+
+

‘मदन भण्डारी’को नाममा अस्कलमा तालाबन्दी

नुनुता राई नुनुता राई
२०८१ वैशाख २८ गते २०:३४

२८ वैशाख, काठमाडौं । लैनचौरस्थित अमृत साइन्स क्याम्पस (अस्कल) प्रशासनमा अहिले ताला झुण्डिएको छ । ताला लगाउन पुगेको छ- जननेता मदन भण्डारीको स्मृतिमा स्थापित मदन भण्डारी स्पोर्टस् एकेडेमी ।

ताला लगाउने बेला छाडिएको विज्ञप्तिको प्राथमिकतामा कुनै खेलकुदसँग सम्बन्धित मागहरू छैनन् । एकेडेमी अस्कल एकाइका उपाध्यक्ष प्रकाश बयकको नाममा निकालिएको विज्ञप्तिमा भनिएको छ– ‘क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको, गुण्डाहरू प्रयोग गर्दै होस्टलको झ्याल फुटाएको, विद्यार्थीहरूमाथि झुठा मुद्दा लगाएकाले ताला लगाउन बाध्य भएका छौं ।’

२६ गतेको मिति राखेर २५ गते साँझ नै टाँसिएको विज्ञप्तिमा क्याम्पस प्रमुखले आर्थिक अपचलन गरेको आरोप लगाउँदै ताला लगाउन बाध्य भएको उल्लेख गरिएको छ ।

‘खेलकुदको साझा मञ्च’ भन्दै स्थापना गरिएको र एकजना दिवंगत नेताको स्मृतिमा खोलिएको संस्था क्याम्पसमा कसरी ताला लगाउन पुग्यो ? रहस्य उदेकलाग्दो छ ।

गत चैत १८ गते क्याम्पसमा नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल र माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भयो । झडपमा परी अखिल क्रान्तिकारीका अस्कल इकाइ कमिटी अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा घाइते भए ।

कुटपिटमा संलग्न अनेरास्ववियु अस्कल इकाइका अध्यक्ष पंकज पाण्डे र सदस्य गणेश शाही पक्राउ परे । उनीहरू दुवै क्याम्पसकै होस्टलमा बस्दै आएका थिए । साँझ क्याम्पस परिसरमा भलिबल खेल्ने क्रममा सुरु भएको विवाद भिडन्तमा बदलिएको थियो ।

अखिल क्रान्तिकारीले ६ जनाविरुद्ध उजुरी दिए पनि प्रहरी वृत्त सोह्रखुट्टेले भने दुईजना मात्र पक्राउ गर्‍यो । मुद्दा दर्ता नगरेर अध्यक्ष पाण्डेलाई प्रहरीले भोलिपल्टै छाडिदियो भने शाही लगायत अरु केही विरुद्ध मुद्दा दर्ता भयो ।

प्रहरी अनुसन्धानको क्रममा के खुल्यो भने शाही त विद्यार्थी नै रहेनछन् । प्रहरीको पुछताछमा क्याम्पसले गणेश शाही आफ्नो विद्यार्थी नभएको प्रष्टीकरण पठायो । उनलाई छुटाउन अनेरास्ववियुले शाहीको भर्ना गर्न क्याम्पसमा दबाब दियो ।

प्रहरी हिरासतमा रहेकालाई भर्ना लिन नमिल्ने अडान क्याम्पस प्रशासनले लिएपछि २५ चैतमा अनेरास्ववियुले क्याम्पस प्रमुखको राजीनामा माग गर्दै प्रशासनमा ताला लगायो । पक्राउ परेको २४ दिनपछि छुटेका शाहीलाई भर्ना गर्न क्याम्पस प्रशासनले अभिभावकको उपस्थितिलाई शर्त बनायो । निरन्तर प्रशासनिक काम ठप्प भएपछि क्याम्पस प्रमुख लोकबहादुर बरालले सहजीकरण गर्दै सहायक क्याम्पस प्रमुख होम बानियाँलाई एक हप्ताको लागि निमित्तको जिम्मेवारी दिएपछि १६ वैशाखमा अनेरास्ववियुले ताला खोल्यो ।

