+
+

विदेशबाट ऋण ल्याउने बैंकलाई राहत : विनिमय जोखिम कम गर्न विशेष व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १३ गते २०:५३

१३ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउने बैंकहरूको विनियम दरबाट हुने जोखिम कम गर्न ‘स्वाप’ कारोबार सम्बन्धी व्यवस्था ल्याएको छ ।

आइतबार राष्ट्र बैंकले स्वाप कारोबार सम्बन्धी विनियमावली, २०८१ जारी गरेर यस्तो व्यवस्था ल्याएको हो । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न उक्त विनियमावली जारी गरेको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले विदेशी बैंक तथा वित्तीय संस्था लगायतबाट ऋण ल्याएपछि विदेशी विनिमय दरमा हुने परिवर्तनले जोखिम भएको भन्दै त्यसका लागि हेजिङ सुविधा माग गर्दै आएका थिए । हेजिङकै एउटा प्रारूपमा केन्द्रीय बैंकले स्वाप कारोबार सम्बन्धी व्यवस्था ल्याएको छ ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी उक्त विनियमावली कार्यान्वयनमा ल्याएको हो ।

विनियमावली अनुसार राष्ट्र बैंक र काउन्टर पार्टी (विदेशबाट ऋण ल्याउने बैंक तथा वित्तीय संस्था) बीच ‘खरिद–बिक्री अमेरिकी डलर/नेपाली रुपैयाँ स्वाप’ कारोबार गर्न सकिने छ । विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको हो ।

कसरी हुन्छ स्वाप कारोबार ?

‘स्वाप कारोबारको पहिलो चरणमा राष्ट्र बैंकले काउन्टर पार्टीसँग तोकिएको स्पट दरमा अमेरिकी डलर खरिद गरी नेपाली रुपैयाँ बिक्री गर्ने छ,’ विनियमावलीमा छ, ‘स्वाप कारोबारको दोस्रो चरणमा पहिलो चरणको कारोबार रकम बराबर अमेरिकी डलर तोकिएको फर्वार्ड मिति र तोकिएको फर्वार्ड दरमा राष्ट्र बैंकले काउन्टर पार्टीलाई बिक्री गरी नेपाली रुपैयाँ खरिद गर्ने छ ।’

उल्लिखित अमेरिकी डलर रकम, स्पट दर, पहिलो चरणको कारोबार राफसाफ मिति, फर्वार्ड दर र दोस्रो चरणको कारोबार राफसाफ मिति स्वाप कारोबारको बोलकबोल मितिमा नै तय हुने विनियमावलीमा उल्लेख छ । स्वाप कारोबार अमेरीकी डलर/नेपाली मुद्रामा मात्रै हुनेछ ।

उदाहारणका लागि विदेशबाट ऋण ल्याउँदा राष्ट्र बैंकले अहिलेको विनिमय दर समेतका आधारमा उक्त मुद्रा खरिद गरी नेपाली मुद्रा बैंकलाई दिने छ । जसलाई स्वाप कारोबारको पहिलो चरण भनिन्छ ।

जब बैैंकले विदेशी संस्थासँग लिएको ऋण फिर्ता गर्न डलर र नेपाली रूपैयाँ राफसाफ मूल्य र मिति बोलकबोल मितिमा नै तय हुनेछ ।

बैंकहरूले विदेशी संस्थालाई ऋण चुक्ता गर्ने समयमा राष्ट्र बैंकसँग जुन दरमा नेपाली रुपैयाँ दिएर डलर स्वाप गर्ने भन्छन्, अहिले नै बोलकबोल मार्फत तय हुनेछ । अहिले तय भएको स्वाप दरभन्दा फिर्ता गर्ने समयमा डलरको मूल्य बढी भए बैंकहरूलाई फाइदा हुनेछ भने कम भए नाफा हुनेछ । तर, डलरको मूल्यमा हुने उतार चढावबाट हुने जोखिम यसले कम गर्ने छ ।

स्वाप कारोबारका लागि विदेशबाट भारतीय रुपैयाँ बाहेक विदेशी मुद्रामा ऋण भित्र्याउने वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त र पूर्वाधार विकास बैंक काउन्टर पार्टी बन्न योग्य हुने व्यवस्था विनियमावलीले गरेको छ ।

