+
+

परिवार नै अनलाइन ठगीमा : भारतमा बसेर योजना, नेपालमा ६० लाख ठगी

नारायण अधिकारी नारायण अधिकारी
२०८१ वैशाख ३ गते २१:३९
पक्राउ परेकी सञ्जु पौडेल, उनका श्रीमान निश्चल र भतिज धनबहादुर ।

३ वैशाख, काठमाडौं । चिट्ठा परेको प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी भएको भन्दै एक युवतीले करिब एक साताअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिइन् ।

उनले रश्मी बिश्वकर्माको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेको भौचरसहित निवेदन दिएपछि प्रहरीले अनुसन्धान सहज हुने अनुमान गरेको थियो । तर अनुसन्धान गर्दै जाँदा प्रहरी नै चकित प¥यो र अन्तिममा एउटा परिवार नै अनलाइन ठगीको धन्दामा लागेको फेला पारेको छ ।

बैंक खाताको विवरण पाएपछि प्रहरीले बैंकसँग सम्पर्क गरेर रश्मीको स्थायी ठेगाना झापाको मेचीनगर नगरपालिका–९ भएको पत्ता लगायो । उक्त ठेगानामा रश्मी बिश्वकर्मा खोजी गर्न अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी कार्यालय झापालाई खबर गर्‍यो ।

जिल्ला प्रहरी कार्यालयले मेचीनगरमा जम्मा एक जना रश्मी बिश्वकर्मा पहिचान गर्‍यो । तर उनी केही वर्षदेखि भारतमा रहेर व्यवसाय गरिरहेको पत्ता लगायो । प्रहरीले अनलाइन ठगीमा तिनै रश्मीको संलग्नता हुन नसक्ने भन्दै पुनः अनुसन्धान अघि बढायो । सो क्रममा झापाको धुलाबारीमा अर्को रश्मी बिश्वकर्मा नाम गरेकी महिला रहेको पत्ता लगायो ।

तर बैंक खाता खोल्न प्रयोग भएको नागरिकता उनको नभएको देखिएपछि प्रहरीले उनलाई पनि छाड्यो ।

अनुसन्धानकै क्रममा रश्मी बिश्वकर्मा नामको नागरिकताबाट १६ वटा बैंक खाता खोलिएको र ६० लाख भन्दा बढी कारोबार भएको फेला पारेपछि अनुसन्धान अधिकृतहरु नै अचम्ममा परे ।

बैंक खाताहरुमा रश्मीको अस्थायी ठेगाना काठमाडौंको टोखा, गोंगबु, बालाजु, सामाखुसी आदि उल्लेख थिए । सबै खाता खोल्दा सम्पर्क टेलिफोन नम्बर पनि फरक फरक थिए ।

बैंक खाताको विवरणमा होटल व्यवसायीका रुपमा झापाका विभिन्न होटलको नाम समेत उल्लेख गरिएको थियो । तर ती नामका होटल झापामा नरहेको अनुसन्धानका क्रममा पुष्टि भयो ।

त्यसपछि प्रहरीले बैंक खाताको रकम कसरी निकालिएको छ भनेर अनुसन्धान सुरु ग¥यो । अधिकांश रकम पेप्सीकोला, कोटेश्वर क्षेत्रका एटीएम बुथबाट निकालेको देखियो ।

एटीएम बुथबाट रकम निकाल्ने युवती र नागरिकतामा भएको फोटोलाई आधार मानेर प्रहरीले अनुसन्धान अघि बढायो । जसक्रममा प्रहरीले एटीएम बुथको क्लोज सर्किट क्यामेरा (सीसीक्यामेरा) अध्ययन गर्‍यो ।

‘बैंक खाता खोल्दा प्रयोग भएको नागरिकतामा टाँसिएको फोटो र एटीएम बुथमा रकम निकाल्ने महिलाको फोटो म्याच खायो’, अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले भने, ‘मान्छे एकै भएपछि फेरि हाम्रो अनुसन्धान फेल खाएको हुनसक्ने अनुमान पनि थियो । तर उक्त मान्छेमाथि थप भेरिफाइ गरौं भन्ने भयो ।’

यही क्रममा जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा धुलाबारी घर भएकी रश्मी बिश्वकर्मा उपत्यका अपराध अनुसन्धान कार्यालयको सम्पर्कमा पुगिन् । उनले करिब ९ महिनाअघि काठमाडौंमा आफ्नो नागरिकता हराएको र अहिले प्रतिलिपी बनाएको खुलाइन् ।

रश्मीले प्रतिलिपी बनाएको नागरिकता र बैंक खाता खोल्न प्रयोग भएको नागरिकताको सबै विवरण मिल्यो, तर फोटो मिलेन । त्यसपछि प्रहरीले निष्कर्ष निकाल्यो– नागरिकताको फोटो उप्काएर अर्को फोटो टाँसेर बैंक खाता खोलिएको रहेछ ।

प्रहरीले त्यसपछि एटीएम बुथको सीसी क्यामेरामा कैद भएकी महिलाको खोजी सुरु गर्‍यो । विभिन्न पाटोबाट अनुसन्धान गर्ने क्रममा प्रहरी काठमाडौंको कागेश्वरी मनोहरा बस्दै आएका इलाम माइपोखरीका ३४ वर्षीय धनबहादुर बिकको सम्पर्कमा पुगेको थियो ।

उनी एउटा फ्ल्याट भाडामा लिएर काका नाता पर्ने झापाको बुद्धशान्ति गाउँपालिका–२ का ३५ वर्षीय निश्चल पोर्तेलसँग बस्थे । उनीहरु दुबै जना यो ठगीमा तानिए ।

पोर्तेल नक्कली रश्मी बनेर ठगी गर्ने महिलाको श्रीमान रहेको खुल्यो । श्रीमतीको योजना अनुसार उनले पनि ठगीमा सहयोग गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले बताए ।

श्रीमानकै सूचनाका आधारमा केही दिनअघि मात्रै झापामा पुगेकी नक्कली रश्मी (वास्तविक नाम सञ्जु पौडेली)लाई जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सञ्जुका श्रीमान निश्चल र भतिज धनबहादुरले भने आफूहरु सुन पसलमा काम गर्दै आएको बताएका छन् । तर पछिल्लो समय उनीहरु समेत काम छाडेर सञ्जुसँगै अनलाइन ठगी धन्दामा लागेको प्रहरीको दाबी छ ।

यसअघिका अनलाइन ठगीहरुमा तेस्रो मुलुकमा रहेका व्यक्तिको योजनामा नेपालीलाई एजेन्ट बनाएर ठगी हुने गरेको थियो । त्यसवापत नेपालीले निश्चित प्रतिशत रकम पाउने गर्थे भने बाँकी रकम हुण्डीमार्फत विदेशीने गरेको थियो ।

तर यो घटनामा भने नेपालीकै योजनामा प्रत्यक्ष ठगी गरिएको र रकम बाहिर गएको नदेखिएको अनुसन्धान अधिकृत डीएसपी अनिल घिमिरेले बताए ।

दिदी भारतीय जेलमा, भाइ डिल्लीबजार कारागारमा

हाल पक्राउ परेकी सञ्जुका भाइ र दिदी पनि यस्तै अनलाइन ठगीको आरोपमा यसअघि नै कारागार चलान भएको खुलेको छ । सञ्जुका भाइ सन्तोष भनिने पंकज पौडेली अनलाइन ठगीकै आरोपमा एक वर्षदेखि डिल्लीबजार कागारमा थुनामा रहेका डीएसपी घिमिरेले बताए ।

‘उनीहरुको परिवार नै अनलाइन ठगीमा संलग्न देखिन्छ । भाइ डिल्लीबजार कारागारमा छन् भने दिदी भारतको जेलमा रहेको खलुेको छ’, उनले भने ।

अपराध अनुसन्धान कार्यालयकै टोलीले जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पंकजलाई २६ माघ २०७७ मा पक्राउ गरेको थियो । उनले पनि चिट्ठा परेको र उक्त चिट्ठा लिनका लागि राजश्व शुल्क बुझाउनुपर्ने भन्दै रकम हाल्न लगाएर ठगी गरेको पाइएको प्रहरीको भनाइ छ ।

त्यतिबेला उनको साथबाट प्रहरीले ३ लाख ५६ हजार ७१० रुपैयाँ समेत बरामद गरेको थियो । घरबाट भने २ लाख ८ हजार २ सय बरामद भएको थियो । झोलाभित्र प्याक गरेर गोठको मलखादमा गाडेको अवस्थामा ८ लाख ३० हजार ३ सय ५ रुपैयाँ बरामद भएको थियो ।

अनलाइन ठगीकै आरोपमा सञ्जुकी दिदी मञ्जु भारतको दिहाडस्थि जेलमा रहेको पनि खुलेको छ । उनले भारतमै यस्तै शैलीमा ठगी धन्दा चलाएपछि प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

मुख्य योजनाकार भारतमा

प्रहरी अनुसन्धानले भारतमा बसोबास गर्ने सञ्जुका भिनाजु अर्थात मञ्जुका प्रेमी सुरज मगरले ठगीको योजना बनाउने र आफूले सम्पर्क गरेका व्यक्तिको बारेमा सञ्जुलाई भन्ने गरेको खुलेको छ ।

सुरजले ह्वाट्समार्फत विभिन्न चिट्ठा परेको र पठाएको भन्दै फोन गर्ने, चिठ्ठामा परेका सामानहरुको विवरण पीडितलाई पठाउने र विश्वास दिलाउने काम गरेको खुलेको छ । पीडितलाई थप विश्वासमा दिलाउन ‘तपाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट फोन आउन सक्छ’, समेत भन्ने गरेको खुलेको छ ।

त्यसपछि सुरजले आफूले कुराकानी गरेका व्यक्तिको विवरण र सम्पर्क नम्बर सञ्जुलाई दिने गरेका थिए । सञ्जुले भने आफू विमानस्थल भन्सारको भन्सार अधिकृत बोलेको भन्दै सामान भन्सारमा आइपुगेको र सामान लिनका लागि भन्सार शुल्क वापतको रकम बैंक खातामा जम्मा गरिदिनू भन्दै बैंक खाता दिने गरेकी थिइन् । पीडितले विश्वास गरेर रकम पठाएपछि एटीएममार्फत रकम निकाल्ने गरेको देखिएको छ ।

एक जनालाई ठगी गरिसकेपछि पुनः अर्को पटक उक्त सीमकार्ड प्रयोग नगरेकोे प्रहरीले फेला पारेको छ । फाल्नु पर्ने सीम, प्रयोग भएको सीम, प्रयोग नभएको सीम भनेर छुट्टा छुट्टै राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो । उनीहरुको साथबाट एनसेलका २६ थान सीमकार्ड, भारतीय सीमकार्ड १ थान बरामद भएको छ ।

उनले यो शैलीमा विगत दुई वर्षदेखि ठगी गरेको प्रहरीको दाबी छ । सञ्जुको साथबाट प्रहरीले विभिन्न व्यक्तिका ५ थान नागरिकता बरामद गरेको छ ।

त्यसैगरी सञ्जुका श्रीमान निश्चलले निशान्त शर्माको नामबाट लिएको भारतीय आधारकार्ड बरामद भएकाले ठगिएको रकम भारतीय बैंकमा राखिएको हुनसक्ने प्रहरी आशंका छ ।

त्यस्तै विभिन्न बैंकका ८ थान एटीमए, चेकबुक ११ थान, बैंक तथा सहकारीमा वचत गरेको १८ थान स्लीप, ६ थान मोबाइल पनि बरामद भएका छन् । उनीहरुबाट ठगिएको भन्दै अहिलेसम्म ५ जना प्रहरीको सम्पर्कमा आएका छन् ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?