 
																			१४ वैशाख, काठमाडौं । स्नातक तह पूरा गरेपछि पाल्पा तानसेन नगरपालिकाका २२ वर्षीय प्रमोद रिजालको मन स्वदेशमै अडिएन । उनले २ वर्षअघिबाटै विदेश जाने साेच बनाए ।
साथीभाइसँग सरसल्लाह गर्दा सबैले उनलाई युरोपेली देश जान सुझाए । ‘युरोपमा राम्रै कमाइ हुन्छ’ भन्ने उनले सुनेका पनि थिए । त्यही चक्करमा एक जना साथीमार्फत उनको भेट काठमाडौंका नमराज बेलबासेसँग भयो ।
बेलबासेले ‘क्रोएसिया’ मा राम्रै कमाइ हुने प्रलोभन देखाए । ‘मासिक डेढ लाख भन्दा कम हुँदैन भनेपछि मैले केही सोचिनँ,’ उनले भने ।
बेलबासेले मागे बमोजिम उनले क्रोएसिया जान ९ लाख रुपैयाँ बुझाउन तयार भए । यो ०७९ पुस १३ को कुरा हो ।
सुरुमा बेलबासेले ३ महिनामा उडाउने भनेका थिए । तर, ६ महिना बित्दा पनि उनले पठाउन सकेनन् । अनेक बाहना बनाएर झुलाइरहे । पछि त उनको फोन नै लाग्न छोड्यो । त्यसपछि बल्ल प्रमोदले आफू ठगिएको थाहा पाए, खोज्दै जाँदा थाहा भयो, बेलबासेले अरु पनि ‘क्रोएसिया पठाउँछु भनेर ठगेका रहेछन् ।
अहिले प्रमोदसहित ७ जनाले बेलबासेविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । तर, उनी सम्पर्कमा छैनन् । ‘युरोप जाने सपनाले ९ लाख फस्यो’, उनले दुखेसो पोख्दै भने ।
०००
वैदेशिक रोजगारीका लागि राम्रो विकल्प खोजिरहेकी हेटौँडाकी हरिमाया (नाम परिवर्तन) पनि केही वर्षअघि युरोप जाने तयारीमा जुटिन् । आफूसँगैका साथीहरु युरोप हिँडेपछि उनलाई पनि उतै जाने रहर जाग्यो ।
चिनेजानेकै साथीमार्फत उनको भेट भयो, काठमाडौं बुढानीलकण्ठ नगरपालिका–५ का बस्ने सञ्जीव तामाङसँग । तामाङले युरोपेली मुलुक चेक गणतन्त्रमा पठाइदिने आश्वासन दिए । मासिक १ लाख २० हजार रुपैयाँ तलब हुने भन्दै सञ्जिवले १० लाख रुपैयाँ लिए । पैसा हात परेपछि उनी सम्पर्कविहीन भए ।
हरिमायाजस्तै ठगिएका अरुले पनि प्रहरीमा उजुरी दिएपछि सञ्जीव ०८० चैत ६ गते पक्राउ परेका छन् ।
०००
गोरखाकी भवानी रानामगर पनि युरोप जाने चक्करमा ठगीमा परिन् । पर्वत फलेवास नगरपालिका–२ का तिलकबहादुर सापकोटाले उनलाई युरोप राष्ट्र पोल्यान्ड पठाइदिने आश्वासन दिएका थिए ।
एउटा कम्पनीमा प्याकेजिङको काम गर्नुपर्ने र मासिक १ लाखसम्म कमाइ हुने भनेर सापकोटाले लोभ देखाए । आर्थिक समस्यासँग गुज्रिरहेको बेला मासिक एक लाख तलब भवानीका लागि ठूलै रकम थियो ।
त्यसपछि विश्वासमा परेकी उनले तिलकबहादुरलाई पटक–पटक गरी १३ लाख रुपैयाँ बुझाएको बताइन् । तर, पैसा बुझेपछि तिलकबहादुर फरार भए । भवानीले प्रहरीमा उजुरी दिएपछि बल्ल उनी पक्राउ परे ।
०००
०८० साउनमा सिन्धुपाल्चोककी सरला तामाङले १५ दिनमै ग्रिस पठाइदिने भन्दै फेसबुकमा विज्ञापन देखिन् । वैदेशिक रोजगारीमा जाने मनस्थिति बनिरहेको बेला फेसबुकमा पोष्ट गरिएको त्यो विज्ञापनले उनको ध्यान तान्यो ।
विज्ञापनमा दिएको नम्बरमा पछ्याउँदै सरला काठमाडौं बसुन्धारास्थित ‘रिभर रक एन्ड ट्राभल एन्ड टुर’ को सम्पर्कमा पुगिन् । त्यहाँ उनले काठमाडौं बौद्धका निशेषकुमार मुक्तान, काठमाडौं बसुन्धरामा बस्ने बिनिता गुरुङ र सागर बललाई भेटिन् ।
