११ कात्तिक, बहराइन । बहराइनको मानामामा जारी आईएसएफ जिम्नासाइडको टेबलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबलाई पराजित गरेको छ ।
बहराइन नेसनल स्टेडियास्थित इसा स्पोर्ट्स सिटी हल ‘बी’ मा ९ देखि १३ औं स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबलाई ४–१ ले पराजित गर्यो ।
जितपछि अब नेपालले सोमबार ९ देखि ११ औं स्थानका लागि युगान्डा वानसँग खेल्ने छ । यो खेल जितेमा नेपालले पुनः ९ देखि १० औं स्थानका लागि खेल्ने अवसर पाउने छ । नतिजा अनुकूल नआएमा नेपाल ११ औं स्थानमा रहने छ ।
महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इङल्यान्ड, अजरवैजान, इटाली र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल इङ्ल्यान्डसँग ४–३, अजरवैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईसँग ७–० ले पराजित भएको थियो ।
महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलिरहेका छन् ।
महिलामा नेपालले सिंगल्स स्पर्धामा पनि प्रतिस्पर्धा गर्ने छ । पुरुषमा जेविश बुर्लाकोटी र आशिष महताले पनि सिंगल्समा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
थ्री एक्स थ्री बास्केटबलमा नेपाल टुको मिश्रित प्रदर्शन
यसैबीच आईएसएफ जिम्नासाइडको पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपाल टुले शनिबार मिश्रित प्रदर्शन गरेको छ । नेपाल टुले २ खेल खेलेकोमा एक खेल जित्दा एक खेलमा पराजित भयो ।
आईएसएसओ भारतलाई १५–२ ले पराजित गरेको नेपाल टु ओमानसँग २०–७ ले पारजित भयो । आसिफ महर्जन, अदम्य महर्जन र दावा छिरिङ लामा तामाङ कोर्टमा उत्रिएका थिए ।
बास्केटबलमा नेपालबाट ४ टिम सहभागी छन् । ४ टिमले उक्त २ खेलसहित जम्मा ८ खेल खेलेको थियो । चारै टिमले समान २–२ खेलेका थिए । आईएसएसओ भारत विरुद्धको खेलमा मात्र नेपाल विजयी भयो ।
बहराइन नेसनल स्टेडियमस्थित इसा स्पोर्ट्स सिटी, आउटडोरमा भएको प्रतियोगितामा नेपाल वान स्लोभेनिया टुसँग १५–१२ तथा नाइजेरियासँग १५–९ ले पछि प¥यो । प्रणय बासी, समराज श्रेष्ठ, प्रणयमान श्रेष्ठ र प्रथम श्रेष्ठले खेलेका थिए ।
युगान्डाले नेपाललाई थ्रीलाई १३–९ तथा बहराइन फोरले नेपाललाई थ्रीलाई १३–१० ले पाखा लगाए । लक्की महर्जन, कृषण लाखे श्रेष्ठ, आशिषकुमार थापा मगर र सशान्त कार्कीले नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
नेपाल फोर चीनसँग १६–१० ले पछि पर्यो भने भारतसँग अत्तिरिक्त समयमा १६–१४ ले चुक्यो । भारत विरुद्धको निर्धारित समयको खेल १४–१४ को बराबरीमा सकिएको थियो । आदर्श बस्नेत, अश्विन चालिसे, सागर परियार र कृष लामा नेपाल फोरको टोलीमा छन् ।
फोटो: लोकेन्द्र बस्नेत/राखेप
प्रतिक्रिया 4