+
+
विचार :

गर्न दिने देउवा, आफैं गर्ने ओली

कांग्रेस–एमाले गठबन्धनमा दुईपटक मन्त्री बनेका नेता मीनेन्द्र रिजाल त्यस्तै अर्को सहकार्यका सम्भावित चुनौतीलाई कसरी नियाल्दैछन्, पढौं ।

डा. मीनेन्द्र रिजाल डा. मीनेन्द्र रिजाल
२०८१ असार २३ गते ९:२२

संयोगवश म कांग्रेस समर्थनको माधवकुमार नेपाल मन्त्रिपरिषद्, अनि एमाले समर्थनको सुशील कोइराला मन्त्रिपरिषद् दुवैमा मन्त्री बन्न पुगेको व्यक्ति हुँ । रोचक के छ भने ती दुवै कार्यकाल २०–२० महिनाका थिए । दुई ठूला प्रतिस्पर्धी दलहरू एकठाउँ बसेर सहकार्य गर्दाको अनुकूलता र प्रतिकूलतालाई नजिकैबाट भोग्ने, अवलोकन गर्ने मौका मलाई प्राप्त भयो ।

अहिले माधवजी एमालेमा नभए पनि २०६६ सालमा उहाँ कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले प्रस्ताव गरेपछि एमालेको प्रधानमन्त्री बन्नुभयो । पहिलो संविधानसभा चुनावबाट पहिलो बनेको माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेस र एमालेको सहकार्य भयो ।

२०७० को दोस्रो संविधानसभा चुनावपछि पहिलो र दोस्रो ठूलो पार्टी बनेका कांग्रेस र एमालेले संविधान निर्माणको बाँकी काम सम्पन्न गर्न तत्कालीन पार्टी सभापति सुशील कोइरालाको नेतृत्वमा सत्ता सहकार्य गरेका थिए ।

इतिहासको त्यस्तै अर्को मोडमा कांग्रेस र एमाले दुई ठूला पार्टीका रूपमा सत्ता सहकार्यको सहमति गरिसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले यसको पहल गर्नुभएको छ । पहिलो चरणमा ओलीजी, दोस्रो चरणमा देउवाजी प्रधानमन्त्री बन्ने सहमति उहाँहरूको बीचमा छ ।

सुरुमा यो सत्ता सहकार्य गर्नका लागि देउवाजी र ओलीजीको रुचि कहाँनेर जोडियो भन्नेमा विश्लेषण गरौं ।

८० वर्ष पुग्नुभएका देउवा आफ्नो क्रियाशील राजनीतिको पछिल्लो इनिङमा हुनुहुन्छ । उहाँका दुई चाहना छन् । पहिलो, आगामी आमचुनावमा कांग्रेसको राम्रो प्रदर्शन होस् । दोस्रो, आगामी पार्टी महाधिवेशनबाट आफ्नो विगत योगदानलाई इज्जत र न्याय गर्ने पात्रलाई नेतृत्व सुम्पिन पाइयोस् ।

पहिलो चाहनाको अन्तर्यमा छिरौं : देउवा सभापति भएर आएपछि उहाँले नेतृत्व गरेको २०७४ को आम चुनावमा कांग्रेसले समग्रमा देशभरिबाट मत बढी पाए पनि सिट संख्याका हिसाबले निकै कमजोर प्रदर्शन गरेको थियो । २०७९ को चुनावमा सिट त बढ्यो, मत भने झन् घटेको थियो । यसरी कांग्रेस प्राविधिक ढंगले मात्रै पहिलो पार्टी बन्न सक्यो । आफूले नेतृत्व गर्दा बेला कांग्रेस पहिले जस्तो बलियो पार्टी बन्न सकेको छैन भन्ने भावनाले उहाँमा फेरि बलियो पार्टी बनाएर अर्को पुस्तामा हस्तान्तरण गरिदिन पाए हुन्थ्यो भन्ने चाहना छ ।

