 
																						२५ वैशाख, काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रसुवाको नौकुण्ठ गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेविरुद्ध सरकारी वकिलले मुद्दा नचलाउने निर्णय गरेको छ ।
घलेको संलग्नता पुष्टि हुने आधारहरू नदेखिएपछि मुद्दा नचलाउने निर्णय जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘यहाँबाट लेखेर उच्च सरकारी वकिलको कार्यालयमा पठाएका छौं, अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयबाट हुनेछ ।’
उच्च सरकारी वकिलको कार्यालयले अहिले घलेको मिसिल अध्ययन गरिरहेको छ । घलेलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले २८ चैैतमा पक्राउ गरेको थियो । ब्यूरोका प्रमुख एसएसपी ओमबहादुर रानाका अनुसार, घलेसहितका व्यक्तिहरूले कुवेतमा पठाइदिने भनेर नेपाली महिलालाई श्रीलंकाको कोलम्बोमा पुर्याएर बन्धक बनाएका थिए ।
‘२०७३ साउन महिनामा नेपालबाट हिंडेका पीडितहरू फर्किएपछि तत्कालीन महानगरीय अपराध महाशाखामा जाहेरी परेको थियो’, रानाले भने, ‘मानव बेचबिखनको आरोपमा फरार रहेकाहरूलाई खोजी गर्ने क्रममा गाउँपालिका अध्यक्ष घले पनि पक्राउ परेका थिए ।’
ब्यूरोका एसपी गौतम मिश्रका अनुसार, अनुसन्धानपछि प्रहरीले घले र शाहको संलग्नता पुष्टि हुने भन्दै मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको कसुरमा मुद्दा चलाउन राय लेखेर पठाएको थियो ।
तर पीडित भनिएकी महिलाले ३ वैशाखमा हुलाकमार्फत दिएको निवेदनका आधारमा घलेविरुद्ध सरकारी वकिलले मुद्दा नचलाउने निर्णय लिएको पाइएको छ ।
पीडितले दिएको निवेदनमा ९ वर्षअघि वैदेशिक रोजगारीमा रहेकी दिदीले कुवेतमा बोलाएपछि परिवारको सल्लाहमा त्यहाँ गएको तर, कारणवश बाटोबाटै फर्किनु परेको उल्लेख छ ।
‘त्यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माइती नेपालबाट आएका व्यक्तिहरूले संस्थामा हिंड्नुस् भनेर ५/६ दिन राख्नु भएको थियो र त्यहाँबाट तयार गरेको कागजपत्रमा सही, छाप गर्न लगाउनुभएको थियो’, निवेदनमा उनले भनेकी छन्, ‘मलाई पढ्न नआउने भएकाले के कस्तो कागजमा सही गर्न लगाउनु भएको हो भने सोध्दा तपाईंले सही, छाप नगरे अरू थप एक महिना बस्नुपर्छ भनेकाले मैले कागज पत्र नसुनाइ नै सही, छाप गरेर निस्किएर घर गएको थिएँ ।’
त्यसको तीन महिनामा आफ्नो दिदीले सबै प्रक्रिया पूरा गरेर आफू वैदेशिक रोजगारीका लागि कुवेत गएर तीन वर्ष काम गरेको उनले भनेकी छन् । नेपाल फर्किएर फेरि कुवेत नै गएर करिब ६ वर्ष काम गरेको उनले निवेदनमा जिकिर गरेकी छन् । एक वर्षअघि विवाह गरेर आफ्नो बच्चा समेत रहेको उनले भनेकी छन् ।
