+
+
सहकारी संकट-३४ :

कल्याण उपकार सहकारी प्रकरण : बचतकर्ताको रकम घरजग्गामा लगानी, १ अर्बभन्दा बढी अपचलन

१३ जना फरार

नारायण अधिकारी नारायण अधिकारी
२०८१ वैशाख २४ गते १८:४५

२४ वैशाख, काठमाडौं । ललितपुरको कल्याण उपकार वचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको एक अर्ब रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

५ वैशाखमा सहकारीको अध्यक्ष लिलाबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, ललितपुरले पहिलो चरणको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा पठाउने तयारी गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार अहिलेसम्म २८३ जना वचतकर्ताबाट ११० वटा जाहेरी परेको छ । ती जाहेरीहरुमा गरी कुल ५५ करोड १० लाख ७६ हजार ७८१ रुपैयाँ बचत फिर्ता नपाएको दाबी गरिएको छ ।

जाहेरी आउने क्रम जारी रहेकाले पूरक जाहेरी लिएर अनुसन्धान गरी पूरक अभियोग लैजाने प्रहरीको तयारी छ । अहिलेसम्मको अनुसन्धान र जाहेरी आउने क्रमलाई आधार मान्दा एक अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको प्रहरीको निष्कर्ष छ ।

लिलाबहादुर गुरुङ हाम्रो नयाँ कृषि सहकारीको रकम अपचलनमा पनि मुछिएका थिए । २ करोड ६० लाख रुपैयाँ अपचलन भएको पाइएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले हाम्रो नयाँ कृषिका उपाध्यक्ष गुरुङ सहितका व्यक्तिलाई पक्राउ गरेको थियो । बचकर्ताको रकम फिर्ता गरेपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने निर्णय गर्‍यो र लिलाबहादुर पनि छुटे ।

लगत्तै प्रहरीले गुरुङलाई पक्राउ गर्‍यो । गुरुङ कल्याण उपकार सहकारीका अध्यक्ष समेत हुन् । यो सहकारीको वचत अपचलनको विषयमा अनुसन्धान गर्न भन्दै सहकारी विभागले प्रहरी परिसर ललितपुरलाई २१ मंसिर २०८० मै पत्राचार गरेको थियो । त्यसअनुसार ७ जनाविरुद्ध पक्राउ पूर्जी पनि जारी भएको थियो ।

तर अध्यक्ष गुरुङलाई पक्राउ गरेपछि सहकारीमा भएको अनियमिताबारे अनुसन्धान सुरु भयो ।

१३ जना फरार

यो सहकारीमा भएको अनियमितता प्रकरणमा सुरुमा ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ घर भएका कल्याण सहकारीका अध्यक्ष गुरुङसहित काठमाडौं महानगरपालिका–१८ का रोशनमान वैद्य, काठमाडौं–९ का रामकृष्ण जयखु श्रेष्ठ, काठमाडौं–१६ का मोहनकृष्ण गुरुङ, ललितपुर–२० की चण्डिका श्रेष्ठ जोशी, ओखलढुङ्गा रुम्जाटारकी मुंङ्गा गुरुङ र काठमाडौं–१५ की सरिता महर्जनविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

उनीहरु सबै सहकारीको सञ्चालक समितिमा थिए । सहकारीका अध्यक्ष गुरुङलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा थप सात जनाको संलग्नता खुलेपछि सोमबार मात्रै सात जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको एसपी सुवेदीले बताए ।

उनीहरुको नाम भने प्रहरीले गोप्य राखेको छ । यसअघि पक्राउ पूर्जी जारी भएका ६ र अहिले पक्राउ पूर्जी जारी भएका ७ गरी १३ जना अहिलेसम्म फरार छन् ।

बचतकर्ताको रकम घर–जग्गामा लगानी

प्रहरी अनुसन्धानका क्रममा सहकारीले बचतकर्ताको रकम घरजग्गामा लगानी गरेको खुलेको छ ।

सञ्चालक समितिबाट निर्णय गरेर नै काठमाडौं र ललितपुरका साथै उपत्यका बाहिरका जिल्लामा सहकारीको नाममा घरजग्गा खरिद गरेको देखिएको छ ।

उपत्यका बाहिर सिन्धुली, काभ्रे चितवनदेखि झापा लगायतका स्थानमा ८१ करोड रुपैयाँ भन्दा बढी मूल्यको जग्गा किनबेच गरेको भेटिएको एक अनुसन्धान अधिकारीले बताए ।

पछिल्लो समय सहकारीमा कारोबार ठप्प हुँदा सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न नसक्ने अवस्था आएको देखाएको देखिन्छ । प्रहरी हिरासतमा रहेका अध्यक्ष गुरुङले पनि आफूले व्यक्तिगत रुपमा सहकारीको रकम अपचलन नगरेको दाबी गरेका छन् ।

यो सहकारीमा जीबी राईको संलग्नता भने अहिलेसम्म नजोडिएको एक अनुसन्धान अधिकृतले बताए । ४ भदौ २०७९ मा कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, खुसिंबुस्थित लालीगुँरास बचत तथा ऋण सहकारी र जावलाखेलस्थित कल्याण उपकार सहकारी मर्जर गर्ने र जीबी राई अध्यक्ष बन्ने सहमति भएको थियो । तर सहमति अनुसार मर्जर हुन बाँकी थियो ।

सहकारी संकट
लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?