२७ जेठ, काठमाडौं । नेपालमा खुद्रा व्यापारको ‘साम्राज्य’ खडा गरेको भाटभटेनी सुपर मार्केटले पहिलो पटक आतिथ्य सत्कार उद्योगमा बृहत लगानी गर्ने भएको छ ।
भाटभटेनीले काठमाडौं दरबारमार्गस्थित बन्द अवस्थामा रहेको पाँचतारे होटल डेल अन्नपूर्णमा अर्बौं लगानी गरेर नयाँ होटल निर्माण गर्न लागेको हो ।
यसका लागि २ अर्ब ७० करोड रुपैयाँ लगानीमा डेल अन्नपूर्णको ३० प्रतिशत सेयर खरिद गरिएको भाटभटेनीको संस्थापक तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले जानकारी दिए ।
‘हामी पहिलो पटक आतिथ्य सत्कार उद्योगमा बृहत लगानी गर्दै छौं,’ गुरुङले अनलाइनखबरसँग भने, ‘त्यसका लागि डेल अन्नपूर्णको ३० प्रतिशत स्वामित्व खरिद गरेका छौं । आगामी दुई वर्षभित्र त्यहाँ नयाँ पाँचतारे होटल स्थापना गर्ने गरी काम अगाडि बढेको छ ।’
गुरुङका अनुसार अर्का व्यवसायी उमेश श्रेष्ठसँगको सहकार्यमा होटल निर्माण गर्न लागिएको हो । ३५ वर्षका लागि जग्गा ‘लिज’ (भाडा) मा लिइएको छ । निर्माण अवधि पाँच वर्षको हुनेछ । वार्षिक ५ करोड रुपैयाँ भाडा तोकिएको छ भने पाँच वर्षपछि वार्षिक १७ करोड भाडा तिर्नुपर्ने र प्रत्येक दुई वर्षमा ५ प्रतिशतका दरले बढ्दै जाने सम्झौता भएको छ ।
डेल अन्नपूर्णको कुल ४२ रोपनी जग्गा र अन्य संरचनाको मूल्यांकन ९ अर्ब रुपैयाँ हाराहारी भएपछि त्यसको ३० प्रतिशत आफूहरूले खरिद गरेको गुरुङले बताए ।
‘सुरुमा भाडामा लिएर ३५ वर्ष चलाउने प्रस्ताव आयो, तर मैले ३५ वर्षपछि सबै छाड्नुपर्ने हुन्छ, बरु सेयर लगानी गर्ने प्रस्ताव गरेँ । डेल अन्नपूर्णका सञ्चालकहरूबाट सकारात्मक कुरा आयो,’ गुरुङले भने, ‘अन्नपूर्णको कुल मूल्यांकन ९ अर्ब हाराहारी गरियो र त्यसको ३० प्रतिशत हामीलाई सेयर बेच्ने प्रस्ताव आयो । अनि हाम्रो भागमा आएको २ अर्ब ७० करोड रुपैयाँ दुई वर्षभित्र किस्तामा तिर्ने सहमति भयो ।’
सहमति अनुसार अन्नपूर्णका सञ्चालकहरूलाई पहिलो किस्ताको ७५ करोड रुपैयाँ भुक्तानी गरिसकिएको उनले बताए ।

अब भाटभटेनीले दरबारमार्गमा रहेको डेल अन्नपूर्णको ४२ रोपनी जग्गा भाडामा लिएर होटल, डिपार्टमेन्टल स्टोर लगायत निर्माण गर्ने छ ।
डेल अन्नपूर्णका प्रमुख सेयरधनी कपिलसमशेर राणा, उनकी श्रीमती सृजना राणाासँग अब ५५ प्रतिशत सेयर रहेको छ । नयाँ होटल बनाउन थप ८ अर्ब रुपैयाँ हाराहारी लगानी गर्ने योजना रहेको गुरुङले जानकारी दिए ।
त्यसका लागि नयाँ कम्पनी खडा गरिएको छ, जसमा भाटभटेनीको ६० प्रतिशत, उमेश श्रेष्ठको २५ प्रतिशत र डेल अन्नपूर्णको १५ प्रतिशत सेयर रहेको छ ।
