 
																			१० असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले आठवटा कडा रोग र प्रसुति सेवामा निजी अस्पतालले बदमासी गरेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेको स्पष्टीकरणको जवाफ दिँदै मन्त्री यादवले निजी अस्पतालले आठ कडा रोग र सुत्केरीको अपरेसन निःशुल्क गर्ने भनेर स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरेको तर बिरामीसँग रकम असुलेको गुनासो आएको बताए ।
‘निजी अस्पतालहरुबाट समेत गरिब र न्युन आयस्रोत भएका बिरामीले सेवा पाउन् भन्ने उद्देश्यले आमा सुरक्षा कार्यक्रम र आठ कडा रोगको उपचार र स्वास्थ्य बीमा लगायतको सामाजिक स्वास्थ्य सुरक्षाको कार्यक्रम निजी अस्पतालसँग सम्झौता गरी सञ्चालनमा रहेको छ’, उनले भने, ‘निशुल्क प्रदान गर्नुपर्ने सेवामा समेत बिरामीसँग रकम लिएको जस्ता जनगुनासो आउने गरेको छ ।’
सरकारले मुटु रोग, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इनजुरी र सिकलसेल एनिमियालाई सरकारले कडा रोगको सूचीमा राखेको छ । यी कडा रोगको उपचारका लागि सरकारले निजी अस्पतालसँग पनि सम्झौता गरेको छ ।
त्यस्तै आमा सुरक्षा कार्यक्रम अन्तर्गत निजी अस्पतालमा शल्यक्रियाबाट सुत्केरी सेवा निःशुल्क गराउन एउटा सुत्केरी गराएबापत सरकारले अस्पताललाई १० हजार रुपैयाँ दिने गरेको छ ।
तर यी सेवामा पनि निजी अस्पतालले बिरामीबाट रकम लिएको गुनासो आएको भन्दै मन्त्री यादवले भने, ‘धेरै निजी अस्पतालको गुनासो आएको छ त्यहाँ बदमासी भएको छ ।’
यो विषयमा मन्त्रालयले विज्ञहरुसँग समेत छलफल गरेको मन्त्री उनले निजी अस्पतालले अब निःशुल्क दिने सेवाबारे सार्वजनिक रुपमा जानकारी गराउनुपर्ने व्यवस्था गर्ने बताए ।
‘निजी अस्पतालले पाँच वटा ठूला बोर्ड राखोस् के के मा निशुल्क त’, उनले भने, ‘जसले बोर्ड राख्छन्, तिनीहरुसँग सम्झौता गर्ने नभए नगर्ने, तोडिदिने सम्झौता ।’
निजी अस्पतालसँग सम्झौता गर्दा अनुगमन, मूल्यांकन र सेवाका सर्तहरु पनि परिमार्जन गर्नुपर्ने मन्त्री यादवले बताए ।
१० प्रतिशत बेड निःशुल्क गर्नुपर्ने कानुनी व्यवस्थामा पनि निजी अस्पतालले बदमासी गरेको उनले बताए । ‘दशवटा ( दश प्रतिशत) बेड फ्रि गरेका छौं । तर, आफ्ना आफन्त आसेपासेलाई देखाइदिने । गरिब निमुखालाई फ्रि हुँदैन भन्ने जनगुनासो आएको छ’ उनले भने ।
निजी अस्पतालमा बेडमात्र निशुल्क हुने वा अरु पनि निःशुल्क हुने भन्नेबारे पनि प्रष्ट हुनुपर्ने मन्त्री यादवले बताए । ‘बेड भनेको के हो खाली बेडमात्र हो कि ? शल्यक्रिया पनि फ्रि हो कि ? औषधि पनि हो ? सिर्फ बेड लगाइदिने अनि भयो ? । यो हुँदैन हामी सबै कुरा बझिरहेका छौं । यसका लागि हामी गम्भीर छौं । चाँडै नै रणनीतिका साथ अगाडि बढ्छौं’, उनले भने ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4