+
+
Shares

खाडी पुग्न अवैध बाटो

सरकारले घरेलु कामदारको रुपमा खाडी राष्ट्र जान महिलाहरुलाई प्रतिबन्ध लगाए पनि मानव तस्करी र तीनका एजेन्टले अनेक प्रलोभनमा पारेर अवैध रुपमा खाडी मुलुक पुर्‍याइरहेका छन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०८० चैत २९ गते १०:००
खाडीमा महिला कामदारको प्रतिकात्मक तस्वीर ।

२९ चैत, काठमाडौं । सल्यानकी २५ वर्षीया प्रतिभा विक दैनिक ज्याला मजदुरी गर्थिन् । कोभिडकालमा ज्याला मजदुरी खोसिएपछि विदेशिने सोच बनाइन् ।

आफन्त नाता पर्ने दिदीले अर्जुन परियारसँग उनको भेट गराइदिइन् । अर्जुनले घरेलु कामदारमा महिनामा ५० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाए । ‘घरभित्र काम गर्ने हो, दुःख हुन्न, भनेर लोभ देखाएपछि म राजी भएँ,’ उनले भनिन् ।

वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिनुपर्ने भए पनि अर्जुनले श्रम स्वीकृतिविनै नेपालगञ्जको जमुना नाका हुँदै उनलाई भारत पुर्‍याए । भारतको नयाँदिल्लीमा १० दिन राखे । त्यतिन्जेल प्रतिभालाई आफू कसरी जाँदैछु भन्ने समेत थाहा थिएन । ०७८ भदौमा अर्जुनले उनलाई भारतबाट भिजिट भिषामा साउदी पठाए ।

साउदीमा उनलाई एक जना अरबीको घरमा पुर्‍याइयो । त्यहाँ उनी श्रम शोषण र शारीरिक हिंसामा परिन् । ‘बिहान ६ बजेदेखि राति ३ बजेसम्म काम गर्नुपर्थ्यो’ उनले भनिन्, ‘त्यसरी काम गर्दा पनि ६ महिनासम्म तलब पाइनँ । पैसा माग्दा उल्टै कुट्न पिट्न थाले ।’

पछि त्यहाँबाट भागेर उनी नेपाली दूतावासको सम्पर्कमा पुगिन् । ०७९ असारमा उनको उद्धार भयो र नेपाल फर्किइन् ।

*** ***

मजदुरी गर्न भारत पुगेका श्रीमान् लडेर ओछ्यानमै थलिएपछि दाङ घोराही–१७ की मिना खड्कालाई कमाउनका लागि विदेश जानुपर्ने बाध्यता आइलाग्यो ।

दाङको घोराहीस्थित गौरीशंकर म्यानपावर कम्पनीमा काम गर्ने बताउने किसन विक भन्ने व्यक्तिसँग उनको भेट भयो । विकले उनलाई विदेश पठाइदिने बताए । घरेलु कामदारमा मासिक ६० हजार कमाइ हुने भनेपछि उनी तयार भइन् । एजेन्टले यत्तिमात्र भनेका थिए, ‘दिल्ली भएर कुवेत जाने हो ।’ एजेन्टले उनलाई भारतको दिल्ली हुँदै भिजिट भिषामा कुवेत पुर्‍याए ।

एजेन्टले कुवेतमा एक जना अरेबियाको घरमा पुर्याएकै दिनदेखि उनीमाथि गालीगलौज सुरु हुन थाल्यो । ‘मलाई त्यहाँ दिनहुँ पिट्थे’ उनले भनिन्, ‘यातना सहन नसकेपछि म बल्लतल्ल भाग्न सकें ।’ तर अवैध रुपमा गएकाले उनी नेपाल फर्कन समस्या भयो । ‘पछि थाहा भयो, दलालले मलाई झुक्याएर अवैध रुपमा यहाँ ल्याएको रहेछ,’ उनले भनिन् ।

*** ***

वैदेशिक रोजगारीमा जाँदा अनिवार्य श्रम स्वीकृति लिनुपर्छ । अझ खाडी राष्ट्रहरुमा घरेलु कामदारहरुमा त महिलाहरुलाई जान प्रतिबन्ध नै लगाइएको छ । तर विभिन्न एजेन्ट र संगठित मानव तस्करहरुले आर्थिक प्रलोभन देखाएर नेपाली महिलाहरुलाई श्रम स्वीकृतिविना अवैध मार्गबाट खाडी राष्ट्रहरु पठाइरहेका छन् ।