उनीहरुले कृषि कम्पनीमा मासिक ९ सय युरो अर्थात् करिब १ लाख २७ हजार नेपाली रुपैयाँ कमाइ हुने लोभ देखाए । त्यही विश्वासमा परेर उनी ग्रिस जान तयार भइन् र साढे ४ लाख बुझाइन् ।
तर, उनीहरुको नियत पनि ग्रिस पठाउने नभएर ठगी गर्ने रहेछ । पैसा लिएर लामो समयसम्म फरार भएपछि अत्तालिएकी सरला अन्तिममा प्रहरीकहाँ पुगिन् । त्यसरी ठगिनेमा सरला एक्ली थिइनन्, चितवनका दीपक सापकोटा पनि थिए । उनले पनि ग्रिस जाने भनेर ३ लाख रुपैयाँ बुझाएका थिए ।
अन्तमा उनीहरुले दिएको उजुरीको आधारमा गत चैतमा प्रहरीले निशेषकुमार र विनितालाई पक्राउ गर्यो ।
०००
पछिल्लो समय युवाहरुको आकर्षक श्रम गन्तव्य बनिरहेको युरोपेली मुलुक जाने र पठाउने नाममा ठगिने क्रम बढ्दो छ । प्रहरी र वैदेशिक रोजगार विभागमा परेका अधिकांश ठगीका घटनामा युरोप पठाउने नाममा छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अभिलेख अनुसार पछिल्लो ३ वर्षमा मात्र वैदेशिक रोजगारी ठगीका १ हजार ४८ घटना आएका छन् । जसमा २८५ जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आउने वैदेशिक रोजगारीका ठगीका घटना वर्षैपिच्छे थपिइरहेको छ । आर्थिक वर्ष ०७८/०७९ मा १२० उजुरी परेकोमा आर्थिक वर्ष ०७९/०८० मा २५४ पुग्यो ।
यसैगरी आर्थिक वर्ष ०८०/०८१ सम्म आइपुग्दा यो संख्या झण्डै तीन गुणा बढेर ६७४ पुगेको छ । यी प्रहरी कार्यालयमा दर्ता भएका संख्या भए पनि प्रहरीसम्म नआइपुगेका ठगीका घटना झै धेरै हुनसक्ने अनुमान छ ।
‘युरोपमा नेपाली श्रमिक जान पाउने बाटो खोल्नुपर्छ’
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मी वैदेशिक रोजगारीका नाममा भएका ठगीका आँकडाले आफूहरुलाई अचम्मित बनाएको बताउँछन् ।
‘अधिकांश ठगी युरोप पठाइदिने नाममा भएका छन्’, एसपी रेग्मीले भने, ‘ठगिनेमा युवाहरुको संख्या धेरै छ ।’ उनका अनुसार अहिले पोर्चुगल, पोल्यान्ड, रोमानिया, माल्टा, क्रोएसिया, युके, ग्रिस लगायत देशमा पठाउने भन्दै ठग्ने क्रम बढ्दो छ ।
एसपी रेग्मीका अनुसार यसरी हुने ठगी संस्थागत भन्दा व्यक्तिगत रुपमा बढी छन् । ‘पूर्वी युरोपका मुलुकहरुमा राम्रो कमाइ हुने लोभ देखाइन्छ,’ उनले भने, ‘युवाहरु पनि सजिलै विश्वासमा परेर मागे जति रकम दिन तयार भएको देखिन्छ ।’
युरोपका राष्ट्रहरुमा पठाउने भन्दै प्रतिव्यक्ति दुईदेखि १५ लाखसम्म ठगेको पाइएको एसपी रेग्मीले बताए ।
श्रम अप्रवासन विज्ञ डा. सोमप्रसाद लुइँटेलले वैदेशिक रोजगारीमा युवाहरु ठगिनु चिन्ताजनक भएको सुनाउँछन् । नयाँ गन्तव्यमा युवाहरुको आकर्षणलाई बुझेर युरोपमा नेपाली श्रमिक जान पाउने बाटो खुला गर्न सरकारले नीतिगत निर्णय गर्नुपर्ने उनको मत छ ।
‘संस्थागत तवरले श्रमिकहरु जान नपाउँदा र सरकारले मूल्य पनि निर्धारण नगर्दा युवाहरु ठगिनुपर्ने स्थिति छ’, उनले भने, ‘सरकारले यो बुझेर जिटुजी वा संस्थागत रुपमा जाने बाटो खुकुलो गर्नुपर्छ ।’
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4