ताला खुलेपछि ‘अब यस्तो कार्य गरे निष्काशित हुन मन्जुर छु’ भन्ने कबुलियतनामा गरेर शाहीको भर्ना लिइएको सहायक क्याम्पस प्रमुख बानियाँ बताउँछन् ।

राजनीतिक स्वार्थको क्रीडास्थल

 २४ वर्षदेखि क्याम्पसमा कार्यरत एक कर्मचारी पछिल्लो ७ वर्ष यता विद्यार्थी संगठनहरू बढी नै अराजक हुँदै गइरहेको बताउँछन् । ‘अस्कलमा अनेरास्ववियूको पकड छ तर भागबन्डामा माओवादी निकटका प्राध्यापकले क्याम्पस प्रमुखको जिम्मेवारी पाएपछि यो अवस्था आयो,’ ती कर्मचारी भन्छन्, ‘आपसमा जुझ्ने, स्वार्थ पूरा भएन भने खुलेआम क्याम्पस प्रमुख तथा शिक्षकहरूलाई धम्क्याउँछन् ।’

क्याम्पसमा आफूअनुकूल वातावरण नभएपछि चैत २६ गते अनेरास्ववियुले क्याम्पसमा ताला लगायो । तर, यसअघि ताला नलगाउने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेको अनेरास्ववियुको चौतर्फी आलोचना भयो ।

वैशाख २६ गते क्याम्पस प्रशासनले काठमाडौं जिल्ला प्रशासनको अनुमति लिएर ताला फुटाए लगत्तै एकेडेमीले ताला लगायो । ‘अराजक विद्यार्थी संगठनहरूका कारण समग्र क्याम्पस धरासायी बन्दै गइरहेको छ’ उनी भन्छन्, ‘अहिले अखिल क्रान्तिकारीसँग भिड्न निहुँ नभेटेपछि प्रमुखलाई देखाएर सबैलाई दुःख दिइएको छ ।’

एकेडेमीका क्याम्पस उपाध्यक्ष प्रकाश बयक क्याम्पस प्रमुखले राजीनामा नदिएसम्म ताला नखुल्ने बताउँछन् ।

‘नियमित क्याम्पस नआउने, हामीले माग गरे अनुसार छात्रावास तथा लाइब्रेरीको मर्मतसम्भार नगर्ने, विद्यार्थीलाई आवश्यक कम्प्युटर लगायत सुविधा नदिने र क्याम्पसको रकम पनि हिनामिना गरेको देखिन्छ’ उनी भन्छन्, ‘त्यसैले अब क्याम्पस प्रमुखको राजीनामा नभएसम्म हामी ताला खोल्दैनौं ।’

बयककै लयमा तर्क गर्छन् अनेरास्ववियुका क्याम्पस इकाई अध्यक्ष पंकज पाण्डे । ‘क्याम्पस प्रमुखबाट क्याम्पस तथा विद्यार्थीको हितमा भन्दा हाम्रा साथीहरूलाई झुटा मुद्दा लगाउने, बाहिरका मान्छे ल्याएर धम्काउने काम भइरहेको छ । त्यसैले हाम्रो माग उहाँको राजीनामा नै हो,’ उनी भन्छन् ।

नेविसंघका इकाई अध्यक्ष प्रकाश अर्याल क्याम्पस प्रमुखलाई असफल बनाउने अनेरास्ववियुको रणनीति र सफल बनाउने क्रान्तिकारीको प्रयासले क्याम्पसको वातावरण बिग्रिएको तर्क गर्छन् । ‘भागबन्डाको अन्त्य नभएसम्म यो समस्या समाधान हुँदैन’ उनी भन्छन्, ‘एक पार्टीको क्याम्पस प्रमुख हुँदा अर्को पार्टीको संगठनले अवरोध गर्ने चलिरहन्छ ।’

