+

विश्वकप छनोट : यमनसँग सुखद नतिजा निकाल्ने नेपालको लक्ष्य

२०८१ जेठ  २९ गते ८:३२ २०८१ जेठ २९ गते ८:३२
विश्वकप छनोट : यमनसँग सुखद नतिजा निकाल्ने नेपालको लक्ष्य

२९ जेठ, काठमाडौं । फिफा विश्वकप छनोट-२०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटको दोस्रो चरणमा नेपालले आज यमनसँग अन्तिम खेल खेल्दैछ ।

समूह एचमा रहेको नेपालले यसअघिका पाँच वटै खेलमा पराजित भएकोले आजको खेल नेपालको लागि प्रतिष्ठाको लागि महत्वपूर्ण हुनेछ ।

यमनको घरेलु मैदानमा हुनुपर्ने यस खेल न्युट्रल भेन्यु साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद फहद स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ११:४५ मा सुरु हुनेछ ।

नेपालले यसअघि समूह चरणमा खेलेको पाँचै खेलमा गोल गर्न पनि सकेको छैन ।

नेपाल र यमन समानस्तरको भएपनि यसअघि नेपाल घरेलु मैदानमा खेल्दा २-० ले पराजित भएको थियो । केही दिनअघि साउदीमै भएको यूएईविरुद्धको खेलमा नेपाल ४-० ले पराजित भएको थियो ।

समूहको पहिलो खेलमा पनि नेपाल अवे मैदानमा यूएईसँग ४-० ले पराजित भएको थियो । त्यसपछि घरेलु मैदानमा यमनसँग पराजित भयो । बहराइनविरुद्ध होम एण्ड अवे दुवै खेल बहराइनमा खेलेको नेपाल क्रमश: ५-० र ३- ०ले पराजित भएको थियो ।

पाँच खेलमा कुल १८ गोल खाएको नेपालले अहिलेसम्म गोल गर्न सकेको छैन । त्यसैले यमनविरुद्ध खेल्दा नेपालको लक्ष्य गोल गर्ने र अंक जोड्नेमा हुनेछ । समूहको अन्तिम खेलमा सुखद नतिजाका ल्याउने लक्ष्यमा नेपाल छ ।

किरणले नतिजा नआउँदा सबैलाई दु:ख लाग्ने गरेपनि नेपालको फुटबलको स्थिति र वास्तविकतालाई हेर्नुपर्ने बताए । ‘रिजल्ट नआउँदा समर्थकहरू सबैलाई नराम्रो लाग्छ । तर रियालिस्टिकमल्ली हामी कहाँ छौं र कुन परिस्थितिमा छौं भनेर हेर्नुपर्छ,’ किरणले भने, ‘हामीले पहिलो चरणमा लाओसलाई जितेर आएका हौं । अब यूएई अर्कै लेभलको छ । उनीहरू प्रोफेसनल खेलाडी धेरै छन् । अब हाम्रो टिममा रोहित र म मात्रै हो । मनिष भाइ कहिलेकाँही बाहिर खेल्छ । प्रोफेसनल खेलेको खेलाडी भयो भने छुट्टै खालको हुन्छ ।’

इटालियन प्रशिक्षक एनेसको लागि पनि यमनविरुद्धको खेल अन्तिम बन्न सक्छ । अखिल नेपाल फुटबल संघ एन्फासँग हालको सम्झौता अनुसार उनको कार्यकाल यही जेठ अन्तिममा सकिंदैछ

यमन नेपालकै स्तरको टोली भएपनि उसले पछिल्लो खेलमा बहराइनसँग पछिल्लो खेल गोलरहित बराबरी खेलेको थियो ।

यस समूहबाट पाँचै खेल जितेको यूएई १५ अंकसहित शीर्ष स्थानमा छ र विश्वकप छनोटको तेस्रो चरण र एसियन कप २०२७ मा छनोट भइसकेको छ ।

यस्तै तीन जित एक बराबरी र एक हाराको नतिजासहित १० अंक जोडेर दोस्रो स्थानमा रहेको बहराइन पनि तेस्रो चरण र एसियन कपमा छनोट भइसकेको छ ।

यमन र नेपाल विश्वकप छनोटको यात्राबाट बाहिरिसकेको छ भने अब एसियन कप छनोटको तेस्रो चरण खेल्नेछ ।

नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले टिमले अहिले सुधार गरिरहेको र राम्रो नतिजा ल्याउने आशा राखेका छन् । ‘हामीले सुधार गरिरहेका छौं र तयारी राम्रो भएको छ । हरेक खेलमा सुधार भइरहेको छ । योङ खेलाडी छन्,’ प्रिम्याच कन्फेरेन्समा एनेसले भने ।

यस्तै कप्तान किरण चेम्जोङले पनि अन्तिम खेलमा सुखद नतिजा ल्याउने लक्ष्य रहेको बताए । ‘हाम्रो हरेक खेलाम सुधार भइरहेको छ । युवा खेलाडीहरू छन् । हामी अन्तिम खेल राम्रो गरी सकाउन चाहन्छौं । यमन पनि राम्रो टिम हो । हामी राम्रो खेल्दै राम्रो प्रदर्शन गर्न चाहन्छौं,’ उनले भने ।

किरणले यसअघि पत्रकारहरुसँग कुरा गर्दै यमनसँग जसरी पनि अंक जोड्नका लागि खेल्ने बताएका थिए । उनले भनेका थिए, ‘यमनसँग पहिलो खेल होम ग्राउण्डमा हामी हारेका थियौं । निश्चय नै यस खेलका लागि उत्साही पनि छु । अहिलेसम्म हामी प्वाइन्टलेस छौं । यस खेलमा प्वाइन्ट लियौँ भने एसियन कप छनोटका लागि राम्रो हुन्छ ।’

नेपाली टिमका सबै खेलाडी कोचिङ स्टाफ जसरी पनि नेपालको पक्षमा नतिजा ल्याउनुपर्छ भनेर मोटिभेट रहेको किरणले बताएका छन् ।

यस्तै कप्तान किरणले यसै खेलबाट नेपालक लागि एक सयौं अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । नेपाली खेलाडीको लागि यो दुर्लभ सफलता हुनेछ । किरण भने नेपाली टिमको पार्ट हुन पाएको खुशी छन् । ‘म नेपाल नेसनल टिमको पार्ट हुन पाउँदा एकदमै खुशी छु,’ उनले भने ।

किरणले नेपालको जर्सी लगाएर खेल्न पाउनु नै सबैभन्दा प्राउड मोमेन्ट रहेको बताएका छन्  । ‘देशको जर्सी लगाउँदा खुशी लाग्छ र देशको जर्सी लगाउनु प्राउड मोमेन्ट हो,’ उनले भने ।

स्वास्थ्यले साथ दिएसम्म आफूले नेपालका लागि खेल्ने उनको भनाइ छ ।

सन् २००८ मा मकाउ विरुद्ध डेब्यु गरेका किरणले डेढ दशकभन्दा बढी नेपालका लागि खेलिसकेका छन् ।

प्रशिक्षक एनेसले किरणको सयौं खेल खेल्न लागेकोमा शुभकामना र बधाई दिएका छन् ।

इटालियन प्रशिक्षक एनेसको लागि पनि यमनविरुद्धको खेल अन्तिम बन्न सक्छ । अखिल नेपाल फुटबल संघ एन्फासँग हालको सम्झौता अनुसार उनको कार्यकाल यही जेठ अन्तिममा सकिंदैछ ।

२०७९ फागुमा नेपालको प्रशिक्षक बनेका एनेसको कार्यकाल सुरुमा एक वर्षको थियो । विश्वकप छनोटको दोस्रो चरण चलिरहेकोले एन्फाले गत पुसमा उनको सम्झौता साढे तीन महिना थपेको थियो । थपिएको सम्झँदा पनि सकिन लागेको छ ।

अहिले एन्फा उनको सम्झौता थप गर्ने वा नगर्ने भनेर छलफलमै छ । प्रशिक्षक एनेस भने आफू नेपालमै बस्न चाहेको र नेपाली टिममा निरन्तरता दिन चाहेको बताउँदै आएका छन् ।

एएफसी एसियन कप नेपाली फुटबल फिफा विश्वकप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय