 
																			तपाईं आफूले गरिरहेको काम तपाईंलाई मन परिरहेको छ ? तपाईंले जे काम गरिरहनुभएको छ, त्यो कामसँग तपाईंको भावनात्मक लगाव कत्तिको छ ? तपाईंका आफ्ना रहर, रुचि, चाहना, सपना, विचार, खुशी वा तपाईंको विगत र भविष्यको बारेमा आफंैलाई भेट्न कत्तिको पाउनुभएको छ ? तपाईंले काम गर्ने क्रममा आफ्ना समुदायका मानिसलाई भेट्न सक्नुभएको छ कि छैन ? यी प्रश्नलाई अलि सहज बनाउन म यहाँ एकजना मेरो प्राध्यापक साथीको दैनिकी जोड्न चाहन्छु । जुन म आफ्नै दैनिकीको धेरै नजिक पाउँछु ।
****
कथा लेखिएका मेरा साथी दश वर्षदेखि काठमाडौंका क्याम्पसहरूमा पढाउँछन्, बिहान एउटा क्याम्पसमा दिउँसो अर्को क्याम्पसमा । बिहान र दिउँसो पढाउने क्याम्पसको दूरी आठ किलोमिटर छ । मोटरसाइकलमा प्रायः पच्चीस मिनेट । एउटा क्याम्पसको काम सकिनु र अर्को सुरु हुनुको बीचमा एक घण्टा समय रहन्छ । त्यो समय उनको खाना खाने समय हो । खाना उनले प्रायः राम्ररी खान पाउँदैनन्, बिहानभरि साइलेन्ट राखेको फोनमा कसै न कसैको कल आएको हुन्छ । उनी प्रायः भनिरहन्छन्, ‘फोनमा गफ गर्दागर्दै खाना खानै भ्याइएन’ वा कसैलाई भनिरहेका हुन्छन्, ‘के–के भयो फोन नै उठाउन पाइनँ ।’
कक्षा सकिएपछि वा बिदाको समयमा उनी भनिरहेका हुन्छन्, ‘अर्को वर्ष त म कि बिहान पढाउँदिन कि दिउँसो पढाउँदिन, म आफैंलाई समय दिन्छु ।’ उनले यसो भन्न थालेको पनि तीन वर्ष भइसक्यो । यसपालि पनि उनले बिहान दिउँसो दुवै समय पढाउन सुरु गरिसके । उनले आफैंलाई समय दिन्छु भनेका कुरामा विपश्यना ध्यान, सगरमाथा आधारशिविर वा बा–आमालाई धार्मिकस्थल घुमाउन लैजाने कुरा थिए । ती कुनै काम उनले गर्न पाएका छैनन् ।
उनको कामको भावनात्मक कुरा गर्दा उनले पढाएर पास हुँदै गएका विद्यार्थीहरूसँग उनको खासै कुराकानी हुँदैन, पढाइरहेको संस्थाको निर्णय प्रक्रियामा उनको पहुँच हुँदैन । सुरु–सुरुमा पढाइरहेका कलेजहरू उनको जस्तो लाग्थ्यो र उनले फूर्तिसाथ कलेजको नाम लिन्थे । तर, अब उनी ‘बिहान एउटा कलेज पढाउँछु बेलुका अर्को कलेज पढाउँछु’ मात्रै भन्छन्, कलेजको नाम लिंदैनन् । विद्यार्थीको बारेमा पनि उनी खासै चासो राख्दैनन्, कक्षामा तोकिएको पाठ्यक्रमलाई तोकिएको ढाँचामा पढाउँछन् । कसैले विद्यार्थीको कक्षाको पाठ्यक्रम बाहेकको कुरा गरेमा बरु सम्झाउँछन्, ‘यसरी काउन्सिलिङ गरेको तपाईंलाई पैसा मिलेको छ र गर्ने ? व्यवस्थापनले गर्ने काम तपाईं किन गर्नुहुन्छ ?’ उनलाई अब विद्यार्थीले ल्याएको ग्रेड, विद्यार्थीले गरेको प्रगति वा विद्यार्थी असफल भएको कुरा खास आफ्नो चासोको विषय लाग्दैन । उनी भन्छन्, ‘हाम्रो काम पढाउने हो, विद्यार्थीको, कलेजको भविष्य बारेमा चासो राख्ने होइन, जस्तो तलब दिन्छन् त्यस्तै लेबलको पढाउने ।’
अर्थात्, नियमित राम्रो तलब दिए राम्रो तयारी सहित पावरपोइन्ट बनाएर पाठ्यक्रमका विषय केन्द्रित भएर पढाउने, नियमित तलब नआउँदा एउटा किताब बोकेर आयो यसो केही कन्टेन्टका कुरा र केही अन्य गफ जोत्ने ! यसै पनि कलेजका विद्यार्थीलाई पाठ्यक्रमका नीरस कुराभन्दा आफ्नै वरपरका गफमा चासो हुन्छ । कसैले ‘यसरी त विद्यार्थीको भविष्य बिग्रन्छ नि’ भन्दा उनी ‘विद्यार्थीको भविष्य बनाउने ठेक्का मैले लिएको छैन, मेरो ठेक्का कोर्स सक्ने हो’ भनेर टक्टकिन्छन् ।
