+
+
साहित्य :

विषमता माझ

अरूलाई जतिसुकै गालीगलौज गरी चोखिन खोजे पनि कसैगरी सफल हुन सकिन्न । हामीले आफ्नो घरपरिवार सम्हाल्न नसक्ने अनि छिमेकीलाई दोषारोपण गर्न आखिर कुन नैतिकताले दिन्छ ?

बीएन जोशी बीएन जोशी
२०८१ असार २३ गते ७:३१

देश गरिब हुनु पनि अभिशाप नै बन्दोरहेछ । जनता मात्र धनी भएर के गर्नु र नीति निर्माणकर्ताहरूको मनमा खोट भएपछि । यथार्थमा हाम्रो नेपाल देश त्यस्तो अरूले सोचे जस्तो अफ्रिकातिरका केही मुलुकले भोगेको जस्तो भोकमरीले गाँजिएको गरिब पनि होइन । तर, यतिबेला समस्याहरूकोे कुनिउँ लागेको छ । दुई ढुंगाबीचको तरुल भन्थे, ठीक त्यसको विपरीत म देख्छु । यहाँ सबैतिरबाट चुस्दाचुस्दा छोक्रा मात्र बाँकी रहेको भान हुन्छ । लाग्छ, सरकारी ढुकुटीबाट थप लाभ उठाउनेहरू आफ्नै आमाको रगत चुसिरहेका छन् ।

परिश्रम गरेर खाने बानी खै त नेपालीहरूमा ? एक दिन कमाएर सात दिनसम्म बसिखान पल्केको समाज जो छ हाम्रो । एक जनाले कमाएर ५–६ जनाको परिवार पाल्नुपर्ने समाज जो छ हाम्रो ।

अनि कसरी देशको विकास र प्रगति हुन्छ त ? सरकार आफैं मगन्ते जो छ हाम्रो । ठोस आम्दानीको स्रोत केही छैन । केही काम गरी गरिखान खोज्नेहरूलाई उल्टै खेदो खन्छन् यहाँ । टाठाबाठा र जान्नेसुन्ने जतिलाई विदेशतिरै धकेल्न पाए एकछत्र राज गर्ने संकीर्ण सोच पालेकाहरू सरकारी अड्डाहरूमा व्याप्त भेटिन्छन् ।

मै हुँ भन्ने ठालुहरू विदेशीको सामु हात फैलाउन रत्तिभर कन्जुस्याइँ गर्दैनन् । अझ लाज र शरमलाई ढाकछोप गर्नका निम्ति घाँटीमा बेरिएको दाम्लोमा ठाँटिएर गोल्डेन कलरको फ्रेममा कालो सिसा भएको चश्मा प्रयोग गर्छन् ।

हामी गर्व गर्छौं । नेपालीहरू गर्व गर्छन् । के मात्र छैन हाम्रोमा ? भन्छौं सबथोक छ हाम्रोमा, विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मस्थान, हिमाल–पहाड–तराई, नदीनाला र जंगल, तालतलैया आदित्यादि । तर हामी भने भैंसी आहाल बस्ने पोखरीमा रमाइबसेका छौं ।

बीएन जोशी

यी सब हामीले आत्मसन्तुष्टिका लागि भन्ने मात्र हो । तिनको सही सदुपयोग भएन भने देखिबसेर मात्र केही हुनेवाला छैन ।

विश्व मानचित्रमा हामी कसैका दास भएनौं । अझ छाती फुल्छ गर्वले । बकम्फुसे कुरा गर्नका लागि कसले सक्छ हामी नेपालीहरूलाई ? भोको पेटले आखिर कतिञ्जेल पो राष्ट्रिय गीत गाउन सकिन्छ र ! थाहा छैन, राष्ट्रियताको खोक्रो भाषणले कतिबेलासम्म भोकै सुताउने हो ?

