+
+

काठमाडौं बन्यो विश्वकै प्रदूषित शहर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १५:४४

१४ वैशाख, काठमाडौं । भारतको नयाँ दिल्ली र पाकिस्तानको लाहोरलाई पछि पार्दै काठमाडौं विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । वायु गुणस्तर मापन गर्दै आएको आईक्यू एअरले गरेको मापनअनुसार काठमाडौं सबैभन्दा धेरै प्रदूषित सहर बनेको हो ।

आईक्यु एअरले शुक्रबार काठमाडौंको वायु गुणस्तर १९४ मापन गरेको छ । दोस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १८५ छ भने तेस्रो स्थानमा रहेको भारतको नयाँ दिल्लीको वायु गुणस्तर १७५ मापन गरिएको छ ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।

वातावरणविद् भूषण तुलाधर वायु प्रदूषणलाई हेल्चक्य्राइँका रुपमा लिए मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताउँछन् । ‘तत्काल असर भनेको घाँटी दुख्ने, आँखा पीरो हुने हो । तर, दीर्घकालीन रुपमा यसले धेरै असर देखाउन सक्छ’, उनी भन्छन् ।

त्यसवाहेक वायु प्रदुषणले जनस्वास्थ्यसँगै हाम्रो समग्र अर्थतन्त्र र जीवनशैलीमै पनि असर गर्ने तुलाधरले बताए । ‘पर्यटनमा आधारित हाम्रो अर्थतन्त्र हो । यस्तो देशमा प्रदूषणले सोझै असर गर्ने पर्यटनलाई नै हो । यसले पनि हाम्रो उत्पादनमा असर गर्न पुग्छ’, उनले भने ।

आज सबैभन्दा प्रदूषित सहर पोखरा, २४ घन्टामा भरतपुर धेरै

वातावरण विभागको तथ्यांकअनुसार शुक्रबार सबैभन्दा बढी प्रदूषित सहर पोखरा बनेको छ । विभागले पछिल्लो पटक अध्यावधिक गरेको तथ्यांकअनुसार पोखराको १९३ एक्युआई वायु गुणस्तर मापन भएको छ ।

आज प्रदूषित सहरमा पोखरा पछि काठमाडौं दोस्रो स्थानमा छ । वातावरण विभागका अनुसार शुक्रबार काठमाडौंको शंखपार्कमा भएको वायु गुणस्तर मापन केन्द्रले १८३ एक्युआई मापन गरेको छ । पछिल्लो २४ घन्टामा पहिलो स्थानमा रहेको भरतपुतर चितवन आज भने १५९ एक्युआईसहित तेस्रो स्थानमा छ ।

विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार पछिल्लो समय देशैभरि आगलागी र डढेलोका घटना बढेकाले वातावरण प्रदूषण पनि बढेको हो । ‘अहिलेको विपत्तिले मान्छेको श्वासप्रश्वासमा प्रत्यक्ष असर पु¥याउने भएकाले यसमा पनि ध्यान दिनुपर्ने देखिन्छ’, उनले भने ।

यद्यपि, वातावरण विभागका अनुसार पछिल्लो २४ घन्टामा चितवनको भरतपुर सबैभन्दा प्रदूषित सहर बनेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले गरेको मापनअनुसार देशभरमै चितवन सबैभन्दा प्रदूषित सहर बनेको हो ।

विभागका अनुसार भरतपुरले १८८ एक्युआइमापन गरिएको छ । पछिल्लो २४ घन्टामा दोस्रो प्रदूषित वायु काठमाडौंको मापन भएको छ । काठमाडौंको १८३ एक्युआई हुँदा तेस्रो स्थानमा पोखरा छ । पोखरामा पछिल्लो २४ घन्टामा १७५ एक्युआई वायु गुणस्तर मापन भएको छ ।

काठमाडौं आसपास देखिएको वायु प्रदूषणको नालीबेली – Online Khabar

पुराना सवारी साधन, कलकारखाना कारण हुने वायु प्रदूषण भए पनि अहिले भइरहेको प्रदूषणको मुख्य कारण आगलागी र डढेलो नै रहेको वातावरणविद् भूषण तुलाधरको भनाइ छ ।

‘कम पानी पर्ने भएकाले अन्य समयभन्दा योबेला प्रदूषण बढ्नु स्वभाविक हो । तर, अहिलेको प्रदूषणको मुख्य कारण देशैभरि भइरहेको आगलागी र डढेलो नै हो’, तुलाधर भन्छन्, ‘यसका लागि बेलैमा आगलागीका घटना नियन्त्रण गर्न सकियो भने प्रदूषण पनि धेरै हदसम्म कम गर्न सकिन्छ ।’

आगलागीजन्य घटना न्यूनीकरण गर्न अग्निरेखा, सुख्खा पातपतिंगरलाई बेलैमा व्यवस्थापन गर्न सकिने तुलाधरको सुझाव छ । उनले भने, ‘सुख्खा पातपतिंगरलाई वैकल्पिक रुपमा भए पनि व्यवस्थापन गर्न सकियो भने यो घटनाहरुलाई कमी ल्याएर वातावरण जोगाउन सकिन्छ ।’

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार फागुनयतामात्रै आगलागीजन्य १ हजार ९८४ वटा घटना घटेका छन् । केन्द्रका अनुसार पछिल्लो एकहप्तामात्रै देशभर २ सय ७ वटा डढेलोका घटना भए भने विभिन्न ठाउँमा २६३ वटा आगलागीका घटना भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?