उनको रहर पढाउने थिएन । घुम्न, डुल्न, नयाँ–नयाँ किताब पढ्न र लेख्न चाहन्थे । परिवारका सदस्यसित समय बिताउन, बुढा भएका बा–आमालाई घुमाउने चाहना थियो । एमए पास गर्ने बित्तिकै पढाउन थाले । सुरु–सुरुमा पढाएर पनि समाजमा परिवर्तन ल्याउन सकिन्छ भन्ने लाग्थ्यो । अब उनलाई आफूले पढाएका कारण कसैको भविष्य बनिरहेको छ जस्तो लाग्दैन । वर्षमा मुस्किलले उनी एकपटक दशैंमा घरमा बा–आमा भेट्न पुग्छन् । घुम्न त उनी घुमिरहेका छन्, विद्यार्थीलाई कहिले भ्रमण लिएर कहिले फिल्ड लिएर । त्यो घुमाइलाई उनी घुमाइ भन्न चाहन्नन् । त्यसलाई उनले नाम दिएका छन्, ‘विद्यार्थीको गोठालो लाग्ने ।’
पढ्न त उनले विद्यार्थीका टर्मपेपर र उत्तरपुस्तिका पढिरहेका हुन्छन् तर ती किताब होइनन् । घरमा पनि उनी प्रायः पढाउने तयारी गरिरहेका हुन्छन्, पढाउन नपरेको बेलामा टर्मपेपर, उत्तरपुस्तिका चेक गरिरहन्छन् । उनको आफ्नो समय छैन । काम नै काम चाङ लागेका बेला उनलाई कतै असल छोरो, असल श्रीमान् वा असल पिता आफू हुन सकिनँ कि जस्तो लाग्छ । यस्ता गफ हुँदा उनी आफ्नै शरीर देखाएर ‘म आफैं आफ्नो लागि असल भएको नै कहाँ छु र ?’ भनेर प्रश्न गर्छन् ।
फेसबुकमा कसैका विविध उत्सवका फोटो हेर्दै आफू कुनै साथी वा आफन्तको उत्सवमा जान नपाएको गुनासो बोकिरहन्छन् । अरू त अरू, मलामी गए पनि लाश पोलुन्जेल बस्न उनलाई समय मिल्दैन । एक दिन बडो निराश भएर सुनाए- ‘पशुपतिमा साथीको आधा जल्दै गरेको लाश छोडेर पढाउन आएको, आफू जस्तै साथी मरेको दिन पनि काम गर्दिनँ भन्न नपाउने यो कस्तो काम गरेको हो हामीले ?’ यसो भनेर उनी रोएनन् बरु चुरोटको धुवाँ उडाइरहे । म उनलाई ‘कम्तीमा तिमी त घाटसम्म गयौ, विदेशमा भएका साथीहरू त त्यही पनि जान पाउँदैनन्’ भन्छु । उनी ‘त्यो त हो’ भनेर चित बुझाए झैं गर्छन् । म उनको ठाउँमा आफूलाई राखेर हेर्छु, बेला–बेला । उनले गाह्रो छ भन्दा, ‘पुरुषलाई भन्दा महिलालाई अझै गाह्रो छ नि’ भन्छु ।
****
आधुनिक समाजमा मानिस एक्लो–एक्लो हुन्छ । त्यो आधुनिक शब्दको ठाउँमा पूँजीवादी शब्द पनि राख्न मिल्छ । समाजशास्त्रमा दुई गुरु कार्ल माक्र्स र इमाइल दुर्खेइमले आधुनिक समाजमा मानिस किन एक्लो हुन्छ र त्यो एक्लो मानिसले के गर्छ भन्ने बारेमा आ-आफ्ना विचार प्रस्तुत गरेका छन् । उनीहरूले भनेका ती एक्ला मानिसहरू पुरुषहरू हुन् र सम्भवतः उनीहरू युवावस्थाका हट्टाकट्टा मानिसहरू पनि हुन्, जो काम गर्छन् । माक्र्स र दुर्खेइमले व्याख्या गरेका मानिस पुरुष हुन् भन्नलाई अनुमान गर्न पर्दैन, उनीहरूले आफ्ना किताबमा नै ‘म्यान’ शब्द उल्लेख गरेका छन् ।
व्यक्ति अर्थात् ‘इन्डिभिजुअल’ र त्यसका आयामलाई समेटेर लेख्न थालिएको धेरै पछि हो । त्यसैकारण सामाजिक शास्त्र (समाजशास्त्र मात्रै होइन)लाई ऐतिहासिक रूपमा जेन्डर ब्लाइन्ड विषय पनि भन्ने गरिन्छ । जेहोस् उनीहरू दुवै जनाले आधुनिक समाजको एक्लो श्रमिकको कुरालाई जोडेका छन् । माक्र्सले यसरी पूँजीवादी समाजले एक्लो बनाएको मानिसले क्रान्ति गर्छ भन्छन् भने दुर्खेइमले यस्ता एक्लो मानिसले आत्महत्या गर्न सक्नेतर्फ जोड दिन्छन् । माक्र्सले गरेको व्याख्या अलि बढी घुमाउरो