काठमाडौं । सहरी क्षेत्रमा बसोबास गर्नेले महसुस गरेकै हुनपर्छ, वायुमण्डलमा धुलो र धुवाँको मात्रा अत्याधिक छ । यसैको कारण रुघा लाग्ने, नाक बन्द हुने, घाँटी खसखस गर्ने, आँखा चिलाउने जस्ता समस्याले धेरैजना ग्रसित छन् ।
यही कारण हुनसक्छ, वीर अस्पतालको ईएनटी विभागमा अहिले बिरामीको चाप ह्वात्तै बढेको छ । नाक, कान, घाँटीको समस्या लिएर आउने बिरामीहरु दैनिक करिब ३०० को हाराहारीमा रहेको चिकित्सकहरु बताउँछन् ।
खासगरी काठमाडौं, चितवन, विराटनगर जस्ता सहरी क्षेत्रमा अत्याधिक प्रदूषण छ । यसले शिशु, रोगी, बुढापाकालाई अरु बढी सताएको पाइन्छ ।
यही प्रदूषण र यसले जनस्वास्थ्यमा पारेको प्रभावबारे वीर अस्पतालका नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. अरुण केसीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीको संम्पादित अंश :
अहिले काठमाडौं लगायत सहरहरु एकदमै प्रदूषित छन्, यसबाट नाक, कान र घाँटीको समस्या कति बढेको छ ?
दिनप्रतिदिन बढ्दै गएको प्रदूषित वातावरणले जो बढी यस्ता वातावरणको सम्पर्कमा आउँछन् । उनीहरूमा नाक, कान र घाँटीमा प्रत्यक्ष अप्रत्यक्ष समस्या बढाइरहेको छ ।
प्रदूषणले नाकका एलर्जी गराउने, रुघा लाग्ने समस्या देखिएको छ । त्यस्तै, घाँटीमा भाइरल संक्रमण बढेर खसखसाउने, थुक निल्न कठिन हुने लगायत समस्या देखिन्छ । यी अंगलाई मात्र होइन, यसले श्वासप्रश्वास प्रणाली र बिस्तारै फोक्सोमा पनि असर गर्ने देखिन्छ ।
कसरी प्रभाव पार्छ ?
हाम्रो नाक, कान र घाँटीको वरिपरि ब्याक्टेरियाहरु जहिले पनि हुन्छन् । जबसम्म हाम्रो प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । तबसम्म यस्ता ब्याक्टेरियाले केही गर्न सक्दैन । तर प्रदूषणमा हुने केमिकल र धुलो प्रदूषण भएको वातावरणमा बस्ने, हिंड्डुल गर्ने, प्रदूषित पानी, खानेकुरा र श्वासप्रश्वासको माध्यमबाट शरीरमा प्रवेश गर्छ । यसले फोक्सो, घाँटी र श्वासप्रश्वास नली सुन्निन्छ । शरीरले एक किसिमको प्रतिक्रिया गर्छ ।
यसरी प्रतिक्रिया गर्दा प्रतिरोधात्मक क्षमता कमजोर पार्छ । कमजोर हुनेबित्तिकै वरपरको भाइरसले आक्रमण गर्छ । र, ब्याक्टेरियल तथा भाइरल संक्रमण हुने सम्भावना बढ्छ । र, हामी अस्वस्थ हुन्छौं । धुलो तथा केमिकलको एलर्जी हुनसक्छ ।
जसकारण नाकबाट पानी बग्ने, बन्द हुने, घाँटीमा खसखस हुने, खोकी लाग्ने, घाँटी क्याप्प भएको जस्तो हुने, हाँच्छयू आउने र संक्रमण बढ्दै गएमा ज्वरो पनि आउन सक्छ ।
यसले नवजात शिशु वा बालबालिकामा कुनै गम्भीर समस्या ल्याउन सक्छ ?
प्रदूषणबाट कोही अछुतो हुन सक्दैन । जसकारण बालबालिका तथा शिशु पनि प्रभावित हुन्छन् । तर प्रदूषणको छोटो समयसम्म सम्पर्कमा रहँदा गम्भीर समस्या देखिंदैन । तर लामो समयसम्म लगातार सम्पर्कमा रहँदा छाती तथा फोक्सोमा संक्रमण गराउन सक्छ ।
प्रदूषणको कारण शिशुहरूमा देखिने नाक, कान, घाँटीको समस्याको के कस्ता लक्षण देखिन्छन् ?
