+
+

अर्थतन्त्र सुधारको तयार भयो ‘ग्राउन्ड’, सुरु भएन खेल

आयात र निर्यात व्यापारमा लगातार देखिएको संकुचन, निजी क्षेत्रमा बढ्न नसकेको माग, सरकारी वित्तको कमजोर प्रदर्शनलगायतले अर्थतन्त्रमा शितिलता कायमै रहेको संकेत गर्छ ।

विजय पराजुली विजय पराजुली
२०८१ वैशाख ३० गते २०:३७

३० वैशाख, काठमाडौं । कोभिडपछि निरन्तर सुस्त रहेको अर्थतन्त्र सुधारको आधार (ग्राउन्ड) तयार भए पनि आर्थिक गतिविधि भने अझै पनि तयार हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको आर्थिक सूचकका अनुसार अर्थतन्त्रका आधारभूत सूचकहरू सुदृढ देखिएका छन् । तर, अर्थतन्त्र विस्तारलाई इंगित गर्ने सूचकहरू अझै पनि कमजोर नै रहेकाले यो अवस्थालाई अर्थतन्त्र चलायमान हुन नसकेको वा खेल अझै पनि सुरु हुन नसकेको अर्थमा बुझ्न सकिन्छ ।

आयात र निर्यात व्यापारमा लगातार देखिएको संकुचन, निजी क्षेत्रमा बढ्न नसकेको माग, सरकारी वित्तको कमजोर प्रदर्शनलगायतले अर्थतन्त्रमा शितिलता कायमै रहेको संकेत गर्छ ।

बैंक तथा वित्तीय संस्थाबाट जाने समस्त कर्जा सुस्त हुँदा व्यवसायिक कर्जाको हिस्सासमेत घट्दै गएको देखाउँछ । ‘२०८० चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ,‘ राष्ट्र बैंकले भनेको छ, ‘गत आवको सोही अवधिमा गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३५.९ प्रतिशत रहेको थियो ।’

राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ पनि सञ्चालित व्यवसायहरू अधिक कर्जाको चापमा रहेको र नयाँ व्यवसायी आउन नसक्दा घरजग्गा र व्यक्तिगत कर्जा बढेको बताउँछन् ।

व्यवसायिक र आर्थिक गतिविधिको लागि आधार तयार भए पनि निजी क्षेत्रबाट माग आउन नसक्नुको कारण खोज्नुपर्ने उनले बताए । ‘मुद्रास्फीति, विदेशी विनियम सञ्चिति, बाह्य क्षेत्र र मौद्रिक तथा बैंकिङ क्षेत्रले आर्थिक गतिविधि विस्तारको प्रशस्त आधार दिएको छ,’ राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख श्रेष्ठले भने, ‘कर्जाको मागमा सुधार भएको छैन । सप्लाईमा सुधार भएर सुविधाजनक अवस्थामा पुगिसकेको छ । मागमा सुधारको लागि ध्यान दिनुपर्ने र त्यसमा काम गर्नुपर्ने अवस्था छ ।’

रेमिट्यान्सलाई सहयोग गर्नेगरी सेवा र पर्यटन आय पनि उल्लेख्य रुपमा बढेको अवस्थामा अर्थतन्त्र विस्तारको वातावरण सकारात्मक वातावरण बन्दै गएको उनले बताए । निक्षेपको ब्याजदर निरन्तर घटेको छ । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोत ५ खर्ब भन्दा माथि रहेको छ ।

मूल्य नियन्त्रणले दिलाएको राहत

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फीतिलाई ६.५ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको थियो । चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.६१ प्रतिशतमा झरेको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको औसत मुद्रास्फीति नै ५.९२ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । चैतसम्म बढ्दो क्रममा देखिएको इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेसँग नेपालमा पनि घट्दै जाने अपेक्षा गर्न सकिन्छ । यस्तोमा अगामी दिनमा मुद्रास्फीति अझै घट्दै जानसक्ने अवस्था छ ।

विदेशी विनियम सञ्चिति र चालु खाता बचत सुदृढ

गत वर्ष नै २ खर्ब ९० अर्बले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवको ९ महिनामा ३ खर्ब ६५ अर्ब बचतमा छ । यस्तै विदेशी विनियम सञ्चिति १४ अर्ब ३६ करोड अमेरीकी डलर पुगेको छ अर्थात् नेपाली रुपैयाँमा १९ खर्ब नाघेको छ । यसले १२.५ महिनाको वस्तु तथा सेवा र १५ महिनाको वस्तु आयात धान्नसक्ने अवस्था छ ।

घट्दो ब्याजदर, बढेन कर्जा

२०७९ फागुनमा वाणिज्य बैंकहरुको कर्जामा भारित औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुगेको थियो । तर, २०८० चैतमा आउँदा घटेर १०.५५ प्रतिशतमा झरेको छ । कोषको लागत घट्दै गएको छ भने अधिक तरलताको दबाबमा बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् ।

कर्जाको माग भने बढ्न सकेको छैन । गत आवमा साढे ४ प्रतिशतमा सीमित भएको निजी क्षेत्रको कर्जा चालु आवको तेस्रो त्रैमाससम्म करिब ५ प्रतिशत मात्रै पुगेको छ । राष्ट्र बैंकले ११.५ प्रतिशत कर्जा विस्तार हुने अनुमान गरेको थियो ।

ब्याजदर घट्ने क्रमले एउटा बिन्दुमा पुगेर पुनः निक्षेपको वृद्धिमा नै करेक्सन आउने अवस्था देखिन लागेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. श्रेष्ठ बताउँछन् । वार्षिक बिन्दुगत निक्षेपको वृद्धिदर १४ प्रतिशत पुगेकोमा चैतमा घटेर १२.५ प्रतिशतमा आएको उनले बताए ।

‘कम ब्याजदर र अधिक तरलता हुँदा सर्वसाधरणको बचत उपभोग्य र विलासिताका वस्तु खरिदमा जाने जोखिम हुनसक्छ । त्यस्तो जोखिम देखिन लागेको छ,’ उनले भने । न्यून लागतको स्रोतलाई उपयोग गर्न निजी क्षेत्र अगाडि आउनुपर्ने उनले बताए ।

‘रियल इस्टेटमा लगानी फसेको र सहकारीको समस्याले पनि निजी क्षेत्रलाई ट्र्यापमा पारेको छ,’ उनले भने, ‘सहकारीको समस्या र अर्थतन्त्रमा देखिएको समस्या अन्तरसम्बन्धित जस्तो देखिज्छ । सहकारी समाधान नहुँदासम्म पनि अर्थतन्त्रमा सुधार नहुने हो कि जस्तो देखिन्छ ।’

निजी क्षेत्रमा मागको कमीले आयात घटेको छ । गत आवमा १६ प्रतिशतले घटेको आयात चालु आवको चैतसम्म पनि गत आवको भन्दा २.८ प्रतिशतले कम छ । यस्तै निर्यातमा समेत लगातार दोस्रो वर्ष पनि अघिल्लो वर्षको तुलनामा संकुचित हुने अवस्था छ । गत वर्ष २४.४ प्रतिशतले घटेको निर्यात चालु आवको चैतसम्म ३.७ प्रतिशतले घटेको छ । आयात घट्दा सरकारको राजस्वमा समेत दबाब छ ।

रेमिट्यान्ससँगै सेवा क्षेत्रले जगाएको आशा

वैदेशिक अध्ययन र भ्रमणमा जाने नेपाली गर्ने खर्च उच्च दरमा बढ्दा पनि सेवा खाता घाटा गत वर्षको तुलनामा घटेको छ । सूचना प्रविधिको निर्यातसँगै पर्यटक आवागमनले पनि सेवा क्षेत्रमा आशा जगाएको छ ।

गत आर्थिक वर्षका ९ महिनामा खुद सेवा आय ६३ अर्ब ९१ करोडले घाटामा रहेकोमा चालु आर्थिक वर्षमा घटेर ५२ अर्ब २३ करोडमा पुगेको राष्ट्र बैंकले जनाएको छ । सेवा खाताअन्तर्गत भ्रमण आय ४० प्रतिशतले वृद्धि भएर ६० अर्ब ४५ करोड पुगेको छ ।

लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?