+
+

आगलागीले एक वर्षमा ११३ को लियो ज्यान, साढे २ अर्बको क्षति

सरकार क्यालेन्डरमै सीमित

सामुदायिक वन उपभोक्ता महासंघ पूर्वअध्यक्ष भारती पाठक वर्षभरि नै विपद्‍बारे छलफल नगर्ने तर घटनापछि बैठक बोलाएर ‘सर्कुलेसन’ गर्ने बानी हटाउनुपर्ने बताउँछिन् ।

अमृत चिमरिया अमृत चिमरिया
२०८० चैत २८ गते १४:१९

२८ चैत, काठमाडौं । डोल्पा मष्टा भवानी सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार गम्भीर घाइते एक सैनिकको मृत्यु भयो । डढेलो निभाउँदा घाइते सिपाही हेमन्त रावलको मृत्यु भएको हो । डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालका अनुसार सिपाही रावललाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको थियो । तर, अस्पताल लैजानु अघि नै उनको मृत्यु भयो ।

घाइते देवीदत्त गण ‘क’ का प्युठ विजय कोइराला, सिपाही आशिष बुढा र जमदार केशरबहादुर जागा मगरलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उपचारको क्रममा मंगलबार जमदार जागा मगर र सिपाही बुढाको मृत्यु भएको सैनिक प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्युठ कोइरालाको भने उपचार भइरहेको उनले बताए ।

डढेलो निभाउने क्रममा घाइते भएका तीन जना सैनिकको मृत्यु भइसक्दा पनि डोल्पाको सामुदायिक वनमा केही दिनदेखि लागेको डढेलो नियन्त्रण हुन सकेको छैन ।

त्यसको नियन्त्रणका लागि नेपाली सेनाका दुई गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको टोली खटिएको थियो । तालिम प्राप्त टोली भए पनि विपरीत दिशाबाट एक्कासि हावा चलेर आगो फैलिँदा उनीहरू निस्किन सकेका थिएनन् ।

यो वर्ष डढेलोले क्षति भएको यो नयाँ घटना होइन । ३ चैतमा भोजपुर हतुवागडी गाउँपालिका–७ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईका अनुसार स्थानीय रमेश कार्कीकी ७ वर्षीया छोरी दिप्तिका र ३ वर्षीय छोरा देउनिस तथा केदार कार्कीका ५ वर्षीय छोरा प्रनिशको मृत्यु भएको थियो ।

जं‍गलबाट सुरु भएको आगलागी हावाहुरीका कारण बस्तीसम्म आइपुगेको थियो । सोही दिनमै भोजपुरको मालेवाँस टक्सारमा डढेलो बस्तीमा पस्दा  १५ भन्दा धेरै घर जलेको थियो ।

डढेलो क्षति डरलाग्दो

नेपालमा डढेलो र आगलागीका कारण हुने क्षति वर्षभरिकै हेर्दा अवस्था डरलाग्दो देखिन्छ । नेपालमा डढेलो र आगलागीका कारण यो वर्ष मात्रै १ सय १३ जनाले ज्यान गुमाइसकेका छन् ।

नेपाल प्रहरी र विपद् जोखिम न्यूनीकरण पोर्टलका अनुसार यो वर्ष १ वैशाखदेखि २७ चैतसम्ममा ५ सय १९ जना डढेलो र आगलागीकै कारण घाइते भएका छन् ।

जानकारीमा आएको ढडेलो र आगलागी घटना मात्रै ४ हजार ३ सय १२ छ ।  जसबाट १ हजार ५४ पूर्वाधारमा क्षति पुगेको छ । नेपाल प्रहरी र विपद् जोखिम न्यूनीकरण पोर्टलका अनुसार उक्त अवधिमा डढेलो र आगलागीले २ अर्ब ४० करोड रुपैयाँबराबर क्षति भएको छ ।

गृह मन्त्रालय अन्तगर्त रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रवक्ता गोमादेवी चेमजोङले वन मन्त्रालयसँगको सहकार्यमा डढेलो नियन्त्रणका लागि सचेतनाको काम गरिरहेको बताइन् ।

‘हामीले सीडीओ कार्यालय मार्फत काम गर्ने हो । हामी जोखिम कम गर्न जनचेतना बढाउने काम गरिरहेका छौं । वन मन्त्रालयलाई वन जोगाउने मात्रै होइन, व्यवस्थापन पनि गर्नुपर्छ भनिरहेका छौं,’ उनले भनिन्, ‘अनि, वन उपभोक्ता संघहरूलाई पनि आगलागी कम गर्ने उपाय अवलम्बन गर्न भनेका छौं ।’

उनले वनमा आगो लाग्ने क्रम गत वर्षको तुलनामा बढेको बताइन् । उनको भनाइमा धेरै ठाउँमा खेतीपाती हुन छाड्दा घर नजिकै वन आउन थालेको बताइन् ।