उनीहरूमा वयस्कको जस्तै घाँटी दुख्ने, रुघा लाग्ने, श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छन् । उनीहरू र वयस्कमा देखिने समस्यामा त्यति फरक हुँदैन । फरक यति हो कि उनीहरू बताउन सक्दैनन् । जसले गर्दा ढिला पहिचान हुन्छ । र, उपचारमा ढिलाइ हुँदा निमोनिया जस्ता रोग लाग्नसक्छ ।
उनीहरुलाई घरमै उपचार गराउन सकिन्छ कि अस्पताल नै ल्याउनुपर्ने हुन्छ ?
उनीहरूको स्वास्थ्य समस्या अवस्थाको आधारमा घरमा प्राथमिक उपचार गर्ने वा अस्पताल लैजानुपर्छ भनेर भन्न सकिन्छ । हल्का रुघाखोकी मात्र छ भने घरमै झोलिलो खानेकुरा दिने, चिसोबाट जोगाउने, औषधि खुवाएर प्राथमिक उपचार हुनसक्छ ।
तर यदि यस्ता लक्षण बढ्दै गएमा वा संक्रमणले ज्वरो बढिरहेको छ, खानेकुरा पटक्कै खाँदैन, रोइरहने जस्ता समस्या भएमा अस्पताल लैजानुपर्छ ।
घरमै राखेर कुनै औषधि खुवाउन सकिन्छ ?
घरमै खुवाउन सकिने भनेका ज्वरो भएमा सिटामोल, खोकी लागिरहेमा एलर्जीको औषधि परामर्श विना खुवाउन सकिन्छ । तर यो समस्या दुई दिन भन्दा बढ्दै गएमा अस्पताल नै लैजानुपर्छ । यस्ता औषधि बच्चाको तौलअनुसार फरक-फरक मात्रा दिनुपर्छ । जुन औषधिकै बट्टामा वा फार्मेसीका कर्मचारीले सुझाउन सक्छन् ।
यसमा ध्यान दिनुपर्ने कुरा के छ भने बच्चा होस् वा वयस्क यस्ता संक्रमणले दु:ख दिइरहेको समयमा विना चिकित्सकको परामर्श एन्टिबायोटिक औषधि खानु र खुवाउनु हुँदैन ।
प्रदूषणको कारण नाक, कान, घाँटीको सबैभन्दा बढी समस्या कसलाई हुनसक्छ ?
पहिलेदेखि दमको रोग, धुवाँधुलोको एलर्जी, फोक्सोसम्बन्धी समस्या, शरीरको प्रतिरोधात्मक क्षमता कम हुने व्यक्तिलाई सबैभन्दा बढी समस्या गर्छ । उनीहरूमा रोगसँग लडने शक्ति कम हुन्छ । जसले गर्दा सानोतिनो संक्रमणले पनि गम्भीर समस्या निम्ताउन सक्छ । र, छिटो निको नहुन सक्छ ।
साथै, पटक-पटक रुघाखोकी लाग्यो । तर उपचार भएन भने पिनास गराउन सक्छ ।
अहिले बढेको प्रदूषणले नाक, कान, घाँटीमा कुनै दीर्घकालीन वा गम्भीर समस्या पनि ल्याउन सक्छ ?
अहिले प्रदूषण देखिएको मुख्य कारण डढेलो लाग्नु, वातावरण सुक्खा भएर धुवाँधुलो अत्याधिक बढ्नु हो । जुन बाह्रै महिना रहँदैन । तर यही प्रदूषण सधैंभरि रहने हो भने दीर्घकालीन समस्या नआउला भन्न सकिन्न ।
लगातार प्रदूषणको सम्पर्कमा रहने हो भने नाक र घाँटीमा केही समय असर गर्छ । तर दीर्घकालीन रुपमा सबैभन्दा बढी असर यसले फोक्सोमा पार्न सक्छ । प्रदूषणबाट निस्केको धुलो र फोहोर शरीरमा प्रवेश गरेपछि शरीरले प्रतिक्रिया गरेपछि दम, सीओपीडी, अस्थामा, फोक्सो खुम्चिने लगायतका समस्या आउँछ । यसरी जटिलता बढ्दै गएमा पछि फोक्सोले काम गर्न नसक्ने अवस्था मात्र नभई क्यान्सरको जोखिम हुनसक्छ ।
प्रदूषणको कारण नाक, कान, घाँटीको समस्या लिएर आस्पताल आउनेको संख्या कस्तो छ ?
अहिले अस्पतालमा भीडभाड बढेको छ । तीन सातादेखि प्रदूषणबाट प्रभावित नाक तथा घाँटी र आँखाको समस्या लिएर आउनेको संख्या बढेको छ । ईएनटी विभागमा मात्र दिनको अहिले दुईदेखि तीन सयको हाराहारीमा बिरामी आइरहेका छन् । जुन अन्य समयको भन्दा बढी हो ।
कुन अवस्थामा अस्पताल आउनुपर्ने हुन्छ ?
