+
+

कृषिका भरमा प्रदेश अर्थतन्त्र

राष्ट्रिय तथ्यांक कार्यालयले तयार पारेको प्रदेश लेखा तथ्यांक अनुसार बागमती प्रदेशबाहेक सबैमा कृषि क्षेत्रको योगदान सबैभन्दा माथि देखिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ जेठ ९ गते २०:१६

९ जेठ, काठमाडौं । नेपालका ७ प्रदेशमध्ये ६ को अर्थतन्त्र कृषिमा अधिक निर्भर रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रदेश लेखा तथ्यांक अनुसार बागमती प्रदेशबाहेक सबैमा कृषि क्षेत्रको योगदान सबैभन्दा माथि देखिएको छ ।

बागमती प्रदेशको अर्थतन्त्रमा भने थोक तथा खुद्रा व्यापार क्षेत्रको योगदान सबैभन्दा बढी देखिन्छ । त्यसो त केन्द्रीय कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत कृषिकै हिस्सा अधिक देखिन्छ ।

औद्योगिक वर्गीकरण अनुसार आर्थिक क्रियाकलाप हेर्दा गत आव र यस आवमा सोही प्रवृत्ति देखिएको कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मी बताउँछन् ।

औद्योगिक वर्गीकरण अनुसार आर्थिक क्रियाकलापको वृद्धिदर हेर्दा राष्ट्रिय स्तरमा आवास तथा भोजन सेवाको सबैभन्दा धेरै वृद्धि हुने अनुमान कार्यालयले गरेको थियो ।

प्रदेश लेखा तथ्यांक अनुसार लुम्बिनी प्रदेशबाहेक अन्य सबै प्रदेशको सबैभन्दा धेरै वृद्धिदर यही क्षेत्रको देखिन्छ । लुम्बिनी प्रदेशमा भने विद्युत् क्षेत्रको वृद्धिदर सबैभन्दा धेरै देखिएको छ ।

यस वर्ष राष्ट्रिय जीडीपीमा निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक देखिएकोमा प्रदेश स्तरमा समेत सबै प्रदेशमा निर्माण क्षेत्र ऋणात्मक देखिएको छ । उत्पादनमूलक क्षेत्रको वृद्धिदर समेत कर्णाली प्रदेश बाहेक सबैमा ऋणात्मक देखिएको कार्यालयले जनाएको छ ।

कोशीमा कृषिको वृद्धिदर ३३ प्रतिशत

कोशी प्रदेशको अर्थतन्त्रको आकार ९ खर्ब ३ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । यस प्रदेशको आर्थिक वृद्धिदर ३.५१ प्रतिशत रहने अनुमान कार्यालयको छ ।

यस प्रदेशको जीडीपीमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा धेरै ३२.८० प्रतिशत र प्रशासनिक सेवा क्षेत्रको सबैभन्दा कम ०.३२ प्रतिशत रहने देखिएको छ ।

यस प्रदेशमा क्षेत्रगत वृद्धिदर हेर्दा सबैभन्दा धेरै आवास तथा भोजन सेवा क्षेत्रको २२.३२ प्रतिशत र सबैभन्दा कम माइनस २.६७ प्रतिशत उत्पादनमूलक क्षेत्रको देखिएको छ ।

मधेशको अर्थतन्त्रमा कृषिको योगदान झन्डै आधा

मधेश प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान झन्डै आधा देखिन्छ । चालु आवमा यो प्रदेशको अर्थतन्त्रको आकार ७ खर्ब ४८ अर्ब रहने अनुमान छ । आर्थिक वृद्धिदर ३.७८ प्रतिशत हुने अनुमान कार्यालयले गरेको छ ।

यस प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान ३५.१९ प्रतिशत रहने देखिन्छ । सबैभन्दा न्यून योगदान खानी तथा उत्खननको ०.१५ प्रतिशत छ । क्षेत्रगत रूपमा सबैभन्दा धेरै आवास तथा भोजन सेवा क्षेत्रको वृद्धिदर २१.९५ प्रतिशत र सबैभन्दा कम निर्माण क्षेत्रको माइनस २.१९ प्रतिशत छ ।

बागमतीमा थोक तथा खुद्रा व्यापार हिस्सा धेरै

नेपालको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा ओगट्ने बागमती प्रदेशको अर्थतन्त्रको आकार २० खर्ब ७५ अर्ब रुपैयाँ बराबरको छ । चालु आव यो प्रदेशको आर्थिक वृद्धिदर ३.९६ प्रतिशत हुनेछ ।

