+
+

महानगरभित्र जडित सजावटका रङ्‍गीचङ्‍गी बत्ती हटाउन कार्यदलको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १९:०४

२५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्टुरेन्ट, क्लबजस्ता व्यावसायिक स्थानमा जडित रङ्‍गीचङ्‍गी बत्ती हटाउन कार्यदलले सुझाव दिएको छ ।

‘सहरी वन र सडक छेउ खम्बामा बेरिएका बत्तीको असर अध्ययन गर्न गठित कार्यदल’ ले महानगरलाई यस्तो सुझाव दिएको हो ।

सहरी योजना आयोगका सदस्य सरस्वती मानन्धर संयोजकत्वमा गठन भएको अध्ययन कार्यदलले शुक्रबार उपप्रमुख सुनिता डंगोललाई बोझाएको प्रतिवेदनमा ती विषय समावेश छन् ।

२५ वैशाखमा बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले जनस्वास्थ्य, वातावरण र सहरी व्यवस्थापनमा नकारात्मक असर पारेको विषय उठान भएपछि अध्ययन गर्न समिति गठन गर्ने निर्णय भएको थियो ।

मानन्धर संयोजक रहेको कार्यदलमा उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका प्रमुख नवराज थापा, महानगरपालिकाका ट्राफिक विज्ञ जगतमान श्रेष्ठ, सार्वजनिक निर्माण विभागका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेल, वातावरण इन्जिनियर निशा कोइराला सहभागी छन् ।

कार्यदलले अध्ययनका क्रममा नेपाल आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. इन्दुप्रसाद ढुङ्गेल, त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका जीवशास्त्री सहप्राध्यापक डा. हरिप्रसाद शर्मा र हिमालय नेचरका चराचुरुङ्गीविज्ञ सन्देश गुरुङ्सहितको टोलीमा सहभागी गराएको थियो ।

प्रतिवेदन बुझिसकेपछि उपप्रमुख डंगोलले सहरमा झिलीमिली बत्ती राख्ने विषयमा निर्णय गर्न र थप वैज्ञानिक अध्ययन गर्न आधार तयार भएको प्रतिक्रिया दिइन् । उनले प्रतिवेदनको थप अध्ययन गरेर निर्णय लिने बताए ।

अध्ययन समितिलाई सजावटका लागि रुख, विरुवासहितका संरचनामा बेरिएका बत्तीको गुणस्तर र प्रकृति, सवारी आवागमनमा यस्ता बत्तीले पार्ने असर, मानव दृष्टि (आँखा) मा असर, चराचुरुङ्गी र पर्यावरणमा पर्ने असर, धार्मिक तथा सांस्कृतिक मूल्य मान्यताको अध्ययन विश्लेषण गर्ने कार्य क्षेत्र दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?