सामान्य रुघाखोकी भएमा अस्पताल आउनु पर्दैन । तर दुई दिन भन्दा बढी समयसम्म अत्याधिक ज्वरो, रुघाखोकी श्वासप्रश्वासमा समस्या र अन्य जटिलता देखिए अस्पताल गई परीक्षण गराउनुपर्छ ।
यस्तो समस्याले कुन उमेर समूह वा कसलाई बढी सताएको छ ?
प्रदूषणले जो बढी प्रदूषणको सम्पर्कमा रहन्छन् । अहिले अस्पतालमै रिपोर्ट हेर्ने हो भने पनि २० वर्षदेखि ४० को उमेर समूहका बिरामी अस्पताल आएका छन् । जसबाट वयस्क तथा युवाहरुमा यो समस्याले सताएको देखिन्छ ।
घरबाहिर सक्रिय रुपमा काम गर्ने, पढ्न कलेज जाने विद्यार्थी, बढी हिंड्डुल गर्ने युवा र सडक वरपर काम गर्ने व्यापारीहरु बढी प्रदूषणको सम्पर्कमा रहन्छन् । जसकारण उनीहरू प्रदूषणबाट प्रभावित देखिन्छन् ।
गाडी चालक, ट्राफिक वा चोकका पसलेहरुलाई यस्तो जोखिम कति छ ?
प्रदूषणले सबैभन्दा जोखिम दिनमा दुईपटक बाहिर आवतजावत गर्ने भन्दा पनि सवारीसाधन चलाउने गाडी चालक, खलासी, सडकमै डयुटी गर्ने ट्राफिक र सडक नजिक चोकमा दिनभर काम गर्ने व्यापारीहरु सबैभन्दा बढी जोखिममा पर्छन् । उनीहरू प्रदूषण बढ्ने बित्तिकै भाइरल तथा ब्याक्टेरियल संक्रमण बढ्छ । र, उनीहरुबाट अर्को व्यक्तिमा सर्ने जोखिम रहन्छ । उनीहरू यस्ता पेशागत जोखिमबाट बच्न गाह्रो छ । तर पनि यसको रोकथामको लागि सुरक्षा कवचको रुपमा मास्क र हातमा लगाउने पञ्जाले काम गर्छ । यसरी प्रदूषणमा काम गर्न पर्ने वा हिंड्डुल गर्ने बाध्यता भएकाले अनिवार्य मास्क लगाउनैपर्छ ।
नाकबाट पातलो सिंगान बगिरहने वा घाँटी खसखस हुने जस्ता अवस्थामा घरमै बसेर गर्न सकिने कुनै उपचार छ ?
यस्ता लक्षण देखिएमा मनतातो पानी पटक-पटक खाने, घाँटी खसखसाएको छ भने एलर्जीको औषधि खाने, प्रदूषणको सम्पर्कबाट बच्ने, करिब पाँच दिन घरमै आराम गर्ने, झोलिलो खानेकुरामा जोड दिने, साबुन पानीले हात धुने, बाहिरको खानेकुरा नखाने, हल्का ज्वरो र शरीर दुखे सिटामोल खान सकिन्छ । तर लक्षण बढ्दै गए अस्पताल जानैपर्छ ।
प्रदूषणबाट बच्ने के गर्न सकिन्छ ?
प्रदूषणलाई रोक्ने कुरा हाम्रो बसमा छैन तर यसबाट बच्न भने सकिन्छ । सबैभन्दा प्रभावकारी उपाय भनेको मास्कको प्रयोग हो । कोरानाबाट बच्न हामीले मास्क लगाउन सिकेका छौं । अब बाहिर वातावरणमा हिंड्दा जहिले पनि मास्कको प्रयोग गरेमा यस्ता संक्रमण सजिलै शरीरमा प्रवेश गर्न सक्दैन ।
त्यस्तै, सरकारले पनि प्रदूषण न्यूनीकरणका लागि कदम चाल्नुपर्छ । धुवाँ निस्किने सवारी साधनको विकल्पमा केही योजना ल्याउने, फोहोर व्यवस्थापनमा कडाइ गर्ने, जथाभावी फोहोर गरी चलाएको होटलहरुको अनुगमन गर्ने जस्ता कार्य गर्ने र प्रदूषणलाई न्यूनीकरण गर्ने प्रभावकारी योजना गराउनुपर्छ ।
प्रतिक्रिया 4