त्यसक्रममा २७ चैतमा मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलबाट फोन गरेर आफूलाई बोलाएकोमा बुझ्न जाँदा मात्र जाहेरीबारे थाहा पाएको निवेदनमा दाबी गरिएको छ ।
तर प्रहरीमा उनले ९ वर्षअघि दिएको जाहेरीमा भने हाल गाउँपालिका अध्यक्ष रहेका घलेले कुवेतमा प्रतिव्यक्ति मासिक ८० कुवेती दिराम दिने गरी प्रलोभन देखाएको उल्लेख छ ।
‘तलब प्रतिव्यक्ति नेपाली २८ हजार रुपैयाँ हुन्छ भनेर प्रलोभन देखाएकाले नुर्बुकै सल्लाहमा काठमाडौं आएर एक महिना बसेका थियौं, त्यसक्रममा सबै खर्च नोर्बुले हालेर पासपोर्ट तयार भएपछि गाउँमा गएर बसेका थियौं’, त्यसबेला दर्ता जाहेरीमा भनिएको छ, ‘३१ असार २०७३ मा नोर्बुले फोन गरेर तपाईंहरूको भिसा आयो तरुन्तै काठमाडौं आउनु भनेर बोलाएकाले १ साउनमा काठमाडौं आएर नोर्बुकै कपनस्थित कोठामा बसेका थियौं ।’
त्यसक्रममा दिल्लीमा भिसा आइसक्यो भनेर बिहान ८ बजेतिर ट्याक्सी बोलाएर स्वयम्भूसम्म पठाइदिनु भनेर सविन शाहलाई भनेको जाहेरीमा उल्लेख छ ।
‘स्वयम्भूमा पुर्याएर दिल्ली जाने बसमा चढाइदिनु भनेर सबिन शाहलाई फोन गरेपछि नोर्बुले एक हजार रुपैयाँ समेत दिएका थिए’, जाहेरीमा भनिएको छ, ‘दिल्ली बसपार्कमा पुगेपछि सविनले लिन पठाएको ट्याक्सीमा चढेर महिपालपुरमा भाडामा लिएको घरमा विदेश जान भनेर बसेका अरू १६/१७ जना महिला पनि थिए ।’
त्यतिबेला सविन भिसा प्रक्रिया पूरा गर्न र केटीहरूलाई लैजान त्यसघरमा आइरहने गरेको भनिएको छ ।
‘१० दिनपछि सविनले नै श्रीलंका जानुपर्छ, त्यहाँ एक दिन बस्ने भएकाले वेटिङ जस्तै हो भनेको थियो’, जाहेरीमा भनिएको छ, ‘एयरपोर्टमा सोधे १० दिनको लागि भिजिट भिसामा कोलोम्बोमा बुद्धको दर्शन गर्न जान लागेको, होटलको नाम हिलटप्स डिलक्स भन्नु भनेर सिकाएका थिए ।’
त्यसअनुसार कोलोम्बो पुगेपछि बाबा भनेर चिनाउने श्रीलंकन नागरिक अलिले भ्यानमा राखेर साढे २ घन्टाको दूरिमा रहेको अज्ञान स्थानमा लगेको जाहेरीमा उल्लेख थियो ।
‘त्यहाँ धेरै जना महिलाहरू देखेपछि म छक्कै परेँ र आफू फसेको थाहा पाएँ’, जाहेरीमा भनिएको छ, ‘त्यहाँ हामीलाई राम्ररी खान नदिने, चिसो भुइँ (सेफ्टी ट्यांकीको माथि) सुत्न दिने र केही बोले यो तेरो नेपाल हैन, तैंले भनेको चल्दैन भनेर कुटपिट गर्ने र कोठामै थनेर राखिएको थियो ।’
करिब डेढ महिनासम्म भिसा आउँछ भनेर झुक्याएर राखिएको उनले भनेकी थिइन् । त्यहिबेला आफूसँगै गएकीमध्ये एक महिलाले भोकै बसेर आत्महत्या गर्छु भन्न थालेपछि उनलाई नेपाल फर्काउन तयार भएको जाहेरीमा भनिएको छ । त्यसपछि परिवारलाई समेत सम्पर्क गरेर आफूहरूको अवस्था बिजोक रहेको भन्दै फर्काउन सहयोगको याचना गरेको जाहेरीमा भनिएको छ ।
