+
+

‘छक्कापञ्जा ५’को पत्रकार सम्मेलन : घृणा फैलाउने कार्य नगर्न आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २ गते २०:३१

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ५’ले आफूविरुद्ध घृणा फैलाउने कार्य नगर्न आग्रह गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै निर्माताले संयमित र मर्यादित भएर सामाजिक संजालमा प्रस्तुत हुन आग्रह गरे ।

निर्माता तथा अभिनेता दीपकराज गिरीले फिल्म क्षेत्रमा स्वतन्त्र प्रतिस्पर्धाको वातावरण बनाउनुपर्ने बताए । आफ्नो फिल्मलाई लक्षित गर्दै भैरहेका गालीगलौजले सकारात्मक सन्देश नजानेतर्फ सचेत गराउँदै उनले फिल्म क्षेत्रलाई असर पर्ने कार्य रोक्न सुझाव दिए ।

फिल्म क्षेत्रका मानिसले एकअर्कोलाई प्रहार गर्ने कार्य तुरुन्त रोक्नुपर्ने उनको भनाई छ । ‘छक्कापञ्जा ५’बारेको सामाजिक संजालका पोस्टमा अर्को फिल्मको कमेन्ट गर्दै भद्दा गाली गर्ने र व्यक्तिगत मर्यादामा आँच आउने टिप्पणी गर्नेतर्फ निर्माताले खेद समेत व्यक्त गरेका छन् ।

दीपकले अहिलेको वातावरण सिनेमाको भन्दा चुनावको जस्तै भैरहेको बताए । ‘पछिल्लो मतपरिणाम के छ भन्ने जस्तो भएको छ । को अग्रपंक्तिमा छ, कसको एरिया आयो ? कसले लिड गरिराख्या छ भन्ने टाइपको । कसले बढी शोज पायो, कसको कलेक्सन कति भयो ? लाग्छ, यो निर्वाचन भैरहेको छ ।’

उनले ‘छक्कापञ्जा ५’ र सँगै रिलिज भएका अन्य फिल्मको बक्स अफिस पर्फमेन्स राम्रो रहेको तर, भैरहेको तुलना दुःखद रहेको बताए । ‘जुन किसिमले तुलना गरिँदैछ, जुन किसिमले यसलाई प्रपोगाण्डा गरिँदैछ, त्यो एकदमै दुःखद छ’ उनले भने ।

फिल्म क्षेत्रको हार नहुने परिस्थिती बनाउन सबैजना जुट्नुपर्ने गिरीको धारणा छ । ‘दुईटा सिनेमाले जित्यो तर भोलि नेपाली चलचित्र उद्योगले हा¥यो भन्यो भने राम्रो मेसेज जाँदैन । हामी यसमा अलि बढी सचेत छौं’ उनले भने ।

सिनेमा वातावरण नभएर, निर्वाचनको जस्तो वातावरण बनाउँदा यसले चलचित्र क्षेत्रलाई असर गर्ने उनको भनाई छ । ‘छक्कापञ्जा ५’को घोषणादेखि स्वतन्त्ररुपमा खुलेर सामाजिक संजालमा प्रचारप्रसार गर्न नपाएको दुःखेसो पोख्दै गिरीले कुनै न कुनै चीजसँग जुधिरहनुपरेको बाध्यता पेश गरे ।

‘हाम्रो झोलीमा पैसा आयो होला । तर, त्यो रोगको रुपमा स्थापित नहोस् । गलत संस्कार स्थापित नहोस् भन्नेमा हामी एकदमै सचेत छौं’ उनले भने ।

‘अहिले छक्कापञ्जा ५’माथि भैरहेको प्रहारले भविष्यमा अन्य फिल्मलाई पनि असर गर्नसक्ने तर्फ उनले सचेत गराए । आफ्नो फिल्मका विदेशी वितरकलाई समेत दुःख दिएको र समूह बनाएर घमण्डीको फिल्म नहेर भनेको दीपकले बताए ।

‘यस्तो नेगेटिभ पब्लिसिटी किन ? आज हाम्रो फिल्ममा यस्तो हुन्छ, भोलि अर्को फिल्मलाई त्यही गर्छ । यसले राम्रो सन्देश जाँदैन’ दीपक भन्छन्, ‘स्वतन्त्ररुपमा फिल्म हेर्नूस ।’

उनले फिल्म हेर्ने दर्शकको व्यक्तिगत इच्छामा निर्भर हुने बताए । ‘कोहीले टेलिफिल्म हेर्न नजाऊँ भन्छन् । हामी त्यही पृष्ठभूमिबाट आएको हो । हामीले पस्किने स्वाद त्यही किसिमको हुन्छ होला । टेलिफिल्म मननपर्नेले ठूलो फिल्म हेर्दा हुन्छ’ उनले भने ।

‘छक्कापञ्जा ५’ हेरेर प्रशंसा गर्ने दर्शकलाई एकोहोरो गाली गर्ने कार्य भैरहेकाले त्यसलाई रोक्न उनले आग्रह गरे । ‘संयमित बनौं, मर्यादित बनौं । दर्शकले हाम्रो फिल्मको तारिफ गर्दा, गाली किन खाने ? एकोहोरो फलानो फिल्म हेरौं, फलानो फिल्म नहेरौं । यसले राम्रो मेसेज जाँदैन ।’

भविष्यमा यो प्रवृत्ति दोहोरिन सक्नेतर्फ संकेत गर्दै उनले भने, ‘बुढी मर्‍यो भन्दा पनि काल पल्क्यो भन्ने चिन्ता हो ।’

उनले पुनः स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरे । ‘कमेडी मनपर्नेले कमेडी हेरौं, एक्सन मनपर्नेले एक्सन हेरौं । सबै खालको फिल्म आउनुपर्छ । एकले अर्कोलाई प्रहार गरेर हामी आफै सकिन्छौं । हाम्रो क्षेत्रको साथीहरुलाई मात्रै भन्छु म’ उनले भने ।

धेरै नकारात्मकता फैलिँदा आफूहरुले खुसी मनाउन समेत नपाएको दीपकको भनाई छ । ‘एकदमै धेरै नेगेटिभिटी फैलियो । पैसा त आयो तर आनन्द आएन । सफलता त आयो तर हामी कहिँपनि खुसी मनाउन गएका छैनौं यसपटक । हामीले किन यस्तो नेगेटिभ संस्कार प्रस्तुत गरिराख्या छौं भन्ने कुराले पोलिराख्या छ’ उनले भने, ‘हामीलाई सफलताले भन्दा बढी नकारात्मकताले दुखेको छ ।’

आफूहरुबाट केही गल्ती भए माफी दिन उनले आग्रह गरे । पत्रकार सम्मेलनमा निर्देशक दीपाश्री निरौला, कलाकार केदार घिमिरे माग्ने बुढा र वर्षा सिवाकोटीले पनि नकारात्मकता अन्त्य गर्न आग्रह गरे । ‘छक्कापञ्जा’को चौंथो सिरिज यता शुक्रबार आमा सरस्वती मूभिजको यो पहिलो पत्रकार सम्मेलन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?