 
																			१ जेठ, काठमाडौं । ६ वैशाखमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्तीबाट हतियारसहित पक्राउ परेका मिमसिंह लामा निर्माण व्यवसायी रहेको खुलेको छ ।
काभ्रेको रोशी गाउँपालिका–५ स्थायी घर भएका ३८ वर्षीय लामालाई प्रहरी वृत्त बौद्धको टोलीले पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।
नयाँबस्तीस्थित पहेँलो पुलबाट गौरीघाटतर्फ जाँदै गरेको बा १८ च ८३६१ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारको अगाडितर्फको ड्यासबोर्डमा हतियार भेटिएको थियो ।
खैरो झोलाभित्र पेस्तोल र गोली राखेको भेटिएपछि लामालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा उनी निर्माण व्यवसायी रहेको खुलेको छ । ठेक्कापट्टाका क्रममा धम्क्याउनका लागि लामाले पेस्तोल बोकेर हिँड्ने गरेको खुलेको एक अनुसन्धान अधिकृतले बताएका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका बेला उनी पोखरा जाँदै थिए । ठेक्का तथा क्रसर उद्योग सञ्चालनको विषयमा पोखरामा एउटा विवादको घटनामा उनी जान लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
लामाले आफू विगत ९ वर्षदेखि निर्माण व्यवसायमा संलग्न रहेको बताएका छन् । पोखराको तालचोकदेखि बेगानाससम्मको करिब ३ किलोमिटर सडक कालोपत्रे र दुईवटा पुल निर्माणको ठेक्का दुई वर्षअघि स्वच्छन्द सपना वल्र्डवाइड जेभीले पाएको छ । लामाले एक वर्षयता उक्त ठेक्कामा काम गर्दै आएका थिए ।
निर्माण व्यवसायमा संलग्न रहेकाले लामाले आफैंले पोखरामा क्रसर उद्योग खोल्ने तयारी गरेका थिए ।
पोखरा महानगरपालिका वडा नं २९ मा क्रसर उद्योग सञ्चालन गर्ने प्रस्ताव महानगरपालिकाको कार्यपालिका बैठकमा समेत पेश भएको थियो ।
तर वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले कुनै पनि हालतमा क्रसर खोल्न नदिने अडान राखेका थिए । यो विवाद चलिरहेको समयमा लामा कारमा हतियार लिएर पोखरा जान लागेको खुलेको हो ।
पोखरा जाने क्रममा उनी काठमाडौंमै पक्राउ परेका हुन् । ‘क्रसर सञ्चालन गर्न नदिने अडान राखेपछि पेस्तोल लिएर पोखरा जान लाग्नुले हतियार देखाएर धम्क्याउने लामाको रणनीति देखिन्छ’, एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।
पक्राउ परेका लामाले आफू त्यस दिन पोखरा जान लागेको स्वीकार समेत गरेका छन् । हतियारसहित पक्राउ परेका लामाले भने आत्मरक्षाका लागि पेस्तोल राखेको दाबी गरेका छन् ।
निर्माण व्यवसायमा लाग्दा गुुण्डागर्दी हुने, काममा अवरोध गर्ने, कमिसन बुझाउनुपर्ने र नदिए धम्की समेत आउने गरेकाले पेस्तोल बोकेर हिँड्ने गरेको उनको दाबी छ ।
‘राम्रो ढंगले काम गर्दा विभिन्न किसिमका अवरोधहरु आउने, गुण्डागर्दी शैलीका कारण वाधा सिर्जना हुने भएकाले तर्साउनका लागि भए पनि पेस्तोल बोक्नुपर्ने रहेछ भन्ने सोचेर पेस्तोल बोक्न थालेका हो’, लामाले बयानमा भनेका छन् ।
पोखरामा क्रसर उद्योग खोल्न असफल भएपछि तनहुँको शुक्लागण्डकीमा रहेको धनबहादुर छन्त्यालको नाममा दर्ता भएको एसएनएल क्रसर उद्योगमा उनले लगानी गरेको पाइएको प्रहरीको भनाइ छ ।
क्रसरमा मेसिन जडान लगायत विभिन्न काममा ८० लाख रुपैयाँ खर्च भइसकेको दाबी लामाको छ । त्यति हुँदा समेत विभिन्न अवरोधका कारण क्रसर सञ्चालन गर्न नसकेकाले धम्क्याउनका लागि उनले पेस्तोल बोकेर हिँडेको देखिएको ती अनुसन्धान अधिकृतले उल्लेख गरे ।
८० हजारमा पेस्तोल खरिद
बरामद पेस्तोल भारतबाट ल्याएको खुलेको छ । आफ्नै कन्स्ट्रक्सनमा काम गर्ने एक जना भारतीय ज्यामीलाई लामाले हतियार ल्याउन लगाएको प्रहरीले बताएको छ ।
चितवनको भण्डारामा पनि लामाले सडक कालोपत्रेको काम गरेका थिए । त्यहाँ काम गर्ने भारतीय ज्यामीमार्फत लाामाले पेस्तोल खरिद गरेको भेटिएको हो । सुरुमा भारतीय ज्यामीले पेस्तोल ल्याउन नमाने पनि लामाले आग्रह गरेपछि ल्याएको देखिएको प्रहरी स्रोतको भनाइ छ ।
पेस्तोल र ४ राउण्ड गोली ल्याइदिएपछि ८० हजार रुपैयाँ दिएको समेत लामाले स्वीकार एक अनुसन्धान अधिकृतले बताएका छन् ।
उक्त पेस्तोल ७.५६ मिमी क्यालिबरको अटोमेटिक रहेको प्रहरीको फरेन्सिक जाँचबाट खुलेको छ ।
५ वर्षको कैद माग्दै मुद्दा दर्ता
प्रहरी वृत्त बौद्धबाट २५ दिन लामो अनुसन्धान सकेर लामाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हातहतियार तथा खरखजानाको कसुरमा मुद्दा दर्ता गरिएको छ ।
मुलुकी अपराध संहिताको दफा १३२ को उपदफा १ बमोजिमको कसुर गरेको आरोप लामाविरुद्ध लगाइएको छ ।
१३२ को उपदफा १ मा बिना इजाजत हातहतियार राख्न, बोक्न, प्रयोग गर्न, भण्डारण गर्न नहुने उल्लेख छ । यदि कसैले यस्तो कसुर गरेमा ५ वर्षसम्म कैद र २५ हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
अपराध संहिताको सोही व्यवस्था अनुसार ५ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवानाको माग दाबी गर्दै मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए ।
त्यसैगरी संहिताको दफा १३५ मा हातहतियार बोक्न तथा ओसार्न प्रयोग भएको सवारी साधन समेत जफत हुने उल्लेख छ । तर सवारी साधन धनीलाई हाहतियार ढुवानी भएको थाहा नभएमा सवारी साधन जफत नहुने उल्लेख गरिएको छ ।
हतियार राखेर लामाले चलाएको कार वर्ल्डवाइड कन्सट्रक्सन कम्पनीका सञ्चालक रामशरण बुढाथोकीको रहेको खुलेको छ । १ वर्ष पहिलेदेखि नै लामाले चलाउन दिएको तर हातहतियार राखेकोबारे आफूलाई कुनै जानकारी नभएको बताएपछि कार जफतको मागदाबी गरिएको छैन ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामलाल घिमिरेको इजलासमा लामाको बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहसपछि धरौटी तथा साधारण तारेखमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश आउने छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4