७ असार, काठमाडौं । मिडियाबाट उदाउँदै राजनीतिमा आएका रवि लामिछानेले शुक्रबार बिहान फेसबुकमा आफ्नो पार्टी रास्वपा वार्षिकोत्सवको स्टाटस लेख्ने बेला मिडिया विश्लेषक, प्रस्तोतालाई सम्झन छुटाएनन् । तर,उनको सम्झना–भावमा पहिल्यै पूर्वापेक्षा थियो ।
लामिछानेले भनेका थिए, ‘रास्वपा खस्कँदो छ भन्ने विश्लेषणको ड्राफ्ट लेख्दैहोलान्, टकशोमा बोल्न घाँटीमा टाई मिलाउँदै होलान् ।’
हाल गृहमन्त्रीसमेत रहेका पार्टी सभापति लामिछानेले सम्भवतः आफ्नो पार्टीको बारे जनमानसमा पछिल्लोपटक बन्दैगएको छविबारे पर्याप्त जानकारी पाएरै हुनुपर्छ, उक्त स्टाटस लेख्न पुगे । शुक्रबार दिउँसो रास्वपा मूख्यालयमा देखिएको ठिकठिकैको चहलपहलले उनलाई गलत प्रमाणित गरेन ।
शुक्रबारको जमघटको तुलना गरौं, एक वर्षअघिको रास्वपा पहिलो वार्षिकोत्सवसँग ।
उक्त वार्षिकोत्सव मनाउँदा एक वर्षअघि संसदको चौथो ठूलो दल रास्वपा कार्यालयमा रौनक थियो । त्यसअघि चितवन र तनहुँका दुई उपचुनावमा क्रमशः पार्टी सभापति रवि लामिछाने र डा. स्वर्णिम वाग्लेको भारी मतान्तरसहित विजय उत्साह थप्ने मूख्य कारक थियो ।

अघिल्लो वर्षको उक्त उत्साह कायम राख्न दल विफल रहेकाले हर्षाेल्लासको मात्रा रास्वपामा घटेको देखिन्छ । नेताहरुका अभिव्यक्तिदेखि आम प्रतिक्रियासम्म त्यो झल्किन्छ । वार्षिक उत्सवको शुभकामना व्यक्त गर्दा पार्टी सभापति लामिछानेले पार्टी चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकार गरे । ‘अग्ला अग्ला पहाडहरु काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउदै हिडिरहेका छौं,’ लामिछानेले शुक्रबार शुभकामना सन्देशमा भने ।
रास्वपाले आफूलाई स्वतन्त्र विचारपन्थी मान्दै आए पनि उसको वैचारिक प्रष्टता अझै नआउँदा उसलाई हेर्ने दृष्टिकोणबारे अन्योल पनि छ । दुईवर्षे उमेर पार गर्दा बाहिरबाट आएको आलोचनालाई लामिछानेले स्विकारेका छन् । भावी कार्यदिशाबारे उनी भन्छन्, ‘वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गर्दै हामी यो यात्रा सम्पन्न गर्छौ ।’
प्रदेश संरचनाका सन्दर्भमा पनि स्पष्ट वैचारिक धारणा पार्टीले अब बनाउने उनले सुनाए । ‘कुन ढंगले जाने कुन अभ्यासले जाने त्यसको वैचारिक अवस्थामा पार्टी अब प्रवेश गर्दैछ,’ पार्टी कार्यालयमा लामिछानेले भने ।
वैचारिक अस्पष्टता, सरकारमा गएको सय दिन, जनताको बढ्दो अपेक्षा विच रास्वपाले वार्षिक उत्सव मनाएको छ । सरकारमा गएर पनि प्रभावकारी कार्यमा चुकेको रास्वपाका नेता कार्यकर्ता स्वयम् स्विकार्छन् ।
जनताको अपेक्षा ठूलो भएकाले यो छोटो समयमा पुर्ति गर्न नसकिएको गृहमन्त्री लामिछाने बताउँछन् । पार्टी कार्यालयमा आयोजित चियापानमा पत्रकारसँग भने,‘अपेक्षा धेरै ठूलो छ । हामीले एउटा आधार बनाएका छौं । २१ सिटले एक वर्षमा गज्जबको प्रतिपक्ष भएकै हौं । सरकारमा गएको भर्खर सय दिन भएको छ, मन्त्रालय चलाउने गज्जबको आधार बनेको छ ।’
रास्वपाले प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष दलका नेता, दलका प्रमुख, विभिन्न दलका नेता, उद्योगी, व्यवसायी, समाजका गन्यमान्य बोलाएर चियापानको आयोजना ग¥यो । चियापान कार्यक्रम सफल रहेपनि पार्टी हिडिरहेको बाटोप्रति स्वयं महामन्त्री मुकुल ढकाल खुसी छैनन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष उल्लासमा कमि आएको उनले सुनाए ।