दोस्रो चाहनाको अन्तर्य पनि यस्तै प्रकारको छ : कांग्रेसमा सभापतिको तेस्रो कार्यकाल नहुने भएकाले उहाँ त्यस्तो कामलाग्दो व्यक्तिलाई अर्को सभापति बनाउन चाहनुहुन्छ, जसले आफ्नो विगतको विरासतलाई न्यायपूर्ण आवाज देओस् । इतिहासमा आफूले गरेको संघर्षको सम्मान गर्न सकोस् ।

यी दुवै चाहनाका लागि आगामी साढे तीन वर्षको पृष्ठभूमि महत्वपूर्ण छ, जो उहाँ उपयोग गर्न चाहनुहुन्थ्यो । त्यसैले देउवाका लागि यो निकै महत्वपूर्ण समय हो ।

अब ओलीको रुचिको कुरा गरौं ।

पहिलो, ओलीजी चुनौती चिर्न चाहनुहुन्थ्यो : कतिपय पार्टीको दोस्रो तहमा नेतृत्वको प्रतिस्पर्धालाई लिएर खजमज चलिरहँदा ओली आफ्नो दलमा चुनौतीरहित रहँदै आउनुभएको थियो । एमालेभित्र पछिल्ला वर्षहरूमा उहाँको एक्लो नेतृत्व स्थापित हुँदै आएको पनि हो । तर पछिल्लो दिनमा एमालेमा अब ओली मात्रै होइनन् है, कोही अर्को व्यक्ति पनि हुन सक्छ भनेर भित्र–बाहिर सर्वत्र चर्चा चल्न थाल्यो । को पात्र फेरि एमालेको नेतृत्वमा आउन लाग्यो, जसलाई ओलीले आफ्नो चुनौती देख्नुभयो भन्ने बारेमा म यहाँ विस्तारमा भन्न चाहन्नँ, नेपाली राजनीति बुझ्नेले यति कुरा सहजै बुझिहाल्छन् ।

नेपालको राजनीतिमा योगदान गर्न सक्छु भनेर जुन महत्वाकांक्षा र आत्मविश्वास सहित ओली आउनुभएको छ, उहाँको बुझाइको गहिराइलाई पार्टीभित्रै कतिपयले बुझ्न नसकेको हो कि भन्ने देखियो । उहाँले आउने चुनावसम्म एमाले आफ्नै नेतृत्वमा जाओस् भनी चाहनुभएको छ । यसरी हेर्दा देउवा र ओली दुई नेताको उस्तै खालको स्वार्थ र चाहनाले यो गठजोड सम्भव भयो ।

दोस्रो, प्रचण्डको आधारहीन आकांक्षा तोड्ने इख : २०७९ को चुनाव परिणामले तेस्रो दल बनेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डजीले कांग्रेस र एमालेको पालैपालो समर्थनमा सरकार चलाउन पाउनुभयो । तर उहाँले जसरी सरकार सञ्चालन गर्नुभयो, त्यहाँ ठूलो गल्ती भयो । यी दुईवटा ठूला पार्टीलाई हल्लाएरै शासन चलाइरहन पाउँछु, सक्छु भन्ने आधारहीन आकांक्षा प्रचण्डमा देखियो ।

यथार्थ के थियो भने सबैभन्दा ठूलो दल कांग्रेस, अनि समानुपातिकमा सबैभन्दा बढी मत पाएको एमालेका ऐतिहासिक आधारलाई अहिलेसम्म नेपालमा कसैले हल्लाउन सक्ने अवस्था छैन । भोलि हल्लियो भने बेग्लै कुरा हो ।

प्रधानमन्त्रीको छेउमा बसेर अहिलेको राजनीतिक स्पेस प्रयोग गर्दै आएका नयाँ शक्ति, जसले निराशाको जनमतलाई आकर्षित गर्दै तत्कालै पार्टी बनाए, ती समेतले कांग्रेस र एमालेको परम्परागत जनाधारको डुंगा हल्लाउन खोजे ।