यो प्रदेशको अर्थतन्त्रमा सबैभन्दा धेरै थोक तथा खुद्रा व्यापारको रहेको छ । जसको हिस्सा २१.५३ प्रतिशत देखिन्छ । सबैभन्दा कम पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको ०.२८ प्रतिशत छ ।

वृद्धिदरका हिसाबले आवास तथा भोजन क्षेत्र सबैभन्दा धेरै २०.९३ प्रतिशतले विस्तार हुने भएको छ । सबैभन्दा कम निर्माण क्षेत्रको माइनस २.७१ प्रतिशतको विस्तार हुने देखिएको छ ।

गण्डकीमा कृषिको हिस्सा अग्रस्थानमा

गण्डकी प्रदेशको अर्थतन्त्रको आकार ५ खर्ब १७ अर्ब छ । यो प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ४.५५ प्रतिशत छ । यो प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको सबैभन्दा धेरै २५.७२ प्रतिशत हिस्सा छ ।

सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको छ । जसको हिस्सा ०.३१ प्रतिशतमात्र छ । वृद्धिदरका हिसाबले सबैभन्दा धेरै आवास तथा भोजन सेवा क्षेत्रको २२.८४ प्रतिशत र सबैभन्दा कम निर्माण क्षेत्रको माइनस १.९६ प्रतिशत रहने देखिएको छ ।

लुम्बिनीका विद्युत् क्षेत्रको वृद्धिदर धेरै

लुम्बिनी प्रदेशको अर्थतन्त्रको आकार ८ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । चालु आवमा यस प्रदेशको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत रहने भएको छ । यो प्रदेशले नेपालको जीडीपीमा १४.२६ प्रतिशत योगदान गर्छ ।

लुम्बिनीको अर्थतन्त्रमा सबैभन्दा धेरै हिस्सा कृषिको २९.६३ प्रतिशत छ । सबैभन्दा कम प्रशासनिक सहयोगी सेवा क्षेत्रको ०.३४ प्रतिशतमात्र छ । वृद्धिदरका हिसाबले सबैभन्दा धेरै विद्युत् क्षेत्रको २८.९३ प्रतिशत र सबैभन्दा कम माइनस १.३४ प्रतिशत उत्पादनमूलक क्षेत्रको वृद्धिदर रहेको छ ।

अर्थतन्त्रमा सबैभन्दा सानो प्रदेश कर्णाली

प्रदेशगत रूपमा हेर्दा कर्णाली प्रदेशले नेपालको अर्थतन्त्रमा सबैभन्दा कम हिस्सा ओगटेको छ । कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ४४ अर्ब बराबर पुगेको छ । यस वर्ष यो प्रदेशको आर्थिक वृद्धिदर ४.२८ प्रतिशत रहने भएको छ । यो प्रदेशले जीडीपीमा ४.२८ प्रतिशत योगदान गर्छ ।

कर्णाली प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको सबैभन्दा धेरै २९.५१ प्रतिशत योगदान छ । सबैभन्दा कम ०.१७ प्रतिशत प्रशासनिक सहयोगी क्षेत्रको छ । वृद्धिदर हेर्दा सबैभन्दा धेरै आवास तथा भोजन सेवाको २२.५२ प्रतिशत र सबैभन्दा कम माइनस १.०२ प्रतिशत छ ।

सुदूरपश्चिममा उत्पादनमूलक क्षेत्र ऋणात्मक

सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको आकार ४ खर्ब ४ अर्ब बराबर पुगेको छ । यो प्रदेशले नेपालको अर्थतन्त्रमा ७.०९ प्रतिशत योगदान गर्छ । यस प्रदेशको आर्थिक वृद्धिदर ३.४१ प्रतिशत हुने भएको छ ।

यो प्रदेशको अर्थतन्त्रमा कृषिको योगदान सबैभन्दा धेरै ३२.४५ प्रतिशत छ । सबैभन्दा कम प्रशासनिक सहयोगी क्षेत्रको ०.१२ प्रतिशत छ । वृद्धिदरका हिसाबले यस वर्ष सबैभन्दा धेरै आवास तथा भोजन सेवाको २२.३३ प्रतिशत छ । सबैभन्दा कम वृद्धिदर उत्पादनमूलक क्षेत्रको माइनस १.८२ प्रतिशत छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?