 बढ्दै द्वन्द्व

विद्यार्थीले आरोप लगाए जस्तो क्याम्पस प्रमुखले आर्थिक अनियमितता नगरेको सहायक क्याम्पस प्रमुख गोपाल न्यौपानेको दाबी छ । उनी भन्छन् ‘क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको भन्ने आरोप मात्रै हो, खासमा यो उहाँहरूबीचको द्वन्द्व हो ।’

अर्का सहायक क्याम्पस प्रमुख होम बानियाँको बुझाइ पनि उस्तै छ। बानियाँ अनेरास्ववियु र क्रान्तिकारीबीचको झडपबाट अहिलेको अवस्था आएको बताउँछन् । ‘अनेरास्ववियु र क्याम्पस प्रमुखको द्वन्द्व बढ्दै जाँदा समग्र क्याम्पसमा समस्या बढिरहेको छ। ‘

क्याम्पस प्रमुख लोकबहादुर बराल विद्यार्थी संगठनहरूले काम गर्नै नदिएर बारम्बार दुःख दिइरहेको गुनासो गर्छन् । ‘काम नै गर्न नदिएर दुःख दिइरहेका छन् ।

उनीहरूको स्वार्थ अनुसार काम भएन भने ताला लगाइहाल्छन्’ उनी प्रश्न गर्छन्, ‘अहिले फेरि पनि मेरो राजीनामा माग गर्दै ताला लगाएका छन् । उनीहरूले भन्दैमा म कसरी राजीनामा दिन्छु ?’

न ताला लगाउने विद्यार्थी क्याम्पस प्रमुखसँग वार्तामा बस्न तयार छन् न क्याम्पस प्रमुख वार्ताको पहल गरिरहेका छन् ।

सहायक क्याम्पस प्रमुख, स्ववियु तथा प्राध्यापक संघले त्रिवि पदाधिकारीलाई भेटेर समस्या राखेर समाधानको लागि सहजीकरण गर्न अनुरोध गरेका छन् । सहायक क्याम्पस प्रमुख बानियाँले क्याम्पसबाटै समाधान सम्भव नहुने देखिएपछि पदाधिकारीसामु अनुरोध गरेको बताउँछन् ।

क्याम्पसमा पटक पटक तालाबन्दी भइरहेकोले अहिलेको ताला खोल्न र दीर्घकालीन निकास दिनको लागि अनुरोध गरेको प्राध्यापक संघका अध्यक्ष डा.जयप्रकाश हमालले बताए । ‘हामीले यहाँबाट समन्वय गर्ने प्रयास गर्‍यौं तर सम्भव नभएपछि पदाधिकारीलाई अनुरोध गरेका छौं ।’

मर्कामा विद्यार्थी

 समस्या बढिरहेको छ, प्रशासनिक काम बिथोलिइरहेको छ । बीएस्सी दोस्रो वर्ष अध्ययनरत दर्शन केसी क्याम्पसमा विद्यार्थी संगठनहरूले अराजकता फैलाइरहेको बताउँछन् ।

‘विद्यार्थी संगठनको नाममा यिनीहरूले क्याम्पसमा अराजकता फैलाउने बाहेक केही गरेका छैनन्’ उनी भन्छन्, ‘नपढ्ने, होस्टलमा आफ्ना संगठनका कार्यकर्तालाई मात्र राख्न खोज्ने, प्राध्यापक तथा कर्मचारीलाई खुलेआम धम्काउने गर्छन्, यस्ता संगठनहरू खारेज हुनुपर्छ ।’

विद्यार्थी नेताहरूले प्राध्यापक तथा कर्मचारीलाई आफूले भने जस्तो भएन भने कुट्ने, मोसो दल्ने भन्दै खुलेआम धम्काउने गरेको उनी बताउँछन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?