यी दुवै खाले शक्ति अहिले सत्ताबाट बाहिरिने क्रममा छन् । बाहिरिंदै गरेका दलप्रति सम्मानभाव र शालीनताको भाव सहित म टिप्पणी गर्छु– लोकतन्त्रमा जनताको समर्थनको आधार, ऐतिहासिक आधार, अनि भोलि बन्न सक्ने आधार हेर्दै दलहरूले आफ्नो स्पेस बनाउने हो । तर पछिल्लो दिनमा यो सीमा कतिपयले बिर्सन खोजेको जस्तो देखिन्थ्यो । तब कांग्रेस र एमालेले राजनीतिक स्थान जोगाएर अघि बढ्नुपर्छ भन्ने लाग्यो ।

नेपालमा बेवास्ता गर्नै नमिल्ने अर्को पक्ष हो, भूराजनीति । छिमेकका स्थायी स्वार्थलाई नेपालका स्वार्थसँग मिलाएर व्यवस्थापन गर्नेभन्दा सबैलाई कुरा गरिदिएको भरमा भूराजनीतिलाई चाहिनेभन्दा बढ्ता ठाउँ दिइयो । सरकार बन्ने–भत्किने क्रममा पनि यो देखियो । अनि सरकारका प्रमुखको काम गर्ने शैलीले यो कमजोरी प्रस्फुटन गरिदियो ।

नेपालको राजनीतिमा कम्युनिस्टहरू मिल्नुपर्छ कि पर्दैन भन्ने बहस आजको होइन । यो त कम्युनिस्ट आन्दोलन स्थापनाकालदेखि नै छ । परिणाम के देखियो भन्ने परिभाषामा भूराजनीतिभन्दा बाहिर कोही नेताहरू उभिन खोजेको हो कि जस्तो देखिन खोजेको थियो ।

त्यसैले पहिलेको गठबन्धन, अनि अहिलेको गठबन्धनमा पनि वाम एक ठाम रहन सकेनन् । यस्तो अवस्थामा देउवा र ओली जस्ता परिपक्व नेताले नेतृत्व गर्दा नै राम्रो र बलियो नतिजा आउँछ भन्ने तात्विक आधार देखियो ।

संविधानको स्वामित्व : नेपालमा कष्टसाध्य प्रयासले संविधान बनाएको हो, जसको स्वामित्व कांग्रेस, एमालेले लिन्छन् । सुरुमा संविधान बन्दैन कि भन्ने थियो । त्यसबेला हतारोमै बनाउँदा पर्याप्त अध्ययन र विवेचना नगरिएको पनि होला । सबै समानुपातिक सांसदलाई राष्ट्रिय सभामा लैजाने कि भन्ने तर्क आएको छ । खासमा प्रतिनिधिसभा र राष्ट्रिय सभाले अलग–अलग सोच र भूमिकालाई अभिव्यक्त गर्छन् । कतिले त प्रत्यक्ष निर्वाचित कार्यकारी भए पुगिहाल्यो भन्छन् । मानौं, कार्यकारी आएपछि संसद् नै रहँदैन । यस्तो किसिमको अपरिपक्व चिन्तन पनि समाजमा देखियो ।

समाजमा कतिपय यस्ता सीमान्तकृत र अल्पसंख्यक समुदाय छन्, जसको प्रतिनिधित्व गर्नकै लागि प्रतिनिधिसभा चाहिन्छ । खालि हारजितको कुरा मात्रै होइन । त्यसैले कतिपय समुदाय जसको प्रतिनिधित्व नभइकन प्रतिनिधिसभा हुनै सक्दैनथ्यो ।

अर्कोतर्फ अहिले बनाएको मिश्रित निर्वाचन प्रणालीले २७५ सिटको सभामा कुनै एउटा दलले बहुमत ल्याउन नसक्ने जस्तो भयो । २०८४ मा पनि एकले अर्कोलाई यसैगरी झुक्याएर गठबन्धन नहोला भन्न सकिन्न ।

किनभने कसैले धेरै सिट जिते पनि ८०–८५ सिट प्रत्यक्षमा जित्ला । समानुपातिकमा ४० जति आउला । फेरि पनि बहुमत त हुँदैन । सानो कुनै दललाई लिएर मात्रै बहुमत पुर्‍याउन सक्लान् । २०७४ मा वाम गठबन्धन गरेर बढी सिट पाए होला, तर अरू सामान्य बेला सम्भव हुँदैन ।

