३० चैत, काठमाडौं । सलिल ढकालले खेलको इन्जुरी टाइममा गोल गरेपछि पुल्चोक स्पोर्ट्स क्लबले सहिद स्मारक सी डिभजन लिगमा शुक्रबार स्वयम्भू क्लबलाई २-१ ले पराजित गरेको छ ।
जारी लिगमा पुल्चोकको यो लगातार दोस्रो जित हो र दुई खेलबाट ६ अंक जोडेर पुल्चोक अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ । दुई खेल नै जितेर समान ६ अंक रहेको आरसी ३२ फुटबल एकेडेमी दोस्रो स्थानमा छ । पराजित स्वयम्भूको भने १ अंक मात्र छ ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुल्चोकले स्यारब लो तामाङले तेस्रो मिनेटमै गोल गर्दै पुल्चोकलाई अग्रता दिलाएका थिए ।
स्वयम्भूका लागि २० औं मिनेटमा सुग्रित मगरले बराबरी गोल गरेका थिए । बराबरीतर्फ अघि बढिरहेको खेलमा सलिलले इन्जुरी टाइममा गोल गरी पुल्चोकलाई ३ अंक दिलाए ।
शुक्रबारै भएको पहिलो खेलमा सोसियल वेलफेयर र रानीबारी स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
पहिलो खेलमा फराकिलो जित निकालेको सोसियल वेलयर यो बराबरीपछि ४ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ ।
लगातार दोस्रो बराबरी खेलेको रानीबारीको २ अंक भएको छ ।
लिग अन्तर्गत आइतबार दोस्रो चरणको अन्तिम दुई खेल हुनेछ । जसमा स्पोर्ट्स एकेडेमी सांगा र मनोहरा युनाइटेड युथ क्लब तथा गोलबजार स्पोर्ट्स क्लब र झम्सिखेल स्पोर्ट्स क्लबबीच खेल हुनेछ ।
प्रतिक्रिया 4