डेपुटी गभर्नर नेतृत्वमा स्वाप कारोबार समिति

यस्तो स्वाप कारोबार गर्न विनियमावलीले नै एउटा समिति बनाएको छ । नेपाल राष्ट्र बैंक विदेशी व्यवस्थापन विभाग हेर्ने डेपुटी गभर्नरको नेतृत्वमा रहने त्यस्तो समितिमा विदेशी विनिमय व्यवस्थापन विभाग, मौद्रिक व्यवस्थापन विभाग, आर्थिक अनुसन्धान विभाग, बैंकिङ विभाग र वित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशकहरू सदस्य र विदेशी विनिमय व्यवस्थापन विभागको लगानी हेर्ने निर्देशक सदस्यसचिव रहनेछन् ।

उक्त समितिको बैठक आवश्यकता अनुसार बस्न सक्ने र त्रैमासमा एकपटक बस्नैपर्ने छ । अध्यक्षमा रहने स्वाप कारोबार रकम र बोलकबोल हुने मिति सम्बन्धी व्यवस्था पनि विनियमावलीमा राखिएको छ ।

तोकिएको स्वाप कारोबार रकम बमोजिम कूल कारोबार रकमभन्दा बढी नहुने गरी प्रतिकाउन्टर पार्टी स्वाप कारोबारको न्यूनतम रकम अमेरिकी डलर १० लाख र बढीमा १० लाखले भाग गर्दा निःशेष भाग जाने गरी काउन्टर पार्टीले विदेशबाट भित्र्याएको भारतीय रुपैयाँ बाहेक विदेशी मुद्रा ऋणको बक्यौता साँवा रकमसम्म हुने गरी काउन्टर पार्टीले बोलकबोल पेस गर्नुपर्ने छ ।

कसरी हुन्छ स्पट र फर्वार्ड दर निर्धारण ?

नेपाल राष्ट्र बैंक विदेशी मुद्रा खरिद बिक्री तथा बजार हस्तक्षेप निर्देशिका, २०७८ को दफा ८ बमोजिम हुन आउने अमेरिकी डलर र नेपाली रुपैयाँको विनिमय दर नै स्वाप कारोबारको स्पट दर हुने विनियमावलीमा उल्लेख छ ।

स्पट दर निर्धारण हुने दिनमा ‘ब्लुमबर’ प्लेटफर्ममा उपलब्ध तोकिएको स्वाप कारोबार अवधिका लागि अपराह्न १२ः१५ बजे अमेरिकी डलर र भारतीय रुपैयाँको ‘मिड रेट’ को फर्वार्ड दरका आधारमा तय हुने छड्के दरले हुन आउने नेपाली रुपैयाँमा नेपाल राष्ट्र बैंक विदेशी मुद्रा खरिद बिक्री तथा बजार हस्तक्षेप निर्देशिका, २०७८ को दफा ९ मा तोकिए बमोजिम प्रिमियम थप गरी कायम हुने दर स्वाप कारोबारको ‘कट अफ’ दर हुनेछ । तर, अपराह्न १२ः१५ मा ब्लुमबर प्लेटफर्ममा त्यस्तो दर उपलब्ध नभए उक्त समयपछिको पहिलो दरलाई लिने उल्लेख छ ।

काउन्टर पार्टीले पेस गरेको फर्वार्ड दरको बोलकबोललाई घट्दो क्रममा राखिने छ । कट अफ दरभन्दा कम नहुने गरी काउन्टर पार्टीले पेस गरेको फर्वार्ड दरलाई समितिले स्वीकार गरे सोही दर नै सम्बन्धित काउन्टर पार्टीसँगको स्वाप कारोबारको फर्वार्ड दर हुनेछ ।

यस्तो फर्वार्ड दर फरक–फरक काउन्टर पार्टीलाई आफूले पेस गरेको बोलकबोल बमोजिम फरक–फरक हुन सक्ने छ । समान फर्वार्ड दर बोलकबोल भएका स्वाप कारोबार रकम समावेश गर्दा स्वाप कारोबारको कुल आह्वान रकमभन्दा बढी भए प्राथमिकताका आधारमा बाँडफाँट हुनेछ ।

बाँडफाँट गर्दा प्रति काउन्टर पार्टी न्यूनतम अमेरिकी डलर १० लाखको न्यूनतम रकम र १० लाखले भाग गर्दा निःशेष भाग जाने रकम कायम हुन अनिवार्य हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?