त्यसैले यी पार्टीहरूले निर्वाचनमा एक्लाएक्लै लडेर बहुमत ल्याउन सक्ने अवस्था पनि बन्न सक्ने, समानुपातिक प्रणालीबाटै कतिपय समुदाय र क्षेत्रको प्रतिनिधित्व पनि जोगाउन सकिने उपाय खोज्नुपर्ने भयो । ठूलो दलले सरकार बनाउने स्वस्थ लोकतान्त्रिक परम्परालाई संविधानले अनि मात्रै प्रबन्ध गर्न सक्ने भयो ।

अनि कतिपय प्रबन्धहरू मिलाउनुपर्छ । जस्तो कि, दलको ह्वीप मान्नुपर्ने सांसदले संवैधानिक निकायका नियुक्ति, राजदूत इत्यादिको सुनुवाइ कसरी गराउलान् भन्ने प्रश्न पनि छ । प्रदेश र केन्द्रको समन्वय गर्दै विधेयक बनाउने, संघीय व्यवस्था बलियो बनाउने, पूँजीगत खर्च बढाउन संघ र प्रदेश दुवैले काम गर्ने अवस्था कसरी बन्छ भन्ने जिज्ञासा छ । विशेषज्ञहरूले शान्त भावमा बसेर कहाँनेर पुनरावलोकन, संशोधन गर्ने वातावरण पनि बन्न आवश्यक छ । संविधानले देखाएको बाटोबाट स्थायी, दीर्घजीवी बनाउन एउटा प्रयास चाहिएको छ ।

देउवाजीको कार्यशैली ओलीजीसँग मिल्दैन । देउवाजीले खास केही विषय बाहेक सानातिना कुरामा हात हाल्ने गर्नुहुन्न । उहाँ सीमित कुरामा ध्यान दिनुहुन्छ ।

गठबन्धन साढे तीन वर्ष जानका लागि भने जसरी सबै कुरा जानुपर्ने हुन्छ । जिम्मेवारीमा बसेको मान्छेले गोलमाल गर्न थाल्यो भने सहकार्य लामो जाँदैन । २०८४ को चुनाव अन्यथा भएन भने कांग्रेस र एमाले नै पक्ष वा विपक्षमा लड्ने हुन् । दैनन्दिन राजनीतिको दबाब व्यवस्थापन गर्न, अनि संविधान अनुसारको राज्य शासन प्रणालीलाई अर्को चरणमा लैजान आवश्यक हुन्छ ।

नेतृत्वको शैली : ओलीजीमा अहिले पनि असाध्यै ठूलो योगदान गर्ने आत्मविश्वास देखिन्छ । विकास, देशनिर्माण, मानिसको जीवनका अनेक पहलुलाई हेर्नुभएको छ । तर त्यो दृष्टि आत्मविश्वासको तहभन्दा गहिराइ नखोजी चाँडै निष्कर्षमा पुग्नुभएको पनि हुन सक्छ । उहाँको तरिका मिलेन भनेर अर्कोले भनिदिंदा ओलीजीले त्यस्तो आलोचनालाई कसरी ग्रहण गर्नुहोला ?

त्यसैले सरकारमा बस्दा एकातिर रचनात्मक सुझाव र आलोचना सुन्न सक्ने, अनि प्रतिस्पर्धामा रहेको दलबाट त्यस्तो आलोचना आउँदाखेरि उहाँले कसरी लिनुहोला । यो विषय पनि त्यत्तिकै महत्वपूर्ण छ । क्याबिनेटमा त्यो राख्दाराख्दै सहकार्य समेत नबिगारी सहज ढंगले लैजाने प्रयास चाहिन्छ । एमालेबाट आउने साथीहरूको यसमा भूमिका नहोला, तर कांग्रेसका मन्त्रीको भूमिका हुन्छ ।

