 
																						काठममाडौं । डेढ शताब्दीअघिको कथालाई लिएर निर्माण गरिएको नाटक ‘मेषी दण्ड’ साउन ५ गतेदेखि मण्डला थिएटरमा मञ्चन हुने भएको छ ।
सन् २०२४/०२५ मा १४ नाटक निर्माण गरी मञ्चन गर्ने घोषणा गरेको मण्डलाले यसै क्रममा दोस्रो नाटकको रुपमा ‘मेषी दण्ड’ मञ्चन गर्न लागेको हो । यसअघि प्रवीण खतिवडाको निर्देशन रहेको ‘अन्धवेग’ मञ्चन भइसकेको छ । अनिल सुब्बाको निर्देशन रहेको ‘मेषी दण्ड’ नाटक साउन २७ सम्म नियमित मञ्चन हुने मण्डला थिएटरले जनाएको छ ।
निर्देशक सुब्बाले गीलु रातोसको कथालाई नाटकका लागि छानेका छन् । हिमाली आदिवासीले भाषाका कारण तत्कालीन राज्यबाट कसरी दमन भोग्नुपर्यो भन्ने विषयलाई नाटकमा देखाइने निर्देशक सुब्बाले बताए । ‘केही समयअघि गीलु रातोससँग कुरा गर्ने क्रममा भाषाका कारण दण्ड तिर्नुपरेको एउटा कथा सुनाउनुभएको थियो । त्यो कथाले मलाई एकदमै धेरै छोइरहेको थियो । मण्डलामा नाटक गर्नुपर्ने भएपछि यही कथामाथि म काम गर्छु भनेर निर्णय गरें,’ सुब्बाले भने, ‘धेरै कुरा समेट्नुपर्ने भएपनि मुख्य रुपमा यो नाटकमा भाषाको जर्नी देखाइएको छ ।’
सोलुखुम्बु जिल्लाको खालिङ राई समुदायले भोगेको कथालाई नाटकमा प्रस्तुत गरिएको छ । राणाकालीन समयमा तिब्बत जानका लागि नाङपाला नाका जाने क्रममा राणा र उनीहरुका भारदारहरुको समूह खालिङ गाउँमा बास बस्न पुगेका थिए । जुन समयमा त्यहाँ खालिङ राई बाहेकका समुदाय कोही पनि थिएनन् । उनीहरु त्यसबेला आफ्नो बाहेकको भाषा बोल्दैनथे र बोल्नलाई आवश्यकता पनि थिएन । सोही क्रममा राणाहरुले गाउँका मान्छेलाई भेला गरी सामान्य मन्तव्य दिए । मन्तव्य सुन्ने क्रममा भेला भएका मान्छेहरुले केही पनि बुझेनन् । तर उनीहरुले ‘मेषी, माका.. मेषी’ भनी बोले । राणाहरुले ‘मेषी’ भनेको बुझेनन् र आफूहरुको अपमान भएको ठानी गाउँका मानिसहरुलाई दण्ड तिर्न लगाए । जुन दण्ड त्यहाँका खालिङ राईहरुले लामो समयसम्म तिरे र दण्डको नाम ‘मेषी दण्ड’ रहन गयो ।

लेखक रातोस भन्छन्, ‘झट्ट सुन्दा यो एउटा भाषा बोल्ने आदिवासीको मात्रै कथा हो जस्तो लाग्छ । तर यो विश्वभरका आदिवासीहरुको कथा हो । ‘रारामुरी’ भाषा मात्रै बोल्न जान्ने मेक्सिकोका रीटा पाटिनो नाम गरेको एक आदिवासी महिलाले अंग्रेजी भाषा नजान्दा १२ वर्षसम्म अमेरिकी मानसिक अस्पतालमा बिताउनु परेको कथा हामीले डकुमेन्ट्रीमा हेर्न पायौं,’ उनले भने, ‘यसरी नभनिएका कथा विश्वमा लाखौं छन् । त्यसैमध्येको एउटा कथा हो मेषी दण्ड ।’
नाटकमा तत्कालीन समयमा तिर्न लगाइएको दण्डवापतको रकमले सिंगो गाउँ आर्थिक रुपमा कसरी ढलपल हुन पुग्यो र त्यस समुदायको जीवनको लयलाई कसरी बिथोल्यो भन्ने विषय नाटकमा प्रस्तुत गरिएको मण्डला थिएटरले जनाएको छ ।
नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्णबहादुर गन्धर्व, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बू, सञ्जीप योगी, अमर बुढाथोकी, रमिता राई, सञ्जय विश्वकर्मा, लहना राई, जञ्जीत थुलुङ राई, अजय लामा, प्रवीण मगर लगायतको अभिनय रहने छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4