ती महिला नेपाल फर्किएपछि आफूले एजेन्ट सविनलाई फोन गरेर नेपाल फिर्ता पठाइदिनुभन्दा नेपालस्थित आफन्तलाई आफ्नो एक लाख रुपैयाँ फिर्ता दिन लगाए मात्र नेपाल फर्काउन सक्ने भनेर फोन राखेको जाहेरीमा उल्लेख छ । ती महिला नेपाल फर्किएपछि अन्य महिलाको अवस्थाबारे पनि समाचारहरू आएपछि पहिले बसेको ठाउँबाट निकै टाढा सारेको जाहेरीमा भनिएको छ ।
‘श्रीलंकन नागरिक अलीले हामीलाई लुकाउने छिपाउने काम गरेपछि १७ जनाले नै एकै स्वरमा पासपोर्ट चाहिंदैन, सबै भागेर प्रहरीमा जान्छौं भनेका थियौं’, उनले भनेकी थिइन्, ‘त्यसपछि भिसा आयो भन्दै एयरपोर्टमा पुर्याएर टिकट र पासपोर्ट हातमा दिएको थियो, त्यसपछि बैंकक हुँदै काठमाडौं आएका थियौं ।’
नेपाल ल्याएपछि माइती नेपालको सहयोगमा उनले प्रहरी कहाँ जाहेरी दिएकी थिइन् । तर, उनले आफू फेरि कुवेत गएको र बन्धक बनाएको भन्ने कुरा झुठो भएको भन्ने निवेदन दिएपछि आफूहरूले त्यसबारे अध्ययन गरेको काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता चन्द्रप्रसाद सञ्जेल बताउँछन् ।
‘निवेदन करकाप र प्रभावमा दिएको हो कि भन्ने हिसाबले पीडितलाई नै बोलाएर अनुसन्धान अधिकृत समेतको उपस्थितिमा बयान लिएका थियौं, त्यसबेला पनि उहाँले बन्धक नबनाएको बताउनुभयो’, उनले भने, ‘त्यसमाथि जाहेरवालाको आमाले पनि श्रीलंकामा बन्धक बनाएको थाहा नभएको भनेर कागज गर्नुभएको छ ।’
आमाले बयान कागजमा घले आफ्नो गाउँको छिमेकी भएको समेत खुलाएकी छन् । यसपछि तत्काललाई पर्याप्त आधार प्रमाणहरू नदेखिएकाले मुद्दा नचलाउने निर्णय गरिएको सञ्जेल बताउँछन् । तर अधिकृतहरू भने पीडितलाई प्रभावमा ‘होस्टायल’ बनाइएको आशंका गर्छन् ।
प्रहरी प्रतिवेदनमा उल्लेखित माइती नेपालकी तत्कालीन वार्डेन अरूषा सुवेदीको बयानमा उदयपुरकी एक महिला काठमाडौं आउन सफल भएपछि अन्यलाई पनि उद्दारका लागि पहल गरिदिन भनिएको उल्लेख छ । त्यसपछि जाहेरवालासहित अन्य १७ जना पीडित २२ साउन २०७३ मा उद्दार भएर आएको उनले भनेकी छन् ।
‘त्यसबेला उनले मेरै सामुन्ने मलाई प्रतिवादीहरूले कुवेत पठाउने भनेर श्रीलंका पुर्याएर बन्धक बनाएर राखेको भनेर खुलाएकी थिइन्’, सुवेदीले भनेकी छन् । आरोपी गाउँपालिका अध्यक्ष घले नेपाली कांग्रेसका नेता समेत हुन् ।
उनलाई सरकारी वकिलको निर्णयमा प्रहरीले गएको शुक्रबार आवश्यक परेको बेला उपस्थित हुने गरी हाजिर जमानतमा छाडिसकेको छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4