भारत हुँदै खाडी

०७८ पुसमा कञ्चनपुरस्थित गड्डाचौकी नाका हुँदै भारत छिर्न खोजेका दुई महिलामाथि शंका लागेपछि प्रहरी र माइती नेपालको टोलीले उनीहरुलाई नाकामै रोके । सुरुमा उनीहरुले आफूहरु घुम्नका लागि भारत जान लागेको बताए । तर केरकार सुरु गरेपछि थाहा भयो ती महिला भारत घुम्न होइन, कुवेत जान लागेका रहेछन् ।

भारत छिर्न लागेका ती महिला रोल्पाकी ३५ वर्षीया राममाया घर्ती र बर्दियाकी २६ वर्षीया सुनिता चौधरी थिए । उनीहरु दलालको फन्दामा परी श्रम स्विकृति बगेर कुवेत छिर्न लागेका थिए । प्रहरी र माइती नेपालले सम्झाइबुझाइ उनीहरुलाई परिवारको जिम्मा लगाएर घर फर्काइदिए ।

सरकारले खाडी राष्ट्रहरुमा घरेलु कामदार जान प्रतिबन्ध लगाए पनि एजेन्टहरु खुला सिमानाको फाइदा उठाउँदै खाडी पुर्‍याउन भारतको बाटो प्रयोग गरिरहेका छन् ।

माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले संगठित मानव तस्करहरु र तीनका एजेन्टहरु महिलाहरुलाई रोजगारीका लागि खाडी मुलुकहरु पठाउन नेपाल–भारत खुला सीमा नाका प्रयोग गर्ने गरेको बताए । ‘एजेन्टहरु अनेक जुक्ति लगाएर महिलाहरुलाई सीमा पार गराउँछन्,’ उनले भने, ‘अवैध रुपमा खाडी मुलुक जान लागेकाहरु थोरैमात्र प्रहरी र मानवबेचबिखन विरुद्ध काम गर्ने संस्थाहरुबाट सीमामा समातिन्छन् र घर फर्काइन्छन् ।’

मानव बेचबेखिन ब्युरोका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले प्रतिबन्धका बीच पनि दुबई, कुवेत, साउदी अरेबिया, ओमान लगायत खाडी राष्ट्रमा महिलाहरुलाई आर्थिक प्रलोभनमा पारेर घरेलु कामदारका लागि पुर्‍याउने क्रम जारी रहेको बताए । यसरी वैदेशिक रोजगारीको आवरणमा महिलाहरुलाई खाडी राष्ट्रहरु पुर्‍याएर खाले श्रम र यौन शोषण गर्ने गरेको बताए ।

श्रम आप्रवासन विज्ञ रामेश्वर नेपाल घरेलु कामदारमा महिलाहरुलाई जान सरकारले प्रतिबन्ध लगाए पनि सुरक्षाका उपाय नअपनाइँदा लुकिछिपी जाने क्रम भने नरोकिएको बताउँछन् । ‘राज्यले सुरक्षामा प्रश्न गर्दै महिलालाई रोक लगायो, तर प्रतिबन्ध लगाएको दुई दशक हुँदा पनि सुरक्षाका लागि कुनै काम गरेन । फलतः मानव तस्कर सक्रिय छन् ।’

कानुन नहुँदा समस्या

वैदेशिक रोजगारको आवरणमा मानव बेचबिखन र ओसारपसार भइरहे पनि विद्यमान कानुनले भने यसलाई स्पष्ट रुपमा समेटेको छैन । वैदेशिक रोजगार ऐन र मानव बेचबिखन सम्बन्धी कानुनले वैदेशिक रोजगारीमा हुने मानव तस्करीलाई सम्बोधन गर्दैन ।

यही कारण वैदेशिक रोजगारको नाममा हुने मानव तस्करी गर्नेहरुले छुट पाइरहेका छन् । ‘हामीसँग मानव तस्करी सम्बन्धी कानुन नहुँदा वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीलाई विषयलाई सम्बोधन हुन समस्या भइरहेको छ’ प्रहरी उपरीक्षक फुयाल भन्छन्, ‘यही कारण तस्करीका घटनालाई पनि ठगी मुद्दा भनेर चलाउनु पर्ने अवस्था छ ।’ उनले यससम्बन्धी कानुन बनेमा वैदेशिक रोजगारीका नाममा हुने मानव तस्करीलाई नियन्त्रणमा गर्न सकिने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?