छ । साथै कामदारले गरेका सबै आन्दोलनलाई क्रान्ति नै भन्ने कि नभन्ने भन्ने प्रश्न पनि छ । तर, दुर्खेइमले गरेको आधुनिक समाजमा आत्महत्या बढ्ने विश्लेषण (आत्महत्याका अन्य पक्ष पनि छन्) अहिले पनि समाजको मानसिक स्वास्थ्यमा आइरहेको गिरावट र आत्महत्याको बढ्दो ग्राफले पुष्टि गर्छ । परम्परागत ग्रामीण समाजमा भन्दा आधुनिक शहरमा, महिलामा भन्दा पुरुषमा आत्महत्याको दर बढी हुनुमा काम गर्ने मानिस आफैंबाट, कामबाट, परिवार र समुदायबाट एक्लिंदै जाने क्रमलाई पनि एउटा मान्न सकिन्छ ।
यी व्याख्या र माथिको कथा पुरुष ‘कामदार’को हो । ती व्याख्यामा छुटाइएका मानिसहरू, व्याख्या गरिएका मानिसभन्दा धेरै छन् । वर्तमान समाजमा दोहोरो जागिर र परिवार सम्हालेका महिलाको कथाहरू ती पुरुष पात्रको भन्दा अझ डरलाग्दो छ । कामकाजी बाहेक समाजको ठूलो हिस्सा ओगटेका मानिसहरू, जसलाई अर्काको उद्योग वा कार्यालयमा गएर काम गर्ने आवश्यकता वा जरुरत छैन वा जसको खटिएर काम गर्ने तहबाट उमेर उकालो लागेको छ यस्ता मानिसहरू अक्सर आफूले गरिरहेको कामलाई ‘समय कटाउने मेलो’ भन्छन् । त्यो समय कटाउने मेलोमा जेसुकै पनि पर्न सक्छ ।
तीमध्ये सम्पत्ति हुने र नहुने, उमेर र शारीरिक क्षमता हुने र नहुने वा सामाजिक बन्धनले बाँधिएको वा सामाजिक बन्धनमुक्त मानिस पनि हुनसक्छ । ती फरक–फरक आर्थिक, सामाजिक, शारीरिक हैसियत भएका मानिसले फरक–फरक तरिकाले समय कटाउने मेलो गर्छन् । तीमध्ये केही धर्मकर्ममा लागिरहेका पाइन्छन्, खासगरी सन्तान आफूबाट टाढा भएकाहरू । धर्मकर्ममा लाग्न ठूलो आर्थिक स्रोतकोे आवश्यकता पर्दैन । यतिबेला पशुपतिमा भइरहेको धार्मिक अनुष्ठान र त्यसका अधिकांश सहभागी, त्यहाँ सुनिने पुरातनपन्थी आवाजमा ताली बजाउने मानिसहरू पनि कामदार जत्ति नै नभए पनि समाजबाट एक्लो–एक्लो बन्दै गएका मानिसहरू छन् ।
समाजले त्यसरी एक्लो भएका मानिसका ज्ञान, सीपको प्रयोग र भेला हुने ठाउँहरू खुम्चिइँदै गएको छ । उनीहरू के चाहन्छन् भन्ने बारेमा नीति निर्माताको चासो देखिंदैन । पढाइको एक तह सकेका र कामसँग नजोडिएका युवाहरूको तप्का सामाजिक सञ्जालमा सक्रिय छ । जसको ठूलो हिस्सा वैचारिक रूपमा धेरै विषयमा स्पष्ट छैन जसलाई अरूको विषयमा चर्को गुनासो छ, तर आफ्नो जिम्मेवारीको बोध थोरै छ । प्रायः भीडको आवाज बढाउन र भीडको मत निर्माणमा भने उनीहरूले काम गरिरहेका छन् ।
समाज र राजनीतिले मानिसहरूको क्षमतालाई आकलन र सदुपयोग गर्ने योजना बनाउन नसक्दा घरभित्रै पनि कोही आफ्ना कुरा भन्ने फुर्सद नपाएर त कोही आफ्ना कुरा सुनिदिने मानिस नपाएर एक्लो हुँदैछन् । जसले एकै घरभित्र फरक–फरक सोच–विचारका मानिसहरू निर्माण हुँदैछन् । तर, मानिसलाई एक्लो बन्न नदिन के गर्ने भन्ने बारेमा, आफ्ना विचाररहित फरक विचारलाई कसरी सम्मान गर्ने भन्ने बारेमा बहस र पहल गर्न भने ढिलो हुँदै गइरहेको छ ।
 
                









 
                     
                                     
                                 
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                                                         
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4