 
																			१०, असार, चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६ अर्ब ५५ करोड ८५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले पन्धौं नगर अधिवेशनमा सोमबार बजेट पेस गरेका हुन् । महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ४८ करोड ७९ लाखको बजेट ल्याएको थियो ।
आगामी बजेटमा महानगरपालिकाले आन्तरिक आय १ अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब ४ करोड ६३ लाख, संघको राजस्व बाँडफाँडबाट ३२ करोड ४७ लाख, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट २५ करोड ७५ लाख रुपैयाँ प्राप्त हुने बताएको छ । जनसहभागिता र श्रमदानबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६० करोड र सडक बोर्ड नेपालबाट ३ करोड आय हुने बजेटले प्रक्षेपण गरेको छ ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा उत्पादन वृद्धिमार्फत आत्मनिर्भर महानगरपालिका, गुणस्तरीय शिक्षा र स्वास्थ्यमा नगरवासीको पहुँच वृद्धि, उत्पादनमूलक रोजगारी सिर्जना, दिगो र वातावरणमैत्री पूर्वाधारलाई प्राथमिकतामा राखेको छ ।
महानगरपालिकाले चालु वर्षमा निर्माण सम्पन्न नहुने र भुक्तानी दिन बाँकी रहेका र क्रमागत एवम् बहुवर्षीय ठेक्काका आयोजना सम्पन्न गर्न आगामी आर्थिक वर्षका लागि १ अर्व ६० करोड बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाले पहिलोपटक वडालाई न्यूनतम र सुत्रमा आधारित भएर दुई प्रकारबाट वडास्तरीय सिलिङ निर्धारण गरेर बजेट विनियोजन गरेको छ । महानगरले कम्तीमा पनि एक वडालाई न्यूनतम २ करोड ७४ लाखदेखि अधिकतम २ करोड ९० लाख रकम विनियोजन गरेको छ । महानगरका २९ वटा वडाका लागि ८२ करोड रकम आगामी आर्थिक वर्षका लागि छुट्याइएको छ ।
पर्यटकीय केन्द्र दियालो बंगालाको पूर्वाधार निर्माणका लागि १ करोड, महानगर भित्रका सडकका खाल्डा नियमित मर्मतका लागि ५ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ ।
महानगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाहरूलाई कृषि पेशातर्फ आकर्षित गर्नका लागि व्यवसायिक खेती गर्न कृषि उपकरण खरिदमा अनुदान, कृषि तथा पशु बीमा कार्यक्रमलाई निरन्तरता, कृषकको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरणका कार्यक्रम सञ्चालन लगायतका कृषि सम्बन्धी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि ६ करोड विनियोजन गरेको छ ।
दूध उत्पादनमा दिइँदै आएको उत्पादनमा आधारित प्रतिलिटर ३ रुपैयाँ अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै मत्स्य फर्महरूमा प्रयोग हुने विद्युत् महसुलमा ५० प्रतिशत अनुदान यथावत् राखेको छ ।
शिक्षातर्फ व्यावहारिक शुक्रबार कार्यक्रम सञ्चालन, विद्यार्थीसँग नगर प्रमुख कार्यक्रम, विद्यालय कलर कोडअनुसार सबै विद्यालयको रङ्गरोगनको लागि महानगरले बजेट व्यवस्थापन गरेको छ ।
फोहोरमैलाको दीर्घकालीन समाधानको लागि ल्यान्डफिल साइट निर्माण गर्न आवश्यक जग्गा व्यवस्थापनको लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो काम पूरा गर्नको लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गर्दै पूर्वाधारका काम थप अगाडि बढाउन ४ करोड ३० लाख विनियोजन गरिएको छ ।
महानगरवासीलाई सुरक्षाको प्रत्याभूति दिलाउनको लागि भन्दै महत्वपूर्ण स्थानमा सीसी क्यामेरा जडान कार्यको लागि ८ करोड बजेट विनियोजन गरेको छ ।
नयाँ बन्दै गरेको प्रशासकीय भवनको निर्माण र इन्टेरियरका लागि ५ करोड बजेट विनियोजन गरिएको छ । हरियाली महानगरपालिका कार्यक्रमको लागि आफ्नै नर्सरी स्थापना गरी सञ्चालन गर्न १ करोड बजेट छुट्याइएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4