 
																			१४ वैशाख, काठमाडौं । शिक्षक महासंघका दुई मुख्य घटक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघबीचको विवाद चुलिँदै गएको छ ।
यी दुई संगठनबीचको असहमतिका कारण काठमाडौंको सुकेधारामा सोमबारदेखि बुधबारसम्म भएको दोस्रो महाधिवेशनले नयाँ नेतृत्व पाउन सकेन । महासंघको आन्तरिक विवादका कारण नयाँ कार्यसमिति बन्न नसकेपछि १७ गते घोषणा गर्ने भएको छ ।
महाधिवेशनको अघिल्लो दिन एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ति जारी महाधिवेशनमा सहभागी नहुने जनाएको थियो । संगठनले पुरानो सदस्यताको आधारमा (७८ सालको) राखिएकाले मान्य नहुने, अध्यक्षता पाउनुपर्ने जिल्लाहरुमा नदिइएको र पालिका, जिल्ला, प्रदेशको अधिवेशन सकेर मात्रै महाधिवेशन हुनुपर्ने र त्यो नभएको अवस्थामा महाधिवेशनमा सहभागी हुन नसक्ने जनाएको थियो ।
नेपाली कांग्रेस निकटको नेपाल शिक्षक संघ भने जसरी पनि महाधिवेशन गराउनुपर्ने अडानमा छ ।नेपाल राष्ट्रिय शिक्षक संगठनको विरोधका बाबजुद युनियनका महासचिवसमेत रहेका संघ निकट शिक्षक लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा १० गते महाधिवेशन सुरु गर्यो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनबाट प्रतिनिधित्व गर्ने महासंघकी अध्यक्ष कमला तुलाधर महाधिवेशनमा उपस्थित नभएपछि सहअध्यक्ष नानीमाया पराजुलीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।
के हो विवाद ?
महासंघको विधान अनुसार स्थानीय तह, जिल्ला, प्रदेशको अधिवेशन सकेर मात्रै केन्द्रको महाधिवेशन गर्नुपर्ने व्यवस्था छ भने सदस्य संख्याको आधारमा पहिलो हुनेले अध्यक्ष सहित ११ सिट पाउने, दोस्रो हुनेले महासचिवसहित ११ सिट पाउने, तेस्रो हुनेले सहअध्यक्ष लगायत पाउने, चौथो हुनेले कोषाध्यक्षसहितका सिट पाउने व्यवस्था छ ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष विष्णु भण्डारीका अनुसार अहिलेसम्म ३२ वटा जिल्लामा मात्रै अधिवेशन भएको छ । त्यसैले विधान अनुसार बहुमत पु¥याउनको लागि पनि कम्तीमा ३९ वटा जिल्लामा अधिवेशन सक्नुपर्ने संगठनको तर्क छ ।
भएका ३२ वटा जिल्लामध्ये पनि ७ वटा जिल्लाको नेतृत्व चयनमा संगठनले असन्तुष्ट जनाइरहेको संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अध्यक्ष होमकुमार थापा बताउँछन् ।
उनी भन्छन्, ‘सबै जिल्लाको अधिवेशन गर्नुपर्छ भन्ने संगठनको भनाइ हो र भएकामध्येमा पनि सात जिल्लाको नेतृत्व चयनमा उहाँहरुको असन्तुष्टि सुनिन्छ ।’ झापा, चितवन लगायत केही जिल्लामा संघले एकलौटी तरिकाले आफ्नो उम्मेदवार चयन गरेको संगठनको आरोप छ ।
अहिलेको अवस्थामा संघले अध्यक्षसहितका पद र संगठनले महासचिवसहितका पद पाउने स्थिति रहेको छ । अध्यक्ष नपाउने भएपछि संगठन महाधिवेशनमा जान नचाहिरहेको महासंघका एक केन्द्रीय सदस्य बताउँछन् । संगठनले विधानलाई टेकेर कुरा उठाइरहेपनि अध्यक्ष पद छोड्ने मनस्थितिमा नरहेकाले अहिलेको अवस्था निम्तिएको उनको बुझाइ छ ।
ती केन्द्रीय सदस्य भन्छन्, ‘संगठनले हाम्रो नेतृत्व आउनुपर्ने जिल्लाहरुमा जबरजस्ती संघका शिक्षक आएको भन्ने असन्तुष्टि छ । जिल्लामा संगठनको नेतृत्व आए केन्द्रमा पनि बलियो हुन्छ ।’
