+
+

जब बलात्कार मुद्दाका थुनुवा अभद्र व्यवहारमा धरौटी बुझाएर छुटे…

नारायण अधिकारी नारायण अधिकारी
२०८१ जेठ ७ गते १३:५५

७ जेठ, काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका एक आरोपी अभद्र व्यवहारको कसुरमा धरौटी बुझाएर रिहा भएको खुलेको छ ।

जिल्ला अदालत काठमाडौंको आदेशमा २४ फागुन २०८० मा पुर्पक्षका लागि केन्द्रीय कारागार चलान भएका रसुवाको कालिका गाउँपालिका–५ का ३५ वर्षका सूर्यबहादुर तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ४ हजार रुपैयाँ धरौटी बुझाएर ९ वैशाखमा छुटेका प्रहरी स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका २२ वर्षीय सविन तामाङले प्रशासन कार्यालयमा तिर्नुपर्ने धरौटी तिरेर सूर्यबहादुर रिहा भएका हुन् ।

तामाङलाई प्रहरी वृत्त बालाजुले १४ फागुनमा पक्राउ गरेको थियो र उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहारको कसुरमा ४ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर ४ हजार रुपैयाँ धरौटी बुझाउन नसकेपछि सविन केन्द्रीय कारागार सुन्धारा चलान भएका थिए ।

कारागारमै सविन र सूर्यबहादुरको चिनजान भएको थियो । सविनले आफू अभद्र व्यवहारमा ४ हजार धरौटी तिर्न नसकेर जेल बस्न आएको बताएका थिए ।

त्यसपछि सविनलाई प्रलोभनमा पारेर सूर्यबहादुरले उनले तिर्नुपर्ने धरौटी रकम बुझाएर रिहा भएको पाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए ।

सूर्यबहादुरले आफू छुटेपछि सविनलाई पनि छुटाउने आश्वासन दिएका थिए । कारागारमा खाना, खाजा खुवाउने, बेलाबेलामा पैसा समेत दिएर विश्वासमा पारेका थिए ।

सविन तामाङलाई कारागारमा रहँदा कोही पनि भेट गर्न नआएको गुरुङले थाहा पाएका थिए । त्यसैले आफूलाई भेट गर्न आउने आफन्तलाई सूर्यबहादुरले सविन तामाङको नाम लिएर आउन लगाएको पनि प्रहरी स्रोत बताउँछ ।

यसरी कारागारका सुरक्षाकर्मीलाई पनि सूर्यबहादुरले आफू नै सविन भएको विश्वास दिलाएका थिए । त्यसपछि ९ वैशाखमा सविन तामाङको नाम लिएर उनी जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाउन गएका थिए ।

सूर्यबहादुर छुटेको करिब ३ घण्टापछि उनको नाममा अदालतबाट पत्र आएको थियो । त्यसपछि प्रहरीले खोजतलास गर्दा सूर्यबहादुर कारागारमा नभेटिएपछि उनी सविन तामाङको नाममा छुटेको खुलेको थियो ।

‘अर्कैको नाममा छुटेको २४ घण्टा नबित्दै कारागारकै प्रहरी टोली समेतको सहयोगमा उनलाई पक्राउ गर्‍यौं, त्यसपछि छानबिन गर्दा प्रहरीको कतै पनि शंकास्पद भूमिका देखिएन’, एआईजी थापाले भने ।

सूर्यबहादुरलाई प्रहरीले १० वैशाखको राति पौने १२ बजे टोखा नगरपालिका–८ बानियाँटारबाट पक्राउ गरेको थियो ।

केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटवालले झुक्याएर भागेको कैदी पक्राउ परिसकेकाले यो ठूलो विषय नरहेको बताए । ‘यसमा त्यस्तो केही छैन । झुक्याएर भाग्न खोजेको हो । मान्छे उतिखेरै पक्राउ परिसकेको छ । अहिले हिरासतमै छ’, उनले भने ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सूर्यबहादुरले त्यस आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उच्च अदालतले २५ वैशाखमा उनलाई दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।

तर प्रहरी कैदी भागे/भगाएको अर्को कसुरमा उनलाई प्रहरी वृत्त जनसेवाको हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रहरीले अनुसन्धान सकेपछि सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कैदी भागे/भगाएको कसुरमा सूर्यबहादुर र सविनविरुद्ध अर्को मुद्दा चलाएको छ ।

सूर्यबहादुरलाई मुख्य अभियुक्त र सविनलाई भगाउन सहयोग गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । कारागार ऐन २०७९ को दफा ४९ अनुसार कारागारबाट भागेमा ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना र दुबै सजाय हुन सक्नेछ । त्यस्तै भगाउन सहयोग गर्नेलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद शर्मा नेपालको इजलासमा उनीहरु दुबै जनाको सोमबार नै बयान भइरहेको छ । बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि धरौटी तथा साधारण तारखेमा रिहा गर्ने वा पुर्पक्षका लागि कारागार पठाउने आदेश आउने छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?