‘पहिलो वर्षको तुलनामा यसवर्ष खुसीको मात्रा घटेको छ,’ ढकालले अनलाइनखबरसँग भने,‘तल्लो तहका शुभेच्छुकको कुरा सुनेर आएकाले मलाई त्यस्तो लागेको होला ।’
महामन्त्री ढकालले ५ असारसम्म एक महिना समीक्षा यात्रा गरेका थिए । उनले समीक्षा प्रतिवेदन पार्टी बैठकमा पेश गर्दैछन् । निर्मम समीक्षाका लागि त्यही अनुसारको प्रतिवेदन पेश हुने उनले बताए ।
पार्टी चियापानमा भेटिएका कतिपय कार्यकर्ताले रास्वपाले अपेक्षा अनुसार कार्य नगरेको गुनासो गरेका छन् । अरु दल सरह नै रास्वपा अघि बढेको भन्दै एक कार्यकर्ताले चिन्ता व्यक्त गरे । ‘अपेक्षा गरे अनुसार केही भएको छैन । झन् पछि झन् विग्रने डर छ,’ उनले भने । पार्टीको अब बस्ने बैठकले नयाँ तरिकाले सोच्नुपर्ने धारणा अनलाइनखबरसँग राखे ।
रास्वपाले वार्षिकउत्सव मनाउँदै गर्दा अदालतमा सभापति लामिछाने माथिको पेशी थियो । उनी माथि महान्यायाधिवक्ता कार्यालयले दिएको ‘क्लिन चिट’ विरुद्ध अदालतमा रिट दायर भएको थियो । १६ असारका लागि पेशी सारिएको छ । चियापान पछि प्रतिक्रिया दिँदा लामिछानेले भने, ‘मेरो मुद्दामा अदालतमा बहस चलिरहेको होला । म यहाँ स्थापना दिवस मनाइरहेको छु ।’
रास्वपाको चियापानमा पुगेका नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले रास्वपाको रणनीति परिवर्तन गर्न सुझाव दिए । रास्वपाले पुराना शक्तिहरुसँगको सहकार्यमा पुर्नविचार गर्नुपर्ने राय उनले दिए ।
भट्टराईले रास्वपालाई सुझाव दिए, ‘पुराना शक्तिहरुसँगको सहकार्यलाई तत्कालको कार्यनीतिका रुपमा लिनुपर्दछ । वैकल्पिक नयाँ शक्तिहरु सहकार्यलाई साच्चिँकै रणनीति बनाउनुपर्दछ । पुराना शक्तिहरुसँग बढी नै लसपस गर्न थालियो भने रणनीतिमा नोक्सान पर्ने र हराउने खतरा हुन्छ ।’
रास्वपाको आजको चियापानमा भने दलका नेताबाट सम्भवतः सबैभन्दा बढी नेता कांग्रेसबाट सहभागी भए । संसदमा अहिले कुनै दुई दलविच तिक्तता छ भने ती हुन्– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सरकारमा सहभागी दल रास्वपा । कांग्रेस सरकारबाट बाहिरिनु र रास्वपा नयाँ गठबन्धन बनाएर सत्तामा पुगेपछि एक अर्काको दूरी बढेको थियो । सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने मुछिएकाले उनी माथि संसदीय छानविन समितिको मागले दूरी बढायो ।
कांग्रेस सभापति शेरबहादुर देउवा, सहमहामन्त्रीद्धय जीवन परियार र बद्री पाण्डे, पूर्व उपसभापति विमलेन्द्र निधि, प्रमुख सचेतक रमेश लेखक, राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, नेता दिलेन्द्र बडु, उद्योगपति विनोद चौधरी लगायतका नेताहरु चियापानका लागि रास्वपा कार्यालय बनस्थली पुगेका थिए ।
दलका नेतालाई गेटमा स्वागत गर्न उपसभापति डीपी अर्याल अर्याल खटिएका थिए । रास्वपाका शीर्ष नेताहरु भएको ठाउँसम्म उनले पु¥याए । छोटो भलाकुसारी गरेर नेताहरु फर्के । चियापानमा पुगेका मूल नेतृत्वलाई रास्वपाका नेताहरुले घण्टी बजाइदिन आग्रह गरे । देउवालाई पनि रास्वपा नेताहरुले घण्टी बजाउन आग्रह गरे । देउवाले घण्टी डोरी एकपटक तानेर छोडिदिए । चियापानबाट बाहिरिएका नेताहरुमा अधिकांशले प्रतिक्रिया दिएनन् । प्रतिक्रिया दिनेहरुले शुभकामना सन्देश दिँदै बाहिरिए । मुद्दामा बहस भएपनि शुभकामना आदानप्रदानमा नेपाली संस्कृति राम्रो रहेको लामिछानले प्रतिक्रिया दिए । ‘आ आफ्ना मुद्दा एजेण्डाहरु छँदैछन् । शुभकामना आदान प्रदान गर्नुपर्दा दल विशेषका सदभावपूर्ण ढंगले आदानप्रदान गर्ने निरन्तरता हुन्छ,’ लामिछानेले पत्रकारहरुसँग भने ।
चियापानमा प्रधानमन्त्री पुष्पमकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, नेताहरु देवेन्द्र पौडेल, सुदन किराती लगायत चियापानमा पुगे ।

एमालेका अध्यक्ष केपी शर्मा ओली, नेता विष्णु रिमाल लगायतका नेता चियापानमा सहभागी भए । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता राजेन्द्र पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु चियापानमा सहभागी भए ।
रास्वपाका नेताहरुसँग केही बेर भलाकुुसारी गरेर फर्केका एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिए, ‘शुभकामना छ । रास्वपाको दुई वर्षको समीक्षा राम्रै छ ।’ राप्रपा अध्यक्ष लिङ्देनले जनताको अपेक्षालाई धोका नदिन रास्वपालाई सुझाव दिए । उनले भने, ‘रास्वपालाई विश्वास गरेर मत दिएकाहरुको विश्वासमा धोका दिने यो पार्टीबाट नहोस् ।’
 
 
 
 
 
 
 
 
तस्वीरहरुः आर्यन धिमाल/आर्यन धिमाल
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4