
२९ जेठ, काठमाडौं । नेकपा एमाले काभ्रेको अध्यक्षमा चन्द्र लामा र राजन भुर्तेलले दावी गरेका छन् ।
धुलिखेलमा सोमबार उद्घाटन भएको ११औं जिल्ला अधिवेशनबाट नेतृत्व लिनेगरी लामा र भुर्तेलले तयारी गरिरहेका छन् । लामा जिल्ला उपाध्यक्ष हुन् भने भुर्तेल सचिव हुन् ।
नेताहरुका अनुसार, सर्वसहमतिको प्रयत्न भइरहे पनि लामा र भुर्तेल दुवैले दावी छोडेका छैनन् । ३० जेठसम्म तोकिएको जिल्ला अधिवेशनमा सहमतिको प्रयत्न भने भइरहेकै छ ।
तर जिल्लाका सिनियर नेताहरु नै लामा र भुर्तेलको पक्षमा खुलेकाले सहमतिको प्रयास सजिलो भइरहेको छैन । यहाँका नेता एवं सांसद गोकुल बाँस्कोटा, निवर्तमान अध्यक्ष अशोक बेञ्जु लगायतले भुर्तेललाई साथ दिइरहेका छन् ।
लामालाई जिल्ला अध्यक्ष बनाउनुपर्ने पक्षमा रेशम लामा, रुक्मणी बराइली, अमित लामा लगायत खुलेर लागेका छन् । चन्द्र लामालाई जिल्ला अध्यक्ष बनाउन केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको उनीहरुको दावी छ ।
जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली आफै धुलिखेल गएका थिए । जिल्ला अधिवेशन उद्घाटनका क्रममा ओलीले कार्यकर्तालाई झुटो आश्वासन दिएर चुनावी बातावरण सिर्जना नगर्न निर्देशन दिएका थिए ।
प्रतिक्रिया 4