हिजोअस्ति जस्तो लाग्छ, २०७२ वैशाखको महाभूकम्प गएको गोरखा केन्द्रविन्दु भएर, जो हेर्दाहेर्दै इतिहास बन्ने बाटोमा उन्मुख छ ।

देशको रगत चुसेर मोटाएका जुकाहरू समेत त्यतिबेला विलापिएर सडकमा अलपत्र परेकै हुन् । आलिसान महल र आसन सपनाको एकादेश बनेकै हो । खैर, केही समयका लागि भए तापनि आमनेपाली जनमानसमा भूकम्पले भाइचाराको सम्बन्ध स्थापित गरिदिएको थियो । तर, ती सब दुकाध महिनासम्म पनि टिक्न सकेन र माहोल पुनः पहिलेकै लुछाचुँडीमा परिणत हुन पुग्यो ।

देश उँभो लाग्नका लागि भौतिक रूपले सम्पन्न भएर मात्र पुग्दैन । मन–मस्तिष्कदेखि नै लगाव भए न सफल भइन्छ । अन्यथा अरूलाई जतिसुकै गालीगलौज गरी चोखिन खोजे पनि कसैगरी सफल हुन सकिन्न । हामीले आफ्नो घरपरिवार सम्हाल्न नसक्ने अनि छिमेकीलाई दोषारोपण गर्न आखिर कुन नैतिकताले दिन्छ ?

दिन, हप्ता गर्दै महिनौं अघोषित नाकाबन्दीले गालेको थियो । निदाएपछि मात्र समस्याहरूको चाङ विलाउँछ शायद । होइन भने सबेरै, सबेरैदेखि ढिलो गरी रातिसम्म गाउँघर, टोल, छिमेक, जताततै नानाथरीका अभाव र महँगीको कथा, व्यथाहरू देख्न र सुन्न सकिन्छ । तर, अचम्म ! मदिराको अभाव खै त सुनिएको ?

आफू सक्षम नहुँदाको प्रतिफल हो यो सब । नीति–निर्माण तहमा मात्र तलब र भत्ता पचाउन कुर्सीमा टाँसिइरहने हाकिमहरू, अदूरदर्शी नेता अनि सरकारी कर्मचारीहरूको रवैयाले गर्दा आज देशको यो हालत भएको हामीसामु छर्लंग छ । तैपनि यिनमा चेतनाको ढोका उघ्रेको देखिंदैन

२०७२ सालको महाभूकम्पका बेला सडक र गल्ली पखालिएको मदिराले तत्पश्चात् आएको नाकाबन्दीलाई समेत दरिलो भरथेग गरेको थियो । चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउ ग्याँस अभावको बेला पकाउनु नपर्ने गज्जबको सितन बनेको जगजाहेरै छ । भूकम्प जाँदै गर्दा जताततै छाकैपिच्छे आहारा बनेको वाइवाइ चाउचाउको व्यापारले नाकाबन्दीको पींधसम्म आइपुग्दा त सारा बिक्रीका रेकर्डहरूलाई उछिनेको उदांगो खबर जतासुकै छाएकै हो ।

नाकाबन्दीले सास्ती खेपेको बेला स्तम्भकार लेखक खगेन्द्र संग्रौलाको एउटा लेख पढेको थिएँ । चाबहिलको चारुमतीस्थित नेपाल ग्याँसको लाइनमा बस्दाको आक्रोश र व्यङ्ग्यको पुट थियो त्यो । त्यतिबेला ग्याँस देशकै ठूलो समस्याको विषय बनेको थियो । खासगरी गृहिणीहरूका लागि । एकाध दिनपछि मेरै कार्य क्षेत्र अघिल्तिर उनलाई लाइनमा उभिएको देखें । बोलाएर भलाकुसारी गरौं कि भन्ने पनि लाग्यो तर आम जनमानसमा सामान्य बनिसकेको विषयलाई बहसको विषय बनाउन त्यति जरूरी ठानिनँ ।

ऐतिहासिक सम्पदा चाबहिल चारुमती स्तूपाको दक्षिणपट्टि रहेको नेपाल ग्याँस डिपोबाट सुरु भएको सिलिन्डरको लाइन गल्ली पछाडि रहेको बहाल हुँदै झन्डै गणेशस्थान मन्दिरको गेट छेउसम्म पुगेको रहेछ । सेतो इनामेलले लेखेको किरमिरे अंक घोरिएर नियालेको चौध सय चौबीस नम्बर पुगेछ ।

उपत्यकाका अरू ग्याँस डिपोको तुलनामा यहाँ धेरै सिलिन्डर आउने हुनाले पूरा काठमाडौंभरिमै चर्चाको विषय बन्ने गथ्र्यो । त्यही भएर नै ललितपुर, भक्तपुर, कान्तिपुर सबैतिरबाट यहीं ओइरिने भए ।

दिनमा तीन–चार पटक त मलाई समेत फोन आउँथ्यो ग्याँसको बारेमा सोधपुछ गर्न । मेरो कार्य क्षेत्र अगाडिको त्यो ग्याँस जात्राले चारुमती विहार वरिपरि वर्षमा एकचोटि हुने एकहप्ते चन्द्रविनायकको जात्रालाई समेत ओझेलमा पारिदिएको थियो । साङ्लो र नाइनलको डोरीले लस्करै बाँधिएका ग्याँसका सिलिन्डरहरूको बास हप्तौंसम्म सडक गल्लीमै असरल्ल परिरहेका हुन्थे ।

वाक्युद्ध, ठेलमठेल र पालो मिच्याइँको घचेट्याइँले कुनताको सडक जाम पारेर कोलाहलको अवस्था सिर्जना गराउनु नौलो थिएन । सडकछेउका घरहरूको पेटीमा स्थायी अड्डा जमाएका ग्याँस पर्खिनेहरूको वेदना सुन्दा यस्तो लाग्थ्यो, हामी समस्याहरूको विशाल भण्डार कक्षमा छौं । मानौं, यहाँ समस्या नभएका व्यक्ति छैनन् । अधिकांश गृहिणीको कोलाहल सुनिन्थ्यो ।

हरेक वस्तुहरूको प्राप्तिका लागि संघर्ष गर्नुपर्ने अवस्था आइलागेको अवस्था थियो उतिबेला देशमा । ग्याँसको आवश्यकता त प्रमुख भइगयो– पेट्रोल, डिजल, मट्टीतेल मात्र होइन; खाद्यान्न र भौतिक निर्माण सामग्रीको आयात ठप्प भएकोले सारा कामदारहरू रोजगार विमुख बनेका थिए । थाहा थिएन, त्यसको कार्यकाल कतिसम्म लम्बिने हो र यसले कस्तो परिणाम ल्याउने हो !

गम खाएर मनन गर्नुपर्छ, आफू सक्षम नहुँदाको प्रतिफल हो यो सब । नीति–निर्माण तहमा मात्र तलब र भत्ता पचाउन कुर्सीमा टाँसिइरहने हाकिमहरू, अदूरदर्शी नेता अनि सरकारी कर्मचारीहरूको रवैयाले गर्दा आज देशको यो हालत भएको हामीसामु छर्लंग छ । तैपनि यिनमा चेतनाको ढोका उघ्रेको देखिंदैन ।

ग्याँसका लागि धेरै फोन आयो मलाई अनि उसलाई । त्यही अगाडिको पेटीमा लामा–छोटा हजारौं शब्दहरू बर्सिरहे वर्षात् सँगै बलेनीबाट । असीमित वेदना छिपेको हुन्छ, हरेक मानिसको जीवनमा । कोही व्यक्त गर्छन्, कोही गर्दैनन् । पीडाका प्रकारहरू फरक हुन्छन् । फरक त्यति हो । सुखसयल त भौतिकवादको एउटा नमूना मात्र न हो । जसलाई हेरिबस्न मात्र सक्छौं । सन्तुष्टि ग्रहण गर्न कदापि सक्दैनौं । सामाजिक सञ्जालका फोटालाई हेरेर जति सुन्दरताको बखान गरे पनि हामी आफ्नो रसनलीलाई क्रियाशील बनाउन असमर्थ हुन्छौं, जबसम्म ठेकीभित्र हत्केला घुस्दैन । हो, त्यही मदानीको चक्रले आज सम्पूर्ण जीवनलाई निलेको छ । नौनीको पर्खाइमा छौं, अझै कसैको अनुपम माया–प्रेम अनि सयलको जीवन कस्तो हुन्छ भनेर ।

उनले भनेका कुराहरूलाई चार दिन र तीन रातसम्म बेजोडसँग केलाइरहें । व्यापक आक्रोश र निराशा थियो । हुन सक्छ, देशले भोगेको विषम परिस्थितिको उपज पो थियो कि ! उनका लागि आफ्नो घरपरिवार देश जत्तिकै प्यारो हुँदो हो र त हामीले दैनिक भोगिरहेको सास्तीको आडैमा रहेर पोखिएको छ । लाग्छ, वर्षौंदेखि उकुसमुकुस बनेर गुम्सिएका व्यथाहरू छचल्किएका छन्, अतृप्त प्रेमका आकांक्षाहरू सँगसँगै ।

त्यसैले त भन्दै थिइन्— “म के र कसका लागि जाबो एक सिलिन्डर ग्याँसको पछाडि कुदिरहेछु ? त्यो पनि महिनौंदेखि । एक्लो शरीर जहींकतै होटलतिर चहारी खाँदा पनि पुगीसरी छँदै थियो नि त !”

“ग्याँस नपाएर कतिपय होटलहरू बन्द भैसके नि !” मैले भनें ।

“ह्या…! दाउराले पकाएर पनि खुवाएकै छन् नि !”

कस्तो मीठो कुरा उनको मान्छे जस्तै । फेरि यस्तो सफा मन भएको मानिसको हृदयभित्र किन यति धेरै उजाड धर्साहरू ?

मेरो मनमा थप उत्सुकता पलाउँछ । यसै सपाट सोधिरहन पनि सक्दिनँ । लाग्थ्यो, उनलाई पनि खुल्न मन लागिरहेको छ र उपयुक्त समयको पर्खाइमा छे ।

मलाई मेरो कार्यक्षेत्र हिजोआज रमाइलो लाग्न थालेको अनुभूति भइरहेछ । कारण, मेरो कुनै त्यस्तो व्यक्तिगत प्रगति भएर भने होइन । ग्याँसको जात्रा दिनभरि हेरिबस्न मन लाग्छ । ग्याँसको लाइनमा बसेकाहरूको फरक अनुहार अनि भिन्न विचारहरूले मेरो मनमा अनेकथरीका भावहरू उद्वेलित बन्न पुग्छन् ।

चःमती टाउन प्लानिङमा साढे तीन तलाको घर छ । गजधम्म बसेको । श्रीमान् अमेरिका छिरेको बाह्र वर्ष भइसक्यो । अझै ग्रीन कार्ड मिलेको छैन । घर आएपछि पुनः फिर्न मिल्दैन भनेर आउन नै मान्दैन । “कति सम्झाएँ मैले उसलाई, तिमी मेरो साथमा भए पुग्छ, अरू केही चाहिंदैन भनेर । तर, माया कत्ति धेरै गरेर समेत मेरो आस्थालाई उसले तिलाञ्जली दिइरहन्छ । म नबुझेरै पनि बुझिरहन्छु ।”

भन्छ, “कति धेरै दुःखकष्ट भोगेर त्यत्रो पैसा खर्च गरी बल्लतल्ल पुगेको सपनाको देशमा, सारा आफ्ना मनका चाहना पूरा नहँुदै कसरी फर्कने ?”

“आफूसँग भएको एउटा मात्र छोरो प्लस टू सकिनासाथ गएको साल अस्ट्रेलिया हान्नियो । अब त झन् यो मेरो घरले नै मेरो एक्लोपनलाई गिज्याइरहे जस्तो लाग्छ । वास्तवमा म यही घरको जेलभित्र कैद छु । अनि सहन गाह्रो भएपछि पिंजडाबाट आजाद भएको पन्छीलाई झलझल्ती सम्झन्छु ।”

“समाजले मभित्र दबेका सारा असीमित खुसी र चाहनाहरूलाई संकुचित बनाइदिएको छ ।” तर, मेरा मान्छे भन्छन्— “अझै केही वर्ष बसेर अलि धेरै कमाएर लेराउँछु, तिमी सुर्ता नगरी बसे । तब पो जीवनभर बसेर खान संकट नहोला ।”

“तर, मेरो मभित्रको उन्मादमा दगुरिरहेको जीवन नै शिथिल बनेपछि भौतिक सुविधाको मात्र के नै अर्थ रहन्छ र ?”

“मेरो जीवनको महत्वपूर्ण भनेको तीसदेखि चालीसको समय त यसै खेर गै गयो नि, हैन र ?”

उनको समुच्च प्रश्नहरूको उत्तर दिने ठाउँमा म छैन ।

“मेरो भावनालाई उसले त्यति महत्व दिंदैन शायद । त्यसैले मोबाइलको आवाजबाटै भ्रूणहत्या गरिदिन्छन् । जतिबेला मसँग उही साढे तीन तलाको घर र एउटा रुमाल हुन्छ । जुन वर्षौंदेखि मेरो साथमा थियो र अहिलेसम्म पनि छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?