गुरुङका अनुसार होटलमै १ लाख वर्गफिट क्षेत्रफलको भाटभटेनी सुपर स्टोर सञ्चालन गरिने छ ।
‘खुद्रा व्यापारबाट ठूलो होटलमा लगानी गर्न लागेका छौं । सानो होइन, अब ठूलो खालको होटल बनाउनुपर्छ भन्ने हो,’ गुरुङले थपे, ‘हामीले लगानी गरेपछि ४ सय कोठाको होटल बनाउँछौं । मेरो प्रस्ताव त ५ सय कोठाको बनाउने भन्ने थियो ।’
व्यापार ‘भोलुम’ मा गर्ने तर ‘मार्जिन’ कम खाने भाटभटेनीको सफलताको सूत्र रहेको उनले बताए । त्यसकारण ‘रिजनेबल प्राइस’ मा स्वदेशी तथा विदेशी पर्यटकलाई कोठा उपलब्ध गराउने गरी अन्नपूर्णमा नयाँ पाँचतारे होटल निर्माण गर्न लागिएको उनको भनाइ छ ।
‘नेपालमा महँगो भएर पनि पर्यटक कम आएका हुन् । त्यही भएर रिजनेबल प्राइसमा पाँचतारे होटलमा कोठा उपलब्ध गराइने छ,’ उनले भने, ‘होटल क्षेत्र मेरो लागि विल्कुलै नयाँ हो । दुई वर्षभित्र होटल स्थापना हुने भएपछि २ हजारदेखि २५ सयले प्रत्यक्ष रोजगारी पाउनेछन् । यो मानेमा म खुसी छु ।’
गुरुङका अनुसार डेल अन्नपूर्णको पुरानो संरचना सबै भत्काएर ‘ग्राउन्ड जिरो’ बनाइने छ । त्यसपछि दुई तला बेसमेन्ट पार्किङ बनाइने छ । होटल भने २६ तलाको निर्माण हुनेछ ।
भारतीय पर्यटकलाई बढी लक्षित गरिने छ । त्यसमा बन्ने ४ सय कोठाले एकैपटक ठूलो संख्यामा पर्यटकलाई सेवा दिन सक्छ । अहिले नेपालमा ४ सय कोठा भएका एउटै होटल कतै पनि छैन ।
‘म सन् २००४ मा स्विट्जरल्यान्ड गएको थिएँ । त्यहाँ एउटै होटलमा ५/७ सय पर्यटकलाई राखिएको थियो । त्यही देखेर मलाई त्यही बेला लागेको थियो, नेपालमा पनि किन यस्तो होटल बनेनन् ?,’ गुरुङले भने, ‘दुई दशकअघि देखेको सपनालाई अब विपनामा परिणत गर्न अगाडि बढेको छु ।’
उनका अनुसार नेपालमा जलविद्युत् र पर्यटनमा सबैभन्दा ठूलो सम्भावना छ । भाटभटेनीले जलविद्युत्मा केही लगानी गरेको छ भने अब पर्यटनमा प्रवेश गरेको हो । अहिले बैंकहरू पनि भाटभटेनीका लागि लगानी गर्न खुसीसाथ आइरहेका छन् ।
गरुङका अनुसार भारतमा २५ करोडभन्दा बढी जनसंख्या मध्यमवर्गका छन् । तिनलाई नेपाल ल्याउन सके नेपालको अर्थतन्त्रमा कायापलट हुनेछ ।
नयाँ होटल निर्माण गर्न कुल ८ अर्ब लगानी गर्ने योजना भाटभटेनीको छ । डेल अन्नपूर्णको ४२ रोपनी जग्गामा ५० प्रतिशत खुला छाडिने र २१ रोपनीमा भवन सहित बगैंचा, बाटो लगायत बाँकी जग्गामा बन्ने उनले बताए ।
पछिल्लो पटक मुलुकको पर्यटन क्षेत्रमा अर्बौं लगानीमा ठूला होटल निर्माण भइरहेका छन् भने दर्जन जति सञ्चालनमा आइसकेका छन् ।
‘म प्रतिस्पर्धालाई एकदमै सहज र सकारात्मक रूपमा लिन्छु । होटल क्षेत्रमा पनि प्रतिस्पर्धालाई म सहज लिन्छु । व्यापारको आफ्नै मोडेल हुन्छ । मेरो मोडेल भनेको मास मार्केटिङ हो । पाँचतारे नै होटल तर मासमा बेच्ने हो । महँगो बनाउने नै होइन,’ गुरुङले भने, ‘हामीले आफ्नो सोचमा परिवर्तन गर्नैपर्छ । होटल र पर्यटन व्यवसाय भनेको दीर्घकालीन हो भनेर सोच्नुपर्छ । नेपालमा होटल महँगो भएकै कारण पर्यटक धेरै नआएको मेरो बुझाइ छ ।’
उनका अनुसार नयाँ बन्ने होटलको नाम ‘अन्नपूर्ण’ नै हुने वा अन्य भन्नेबारे अन्तिम निर्णय भइसकेको छैन । अन्तर्राष्ट्रिय चेन पनि ल्याउन सकिन्छ । होटल व्यवस्थापनको जिम्मा विदेशी कम्पनीलाई नै दिने योजना चाहिँ छ ।
‘डेल अन्नपूर्णको लगानी सफल भयो भने भविष्यमा अन्य पर्यटन गन्तव्यमा पनि लगानी विस्तार गर्ने सोच छ,’ उनले भने, ‘हामीसँग २ हजार निर्माण सम्बद्ध कामदार आबद्ध छन् । इन्जिनियर, सर्भेयर, अपरेटर, सुपरभाइजर, कार्पेन्टरलगायत जनशक्ति छ । उनीहरू एक दशकदेखि हाम्रा परियोजना निर्माणमा काम गरिरहेका छन् । होटल निर्माणमा उनीहरू सबैले काम पाउनेछन् ।’

होटल डेल अन्नपूर्ण कोरोना महामारी सुरु भएपछि सन् २०१९ मा बन्द गरिएको थियो । ठूलो परिमाणको ऋण भएका कारण अन्नपूर्णका सञ्चालक राणाले ऋण चुक्ता गर्न होटलको जग्गा बिक्री गर्न खोजे पनि सफल भएका थिएनन् । पछिल्लोपटक भाटभटेनीसँग साझेदारी गरेर पुनः होटल सञ्चालन गर्न राणा अगाडि बढेका हुन् ।
सन् १९८४ मा काठमाडौं टंगालस्थित भाटभटेनी मन्दिर छेउमा खोटाङका गुरुङले ३५ हजार रुपैयाँ लगानीमा १ सय २० वर्गफिट क्षेत्रफलको भाडाको कोठाबाट ‘भाटभटेनी सुपर मार्केट’ स्थापना गरेका थिए ।
हाल भाटभटेनीका दुई दर्जनभन्दा बढी शाखा सञ्चालनमा छन् । तीमध्ये काठमाडौं उपत्यकामा १३ तथा बाँकी विभिन्न प्रमुख सहरमा छन् ।

काठमाडौं उपत्यकामा टंगाल, महाराजगञ्ज, टोखा, कोटेश्वर, चुच्चेपाटी, अनामनगर, बालाजु, कलंकी, त्रिपुरेश्वर, कृष्णगल्ली, सातदोबाटो, सानागाउँ र थिमिमा भाटभटेनीका शाखा सञ्चालनमा छन् ।
त्यस्तै काठमाडौं बाहिर पोखरा, धरान, इटहरी, विराटनगर, जनकपुर, हेटौंडा, वीरगञ्ज, धनगढी, नेपालगञ्ज, बुटवल, भैरहवा र बिर्तामोडमा चलिरहेका छन् ।
नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन भाटभटेनीमा हाल ४ हजार ५ सयभन्दा बढीले पूर्णकालीन प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यसको वार्षिक आम्दानी ३२ अर्ब रुपैयाँभन्दा बढी छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4