २३ लाख रुपैयाँ लगानी भएको बताएका छन् ।

उनले सहकारी विभागलाई पत्र लेख्दै आफू उल्टै सहकारीबाट ठगिएको दाबी गरेका छन् । उनले सहकारीमा जोडिएपछि  पुरानो हिसाब मिलाउन पैसाको खाँचो परेको भनेर व्यवस्थापक रामहरि अधिकारीले ताकेता गरेपछि बचत र सेयर गरी कुल २३ लाख दिएको दाबी सो पत्रमा गरेका छन् ।

२०७७ देखि ०७९ सम्मको सञ्चालक समिति

 

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?