यता देउवाजीको कार्यशैली ओलीजीसँग मिल्दैन । देउवाजीले खास केही विषय बाहेक सानातिना कुरामा हात हाल्ने गर्नुहुन्न । उहाँ सीमित कुरामा ध्यान दिनुहुन्छ । जस्तो भावी नेतृत्व, पार्टीको विकास आदिमा मात्रै उहाँको ध्यान छ । अरूलाई काम गर्न मज्जाले स्पेस दिने देउवाजीको बानी छ ।

देउवाजीको शैलीलाई सकारात्मक भाषामा भन्दा डिट्याच्ड लिडरसिप अर्थात् अलग्गिएको नेतृत्व पनि भन्न सकिएला । आलोचनात्मक चेत राखेर भन्ने हो भने लेज्जे फेयर स्टाइल अफ् लिडरसिप अर्थात् अरूलाई नै गर्नका लागि अख्तियारी दिने नेतृत्वशैली पनि भन्न सकिएला ।

ओलीजी चाहिं डु एभ्रिथिङवाला हो । उहाँ सबै चिजमा आफैं जानकारी लिनुहुन्छ । धेरैजसो काम र नतिजा आफैं गर्न खोज्नुहुन्छ ।

त्यसैले दुई भिन्न दलका शीर्ष नेता, जसको शैली र सोच कतिपय अवस्थामा मिल्दैन, उहाँहरूलाई जोडिराखेर हिंड्नु आफैंमा चुनौती हो । कांग्रेस, एमाले यसै पनि खास प्रतिस्पर्धी पार्टी हुन् । सँगै हिंड्दा पनि त्यो भावना कहीं न कहीं अभिव्यक्त भइहाल्छ । मज्जाले २०८४ मा प्रतिस्पर्धा गर्ने पार्टीलाई जोडेर राखिराख्ने आधार चाहिन्छ । यसलाई कुनै पनि बेला क्षत–विक्षत बनाउन सक्ने चुनौती व्यवस्थापन गर्नुपर्छ ।

स्वाभाविक प्रश्न उठेको छ, के देउवा र ओलीको मेलमिलाप कायम रहिरहला ? खासमा उहाँहरू दुईजना मात्रै होइन, हामी सबैजसो मानिस आधारभूत रूपमा उस्तै मानवीय स्वभावका हौं । अलि बढी अवसरवाद, अलि बढी धोका दिन कसलाई अभिरुचि हुन्छ भने, जसलाई अर्को पक्षलाई धोका नदिई आफू अघि बढ्न सक्दिनँ भन्ने लाग्ने गर्छ । उसले आफ्नो सुरक्षाका लागि भए पनि अर्कोलाई धोका दिनुपर्ने हुन्छ ।

यी दुई दललाई उत्तर वा दक्षिणले मिलाइदिएको भनी कहीं देखाउनु पर्दैन । कांग्रेस एमाले सँगै सरकारमा भएको विगतदेखि नै स्थापित गरेका हौं नि !

यो गठबन्धन बन्नु भन्दा अघि कांग्रेस एमालेमा कहीं न कहीं एकअर्कामा विश्वास नभएको देखिन्थ्यो । आजको दिनमा आफ्नो क्षमता अनुसार पार्टीलाई विकसित गर्न सक्छु भन्ने आत्मविश्वास जागेर आउनसक्ने सम्भावना छ ।

उमेरकै कुरा गर्दा पनि ओली भन्दा देउवा ७/८ वर्ष जेठो हुनुहुन्छ । अनुभव पनि ओली भन्दा अलिकति बढी छ । बीपी कोइरालादेखि संगत गरेकाले देउवासँग एक्सपोजर पनि अलि बढी छ । देउवाको महत्वाकांक्षा एउटा सीमाभित्र रहने छ । सीमाभित्र रहने किन हो भने बीपीदेखि गिरिजाबाबुसम्म भएका अघिका सभापतिहरूलाई जितेर कहीं पुगौंला भनेर सोच्ने भन्दा त्यही परम्परा म एउटा थप सभापति भनेर आफ्नो जिम्मेवारी पूरा गरें भन्नु पनि धेरै ठूलो उपलब्धि हुन्छ ।

