+
+

दमक हत्या प्रकरणमा किन भइरहेको छ प्रहरीको आलोचना ?

सत्तारुढ दलका कार्यकर्ता जोडिएपछि प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेको आरोप

झापामा धेरैले अघिल्लो साता मंगलबार दमक नगरपालिका–९ का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्या प्रकरणको अनुसन्धानमा प्रहरीको भूमिकामाथि प्रश्न गरिरहेका छन् ।

गौरव पोखरेल गौरव पोखरेल
२०८१ कात्तिक १४ गते २०:५७

१४ कात्तिक, काठमाडौं । झापा दमक घर भएकी तनुजा पाण्डेले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीको गृहनगरमा भएको एउटा हत्या प्रकरणमा प्रहरी अनुसन्धान निष्पक्ष हुन नसकेको भन्दै स्ट्याटस लेखिन् ।

‘हत्या भएको करिब २४ घन्टाभित्र मात्रै प्रहरीले जाहेरी बुझी लिन फुर्सद पाउँछ, तर निष्पक्ष अनुसन्धान अघि बढ्दैन’, नेशनल ल कलेजमा कानुन अध्ययरत् पाण्डेले भनेकी छन्, ‘अभियुक्तको बचाउमा पहुँचवालाहरु अघि बढेको हुँदा ६ दिन भइसक्दा पनि परिवारले शव बुझ्न अस्वीकार गर्छ ।’

पाण्डेजस्तै झापाका थुप्रैले अघिल्लो साता मंगलबार दमक–९ का ३७ वर्षीय देशु भनिने यामु निरौलाको हत्या प्रकरणको अनुसन्धानमा प्रहरीको भूमिकामाथि प्रश्न गरिरहेका छन् ।

परिवार र स्थानीय प्रहरीप्रति किन असन्तुष्ट भए ? मृतकका दाइ नवराज निरौला गुनासो गर्छन्, ‘यसमा प्रधानमन्त्रीसँगै नजिक भएका व्यक्तिहरु नै जोडिएकाले प्रहरीले हाम्रो जाहेरी नै लिन मानेन, त्यही कारण सबैले आवाज उठाउनुपरेको हो ।’

‘दुई जनाको नाम हटाउनु भनेपछि हामीले इलाका प्रहरी कार्यालय अगाडि आन्दोलन नै गर्नुपर्‍यो, बल्लतल्ल जाहेरी दर्ता भएपछि शव उठाएर काम गर्न थालेका छौं’, मृतकका दाइ नवराजले भने ।

उनले दाबी गरेअनुसार निरौलाको हत्या सम्बन्धमा जाहेरी लिएर जाँदा इलाका प्रहरी कार्यालय, दमकका डीएसपी निशान थापाले दुई जनाको नाम हटाएर ल्याउन भनेका थिए ।

उनका अनुसार, डीएसपी थापाले त्यसरी हटाउन लगाएका दुई जनामा वुद्धि थापा र नम चेम्जोङ थिए, जो एमालेका सक्रिय कार्यकर्ता हुन् ।

थापा एमाले प्रदेशसभा सदस्य होमबहादुर थापाका भाइ हुन् । उनका भाइ गोविन्द थापा कुनै बेला ओलीको सचिवालयमा कार्यरत थिए । थापा अहिले एमाले केन्द्रीय सदस्यसमेत हुन् ।

उनको झापाका एमाले इञ्चार्ज रोमनाथ ओलीसँग पनि नाता पर्छ । चेम्जोङ चाहिँ एमालेको भ्रातृ संगठन युवा संघका पूर्वकेन्द्रीय सदस्य हुन् ।

दमक नगरपालिका–३, मावाखोला नजिक मोरङको मिक्लाजुङ जोड्ने पुल छेउमा निरौलाको हत्या भएको ६ दिनसम्म परिवारले संलग्न सबैमाथि निष्पक्ष अनुसन्धानको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको थियो । सोमबार शव बुझेर परिवारले अन्त्येष्टि गरेको छ ।

‘दुई जनाको नाम हटाउनु भनेपछि हामीले इलाका प्रहरी कार्यालय अगाडि आन्दोलन नै गर्नुपर्‍यो, बल्लतल्ल जाहेरी दर्ता भएपछि शव उठाएर काम गर्न थालेका छौं’, मृतकका दाइ नवराजले थपे, ‘प्रहरीले अझै उनीहरुलाई समातिसकेको भने छैन ।’

स्थानीय एमालेका राजनीतिकर्मीहरुले घरमा आएर पनि थापा र चेम्जोङविरुद्ध जाहेरी नदिन भन्दै प्रलोभन देखाएको मृतकका दाइ नवराज बताउँछन् ।

‘उहाँहरुले यस्तो केश केही होइन, फिर्ता गरेनौं भने पनि हुनेवाला केही छैन भन्नुभयो । बरु दाहसंस्कार गर्ने खर्च दिउँला भन्नुभयो’, उनले अनलाइनखबरसँग फोनमा भने, ‘मैले पनि मेरो भाइ ल्याइदेऊ, म जाहेरी फिर्ता गरौंला भनेँ ।’