तर, संगठन अध्यक्ष भण्डारी भने विधानतः जे भए पनि मिलेर जान सकिने अवस्था रहेको बताउँछन् । उनी भन्छन्, ‘त्यस्तो होइन हामी विधानतः सबै तहको सकेर जाऊँ, सदस्यता नवीकरण गरेर जाऊँ भन्ने हो नेतृत्वमा बैतडीमा जसरी मिलेर जान सकिन्छ नि ।’
सहमतिमा जाँदा बलियो भइन्छ भनेर धेरै प्रयास गर्दा पनि संघले संगठनको कुरा नसुनेर एक्लौटी महाधिवेशन गरेकोले महाधिवेशन बहिष्कार गर्नुपरेको अध्यक्ष भण्डारीको भनाइ छ । ‘अध्यक्षले नै अहिलेको अवस्थामा महाधिवेशनमा जान सकिँदैन भन्दाभन्दै सहअध्यक्षको अध्यक्षतामा बलजफती अगाडी बढेर जान खोज्नुभयो’, उनी भन्छन् ‘उहाँहरुले एकलौटी रुपमा जानुहुन्छ भने चलाउन हामी अलग रुपमा जान्छौं भनेको हो ।’
धेरै कुरामा संघले विधान मिचेर जान खोजेको उनको आरोप छ । उनी भन्छन्, ‘हाम्रो विधानमा राज्यकोषबाट तलब खाने शिक्षकहरु मतदाता हुने व्यवस्था गरिएको छ । तर, प्राविधिक शिक्षकहरुलाई मतदानबाट बञ्चित गराउने प्रयास देखिन्छ ।’
संगठनले ९ गते विज्ञप्ति जारी गरे पश्चात महाधिवेशनको पक्षमा रहेको महासंघका पदाधिकारीहरुले उद्घाटन सुरु हुनअघि नै अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानोभाइ कार्कीको संयोजकत्वमा सात सदस्यीय वार्ता समिति गठन गरेको छ ।
इस्टुका अध्यक्ष होमकुमार थापाका अनुसार जुनसुकै बेला वार्ता बस्नुपर्ने भन्दै समिति बनाइएको हो । ‘उद्घाटन हुनु भन्दा अगाडि नै जतिखेर पनि बस्न सकिने भनेर बनाइयो’, वार्ता समिति सदस्य रहेका थापाले भने ।
उनका अनुसार संगठनले पाउने सिट छुट्याएर उद्घाटन सुरु गरिएको थियो । महासचिव लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा १० गतेदेखि १२ गतेसम्म भएको महाधिवेशन समानुपातिक पदहरुको बन्दसूची बुझेर समापन भएको भयो ।
वार्ता समितिले नेकपा एमालेको महासचिव शंकर पोखरेललाई भेटेर वस्तुस्थितिबारे जानकारी गराएको थियो । त्यसपछि संगठनसँग छलफल भएपनि निकास निस्किएको छैन । बिहीबार पनि वार्ता समिति र संगठनबीच छलफलमा रहेको जनाएको छ ।
तर, महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने असन्तुष्टिकै कारण नभएर सम्बन्धित संस्थाहरुले पदाधिकारी सिफारिस गर्न ढिलाइ गरेकोले नयाँ कार्यसमिति बन्न नसकेको बताए ।
उनले भने, ‘सम्बन्धित संस्थाहरुले आफ्नो तर्फबाट पदाधिकारीहरु सिफारिस गर्न समय दिइएको छ । त्यो अनुसार १७ गते घोषणा गर्ने भन्नेमा छौं ।’ महासंघमा अहिले १४ वटा संस्था आवद्ध रहेका छन् । संस्था ठूलो भएकोले सामान्य खटपट भएको महासचिव सुवेदीले तर्क गरे ।
नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले केही जिल्लाका नेतृत्व चयनमा संगठनले असन्तुष्टि जनाए पनि त्यही कारण नेतृत्व चयन हुन नसकेको भने अस्वीकार गरे । १७ गते घोषणा सभाबारे भन्छन् ‘हाम्रो पद्धति अनुसार घोषणा सभा राखिएको हो । उद्घाटन हुने, बन्दसत्र गर्ने हुन्छ । तर उम्मेद्वार हुने हुँदैन । हामीले निश्चित समय किटान गरेर बन्दसूची पेस गर्छौं र घोषणा सभा हुन्छ ।’
संगठनका केन्द्रीय अध्यक्ष भण्डारीले उठाइएको बुँदाहरुको चित्तबुझ्दो जवाफ पाए घोषणा सभामा जान तयार रहेको तर त्यसको लागि समय लाग्ने बताए ।
उनले भने, ‘महासंघ संघको मात्रै हो भने त्यसैगरी अगाडि बढ्ने हो हैन सबैको हो भने हाम्रो कुराहरुलाई सम्बोधन हुने गरी उत्तर दिनुभयो भने हामी घोषणा सभामा जान सक्छौं । तर त्यसको लागि समय लाग्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4