देउवाको विरासत नै कांग्रेसमा छ कि छैन भनेर एउटा भाष्य कहीं न कहीं  निर्माण भएको छ । कांग्रेस भन्दा बाहिर पनि त्यो भएकाले पार्टीभित्र समाहित गर्न कसैले कोसिस गरिरहेको होला । कांग्रेस जति बिगार्ने काम भयो, देउवाका कारणले भयो भन्ने परेको छ । त्यो होइन भनेर सभापतिले स्थापित गर्नु छ ।

नेपालका नेताहरू मध्ये सबैभन्दा बढी मिहिनेत गर्ने नेता ओलीजी जस्तो लाग्छ । महत्वाकांक्षालाई सकारात्मक हेर्ने हो भने देशका लागि केही गरौं भन्ने छ । आजको दिनमा कांग्रेस भन्दा एमाले अलि बढी आत्मविश्वास भएको पार्टी छ । ओलीजीले आत्तिएर कसैलाई झुक्याउनुपर्ने कारण छैन । पार्टी र आफ्नो भविष्य अनिश्चित देखेका नेतालाई झुक्याउने बाहेक अरू उपाय बाँकी रहँदैन ।

कांग्रेस एमालेको गठबन्धन तीन वर्ष जानसक्छ, जानुपर्छ भन्ने सबैको चाहना पनि छ । त्यहाँ पुग्न पनि मामुली कठिनाइ छैन । प्रतिस्पर्धा गर्ने पार्टीलाई फेरि पनि प्रतिस्पर्धा गर्ने ठाउँसम्म कुनै दुर्घटना नगरी पुर्‍याउन कम कठिनाइ छैन । एमाले र कांग्रेस सरकारमा सँगै हुँदा भूराजनीति पनि महत्वपूर्ण छ । आफ्नै बुताले जानुपर्छ भन्ने एमाले, कांग्रेसमा भएको छ । भूराजनीतिक विषय पनि ध्यानपूर्वक सञ्चालन गर्नुपर्दछ ।

यी दुई दललाई उत्तर वा दक्षिणले मिलाइदिएको भनी कहीं देखाउनु पर्दैन । कांग्रेस एमाले सँगै सरकारमा भएको विगतदेखि नै स्थापित गरेका हौं नि ! एउटा समय थियो, एमालेको बलियो आधार नभएको बेला कांग्रेसले एक्लै डोर्‍याउन सक्थ्यो । २०४६ पछि एमाले बलियो शक्तिका रूपमा आयो । विशेषतः २०७० सालपछिको राजनीतिमा कता कता कांग्रेस भन्दा एमाले माथितिर जान्छ कि भन्ने आत्मविश्वास बढी देखिन थालेको छ । यी दुई दलले गर्न चाहँदा गर्न सक्छन् । भूराजनीतिलाई असन्तुलित बनाएर पार्टी र व्यक्तिगत महत्वाकांक्षा पूरा गर्नुपर्ने देखिंदैन ।

कांग्रेस र एमाले मिलेर यसअघि बनेका दुइटा सरकारमा २०/२० महिना म मन्त्री बनेको थिएँ । त्यो बेलाको अनुभवमा दुई ठूला दल सँगै हिंडाउनु मामुली सोचियो भने सर्वथा अनुचित, मूर्खतापूर्ण हुन्छ । अनावश्यक आशावादले खाल्डोमा लैजान पनि सक्छ ।

अहिले देउवा र ओलीको रसायन मिलेको छ । उनीहरूको केमेष्ट्रीलाई ध्यान दिंदै दुई दलले अनावश्यक कार्यलाई महत्व दिनुहुँदैन । शालीनता, धीरता र एकअर्कामा आत्मीयता हुनुपर्दछ । ओलीको पहिलो कार्यकालमा जाने कांग्रेसका मन्त्रीहरूमा पार्टीको उद्देश्य नहराउने, पार्टीको स्वार्थलाई आत्मसात् गर्ने आत्मविश्वास हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?