‘मानिसले खेती नगर्दा, मान्छे कम हुँदा खेतबारी पनि वन जस्तै हुन थालिसके, त्यसले गर्दा वनमा लागेको आगो बस्तीमा छिटो आउन थाल्यो,’ उनले भनिन् ।

प्रदेश सरकार र स्थानीय सरकार मातहत पनि विपद् व्यवस्थापन समिति गठन भएको तर त्यसको क्षमता विस्तार गर्न बाँकी रहेको उनले बताइन् ।

‘विभिन्न प्रकारका विपद्हरूसँग लड्न गठन भएका समितिहरूको क्षमता विकास गर्न पाए धेरै विपद्मा काम लाग्थ्यो, प्राधिकरणले त्यसमा पनि काम गर्छ,’ चेम्जोङले भनिन् ।

वर्षै दोहोरिन्छ, हल हुँदैन

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुंगाना प्रत्येक वर्ष दोहोरिने समस्याका रूपमा डढेलो रहे पनि समाधान हुन नसकेको बताउँछन् ।

‘हाम्रा समस्या प्रत्येक वर्ष एउटै हो, तर समाधान हुन सकेको छैन । हामीले डढेलो नियन्त्रणका लागि गर्ने मुख्य काम भनेको जनचेतना फैलाउने नै हो,’ उनले भने, ‘तर, जति गर्दा पनि त्यो समस्या समाधान हुन सकेको छैन ।’

ढुंगानाले स्थानीय विपद् व्यवस्थापन समिति मार्फत डढेलो नियन्त्रणका लागि युवालाई तालिम दिए पनि अधिकांश युवा गाउँमा नहुँदा डढेलो छिटो फैलिएको बताए ।

प्रत्येक वर्ष वन मन्त्रालयले जिल्लास्थित डिभिजन वन कार्यालय मार्फत सचेतनाको कार्यक्रम चलाउँदै आएको उनले बताए ।

‘एक त गाउँघरमा मान्छे छैनन्, भएका पनि बुढाबुढी मात्रै छन् । अहिले गाउँघरमा पनि ग्यास प्रयोग हुन थाल्यो । पहिले जस्तो दाउरा, झिँझा प्रयोग हुँदैन, त्यसले गर्दा झाडी बाक्लो पनि छ,’ उनले भने, ‘निभाउन गाह्रो हुन्छ ।’

ढुंगानाले ६० प्रतिशत डढेलो जानाजान लगाउने गरिएको र ४० प्रतिशत मात्रै अन्जानवस लाग्ने गरेको बताए ।

‘अधिकांश डढेलो नयाँ घाँस पलाउने, मल हुने, वन्यजन्तु धपाउन सजिलो हुने भएर जनताले नै लगाउने गरेका छन्,’ ढुंगानाले भने, ‘केही डढेलोका कारण चुरोट खाएर ठुटो फाल्दा, बारीमा झिक्रा बाल्दा उडेर जाने लगायत छन् ।’

डढेलो नियन्त्रण गर्न सरकारले नियन्त्रणका औजार र प्रशस्त तालिम दिनुपर्ने उनले बताए । ‘स्थानीय तहले आगलागी नियन्त्रण गर्न दमकल खरिद गरेका छन् तर डढेलोका लागि केही छैन,’ उनले भने, ‘हाम्रो भूगोल अनुसार डढेलो नियन्त्रण गर्न सोही अनुसार उपकरण आवश्यक छ ।’

सरकार नै जिम्मेवार हुनुपर्छ

सामुदायिक वन उपभोक्ता महासंघ पूर्वअध्यक्ष भारती पाठक सरकार नै डढेलो नियन्त्रणका लागि जिम्मेवार हुनुपर्ने बताउँछिन् ।

प्रत्येक वर्ष एकै समयमा हुने विपद्‍मा पनि सरकारले पूर्वतयारी र समुदाय स्तरमा जनशक्ति परिचालन गर्न नसकेको भन्दै उनले घटना भएपछि सुरक्षाकर्मी कुदाएर मात्रै नहुने बताइन् ।

‘वर्षभरि नै विपद्बारे छलफल हुनपर्छ । हाम्रोमा घटनापछि बैठक बोलाएर सर्कुलेसन गर्ने बानी छ, त्यसले हुँदैन,’ पाठकले भनिन्, ‘विशेषगरी डढेलो नियन्त्रणमा समुदाय स्तरमा जनचेतना, तालिम दिने, सिजनमा जनशक्ति परिचालन गर्ने गर्नुपर्छ । यसका लागि समुदायकै मानिसलाई दक्ष बनाउने हो, तर त्यसमा सरकारले ध्यान दिएको छैन ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?