+

आईएसएफ जिम्नासाइडमा बक्सिङकी स्वस्तिका फाइनलमा, नेपाललाई अर्को रजत पक्का

२०८१ कात्तिक  १२ गते २३:०१ २०८१ कात्तिक १२ गते २३:०१
आईएसएफ जिम्नासाइडमा बक्सिङकी स्वस्तिका फाइनलमा, नेपाललाई अर्को रजत पक्का

१२ कात्तिक, काठमाडौं । आईएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपालकी स्वस्तिका तिरुवा सोमबार फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पक्का गरेकी छन् ।

बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि सेमिफाइनलमा स्वस्तिकाले ब्राजिककी फरेरालाई ५-० ले पराजित  गरिन् ।

स्वस्तिकाले ब्राजिलकै खेलाडीलाई फाइनल प्रतिद्वन्द्वीका रुपमा पाएकी छन् । मंगलबार हुने फाइनलमा स्वस्तिकाले ओलिभिएराको सामना गर्ने छिन् ।

पुरुष ४६ केजीमुनि नेपालका रोहित जनाला अर्मेनियाका किराकोस्यानसंग ५-० ले हारे । उक्त खेल सेमिफाइनल भएकाले हारका बावजुद रोहितको कांस्य पदक पक्का भएको छ ।

पुरुष ८० केजीमुनि युथमा नेपालका नोर्बु थेन्डुप शेर्पाले मंगलबारै फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरविरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

नेपालबाट बक्सिङमा ५ खेलाडीले सहभागिता जनाएकोमा पुरुष ६३ केजीमुनि नेपालका युनिक राईमात्र पदकविहीन बने । पुरुष ८० केजीमुनि नेपालका सूर्यान वैद्यले पनि कांस्य निश्चित गरिसकेका छन् ।

तेक्वान्दोमा नेपालकी निविता केसीले कांस्य पदक जितेकी छन् । इसा स्पोर्ट्स सिटी हल ‘सी’ मा भएको खेलमा निविताले ६.४८२ अंक जोडिन् । ४ खेलाडी सहभागी उक्त स्पर्धामा बहराइनले स्वर्ण तथा युएइले रजत पदक जिते । अर्को तेश्रो हुने राष्ट्रमा भारत रह्यो ।

पुरुष ६८ केजीमुनि नेपालका अविन श्रेष्ठ मेक्सिकोका खेलाडीसंग २-० ले चुके । पहिलो राउन्डमा १३-० ले पछि परेका अविनले दोस्रो राउन्डको नतिजा ७-६ ले सुम्पिए । विश्व तेक्वान्दो (डब्लुटी) ले यो प्रतियोगितालाई जि वान र्‍याङकिङको मान्यता दिएको आयोजक अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आईएसएफ) का कार्यकारी सदस्य एवं आईएसएफअन्तर्गत तेक्वान्दो प्राविधिक कमिटीका संयोजक राजकुमार कार्कीले जनाएका छन् ।

टेबलटेनिसको महिला टिम इभेन्टमा नेपालले १० औं स्थान हासिल गरेको छ । इसा स्पोर्ट्स सिटीले हल ‘बी’ मा नेपालले युगान्डालाई ४-१ को सेटमा पराजित ग¥यो । नवौं स्थानका लागि भएको खेलमा भने अजरवैजानले नेपाललाई ४-१ ले हरायो ।

महिला टिम इभेन्टमा नेपालका इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलेका थिए । चारै खेलाडीले सिंगल्समा पनि सहभागिता जनाउने छन् । पुरुष सिंगल्समा जेविश बुर्लाकोटी र आशिष महताले खेल्ने छन् । सिंगल्स खेल मंगलबारदेखि हुनेछ ।

ब्याडमिन्टनको पुरुष सिंगल्समा नेपालका कविर केसीले विजयी सुरुआत गरेका छन् । इसा स्पोर्ट्स सिटी हल ‘ड’ मा कविरले भारतका कायाउ तेत्लाई २१–१ र २१–४ को सोझो सेटमा सहजै पराजित गरे । नेपालबाट ब्याडमिन्टन सहभागी हुने कविर एक्लो खेलाडी हुन् ।

नेपालद्वारा भारत पराजित

आईएसएफ जिम्नासाइड समर गेम्सको पुरुष थ्री बाइ थ्री बास्केटबलमा नेपाल थ्रीले भारत टुलाई सोमबार पराजित गरेको छ ।

इसा स्पोर्ट्स सिटी, आउटडोरमा भएको खेलमा नेपाल थ्रीले भारत टुलाई २१–९ ले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा इटालीले नेपाल थ्रीलाई ८–६ ले हरायो । नेपाल थ्रीले लिगको अन्तिम दिन मंगलबार नर्थ मेसेडोनिया, ब्राजिल र मालावीसंग खेल्ने छ ।

नेपाल फोर बहराइन वानसंग १७–८ र चिलीसंग १२–९ ले चुक्यो । मंगलबारै नेपाल फोरले बहराइन सिक्स र टु तथा क्रोएसियासंग प्रतिस्पर्धा गर्ने प्रशिक्षक प्रेमसुन्दर होनाले जनाएका छन् ।

आईएसएफ जिम्नासाइड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय