२४ साउन, हेटौंडा । मकवानपुरमा असारमा मात्रै विषालु च्याउ सेवनबाट ४ जनाको मृत्यु भयो भने २२ जना बिरामी भए ।
राक्सिराङ गाउँपालिकामा एकै परिवारका पाँच जनाले विषालु च्याउ तरकारी बनाएर खाएकामध्ये ४५ वर्षीय दलबहादुर चेपाङले ज्यान गुमाएका थिए । मृत्यु हुने अन्य तीन जना कैलाश गाउँपालिका र भीमफेदी गाउँपालिकाका बासिन्दा हुन् ।
मकवानपुर विषालु च्याउको सेवनबाट बढी घटना हुने जिल्लामा पर्छ । च्याउबारे अध्ययन, अनुसन्धान गर्दै आएका अनुसन्धानकर्ताहरूका अनुसार नेपालमा मकवानपुरसहित ६ वटा जिल्लालाई विषालु च्याउको ‘हटस्पट’को रुपमा लिने गरिएको हो ।
गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान पोखराले पूर्वमा इलाम, मध्यभागको मकवानपुर र चितवन, पश्चिमतर्फ पाल्पा, गुल्मी र अर्घाखाँची तथा दाङ र सल्यानलाई विषालु च्याउको ‘हटस्पट’ जिल्लाको रुपमा पहिचान गरेको छ ।
यी जिल्लामा विषालु च्याउको सेवनबाट बढी मानवीय क्षति भएको प्रतिष्ठानका वैज्ञानिक डा. शिव देवकोटाले जानकारी दिए ।
असार २०६९ मा चितवनको चेपाङ समुदायमा विषालु च्याउको सेवनले एकै परिवारका ८ जनाको मृत्यु भएको थियो । खाएकामध्ये एक बालिका मात्रै जीवित रहेको देवकोटाले स्मरण गरे ।
विषालु च्याउले हरेक वर्ष धेरैको ज्यान लिने गरेको भए पनि सरकारसँग यकिन तथ्यांक नहुँदा लक्ष्यअनुसारको काम गर्न नसकिएको देवकोटाको भनाइ छ ।
उनका अनुसार देशभर सरदरमा वार्षिक ३० देखि ३५ जनाले विषालु च्याउको सेवनबाट ज्यान गुमाउने गरेका छन् । ‘३०–३५ जनाले एक वर्षमा ज्यान गुमाएको पत्रपत्रिकाकै समाचारका आधारमा आकलन गरेका हौं । यहाँ नआएका धेरै हुन सक्छन् । त्यसैले यकिन भन्न सकिँदैन,’ देवकोटाले भने ।
जनस्वास्थ्य कार्यालय मकवानपुरसँग पनि अघिल्ला वर्षमा विषालु च्याउ खाँदा ज्यान गुमाएका वा घाइते भएकाहरूको तथ्यांक छैन । असारमा ४ जनाले ज्यान गुमाएपछि देवकोटाको टोली अध्ययनको लागि मकवानपुर आएको छ ।
देवकोटासहित गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको प्राविधिक टिमले जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा पहिलो पटक मकवानपुर आएर प्रभावित क्षेत्रमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
बुधवार कैलाश गाउँपालिकाको नामटारस्थित स्वास्थ्यचौकी र भीमफेदी गाउँपालिकाको केन्द्रमा सर्वसाधारण र सरोकारवालालाई विषालु जंगली च्याउको पहिचान गर्ने तरिका र यसबाट बच्ने तथा उपचारका बारेका अभिमुखीकरण कार्यक्रम गरेको हो ।
मकवानपुरको राक्सिराङ, कैलाश, मनहरि गाउँपालिकामा सिमान्तकृत चेपाङ समुदाय बसोबास गर्छन् । उनीहरूको समुदाय छाक टार्नकै लागि च्याउ, वन तरुल, कन्दमूल, गिठ्ठा भ्याकुरलगायत जंगलमा आश्रित खानेकुरा खाने गर्दछन् । जसकारण जंगली च्याउ खाँदा यहाँका स्थानीय हरेक वर्ष बिरामी पर्ने गरेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले विगतमा विषालु च्याउले निम्त्याएको घटनाबारे कुनै तथ्यांक नभएको र यसको अभिमुखीकरण पनि हुन नसकेको स्वीकार्छन् । ‘पहिला यस्तो नभएकै हो । हामीले यस वर्षबाट विषालु च्याउबारे प्रभावित क्षेत्रमै पुगेर अभिमुखीकरण गर्दैछौं,’ उनले भने ।
गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका वैज्ञानिक देवकोटाले विषालु च्याउको तस्वीर सहितको पोष्टर पनि पहिलो पटक निर्माण गरिएको बताए ।
‘च्याउले यतिधेरै घटना निम्त्याए पनि यसबारे सरोकारवालाहरूको चासो छैन । हामीले पनि पहिलो पटक पोष्टर बनाएका छौं । अभिमुखीकरणमा देखाउन बनाएका हौं,’ उनले सुनाए ।
विषालु जंगली च्याउँ खाँदा असर गरेपछि उपचारबारे पनि कतिपयलाई थाहा नभएकोले मानवीय क्षति बढी भएको देवकोटाको दाबी छ । विषालु च्याउ खाएपछि ६ घण्टासम्म कुनै असर नगर्ने र त्यसपछि क्रमशः वान्ता हुने, झाडापखाला लाग्ने, पेट दुख्नेलगायतका स्वास्थ्य समस्या देखिने गरेको छ ।
देवकोटाका अनुसार विष नभएको चेपानगाइना च्याउ भनेर, हेर्दा उस्तै देखिने भिरोसा र सिटरिना नामक विषालु च्याउको सेवनले मानिसको मृत्यु बढाइरहेको हो । सर्वसाधारणलाई राज्यले पहिलो तहमै च्याउको पहिचान गर्न र यसको उपचारबारे सचेतना गराउनुपर्ने देवकोटा बताउँछन् ।
च्याउ सेवनको ६ घण्टापछि पनि उपचार नपाए कलेजो र मृर्गौलामा गम्भीर असर पर्ने भएकाले मासिनको मृत्यु हुने अनुसन्धानबाट देखिएको उनी बताउँछन् ।
देवकोटाले छाताको आकार भएको, माटोमुनि रहेको, फेदमा गाँठो भएको, छातामा खाल्डो र टिका भएको च्याउ हानिकारक रहेको बताए ।
प्रतिक्रिया 4