दमकका डीएसपी थापाले भने आफूले घटनाबारे बताउन नमिल्ने भन्दै जिल्ला प्रहरी कार्यालय, झापामार्फत नै बुझ्नुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्ण चन्दले घटनामा संलग्नको आरोप लागेकामध्ये मोरङ, उर्लाबारीका ४२ वर्षीय प्रकाश कार्की, ४९ वर्षीय ध्रुब गौतम र संखुवासभाका २६ वर्षीय गणेश दर्जीलाई पक्राउ गरिसकिएको बताए ।

‘घटनास्थलमा रहेको मे १ च २३९९ र प्रदेश १–०१–००१ च ८६३१ नम्बरको गाडी पनि बरामद गरेका छौं’, चन्दले भने, ‘संलग्न अन्यको खोजी गर्नलाई कोशी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालयसँगै दमकबाट प्रहरी टोली खटिइरहेको छ ।’

के हो घटना ?

मृतक निरौलाको पारिवारिक स्रोतका अनुसार, उनी पहिले जग्गा व्यवसायमा संलग्न थिए । पछिल्ला वर्षहरुमा जग्गा कारोबार ठप्पजस्तै हुँदा उनी फुर्सदिला थिए ।

कारोबारका क्रममा उनको ठेकेदारहरुसँग पनि चिनजान भएको थियो । त्यही क्रममा उनलाई दमकको मावा खोला नजिकै रहेको पुरानो क्रसरको सामान बेच्नलाई प्रस्ताव आएको थियो । त्यहाँ एउटा समूहले क्रसर चलाउनलाई लामो समयदेखि सामान राखे पनि काम अघि नबढेपछि अलपत्र परेको थियो ।

त्यहीँ भएको क्रसरका सामग्री हटाउन मृतक निरौला गएको मंगलबार दिउँसो साढे ४ बजेतिर डोजर लिएर जग्गामा पुगेको परिवारका सदस्यहरु बताउँछन् ।

तर, निरौला पुगेको जग्गामा दुई पक्षबीच पहिल्यैदेखि विवाद रहेको दमक नगरपालिका वडा नंं ९ का वडाध्यक्ष कुवेर भट्टराई बताउँछन् ।

‘एउटा समूह बैना दिइसकेकाले जग्गा हाम्रो हो भनेर सम्याउने काम सुरु गरिसकेको थियो, अर्को पक्षले पनि आफूहरुले खरिद गरिसकेको हाम्रो जग्गा हो भनेर निस्किएको थियो’, उनले भने, ‘यस्तोमा मृतकलाई त्यहाँ जमिन सम्याउन जाँदा विवाद भएको बुझेको छु ।’

पारिवारिक स्रोतका अनुुसार, निरौला चिनजानको साथीको फलाम सम्बन्धी कारोबार भएकाले केही आम्दानी हुने सोचेर त्यहाँ पुगेका थिए ।

तर, उनी गएर फलाम उठाउन थालेपछि विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा पनि देखिएको छ । त्यसक्रममा ध्रुव गौतम, गणेश दर्जी, नम चेम्जोङ लगायतले उनलाई कुटपिट गरेको अधिकृतहरुको भनाइ छ ।

दुई पक्षबीच कुटाकुट हुँदा निरौला गम्भीर घाइते भएपछि पक्राउ परेकामध्ये कार्कीसहितकाले दमकस्थित आम्दा अस्पताल लगेका थिए ।

अस्पताल पुर्‍याएपछि मात्रै घटनाबारे थाहा भएको घटनास्थल पर्ने वडा नंं ३ का वडाध्यक्ष नवीन बरालले बताए । उनले भने, ‘तर, अस्पतालले लैजानेवित्तिकै डाक्टरहरुले मृत्यु भइसकेको बताएछन् ।’

घटना भइसकेपछि पुग्दा प्रकाश कार्कीले जग्गा किनेको भने निरौलालाई बोलाएको थाहा पाएको बरालले सुनाए । ‘साढे ४ बजे नै उहाँको मृत्यु भएको रहेछ, साढे ५ बजे घटनास्थलमा पुग्दा एक जना प्रहरी मात्र त्यहाँ थिए’, उनले भने ।

सीसी टीभीमा देखिन्छ कुटाकुटको दृश्य

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी चन्दका अनुसार, घटनास्थलमा विवाद भएको दृश्य केही पर रहेको क्लोज सर्किट (सीसी) टीभी क्यामरामा समेत कैद भएको छ ।

प्रहरीका अनुसार, दमक नगरपालिकाले जडान गरेको त्यो क्यामरा ३६० डिग्रीमा घुम्ने भएकाले केही दृश्यहरु त्यसमा कैद भएको छ ।

‘सीसी टीभी फुटेजको दृश्यमा देखिएका व्यक्तिहरुमाथि अनुसन्धान गरिरहेका छौं’, चन्दले भने, ‘जाहेरी परेकामध्ये अन्यको संलग्नताको विषयमा प्राविधिक विश्लेषण गरेर समेत छानबिन गरिरहेका छौं ।’

जाहेरी परेकामध्ये थापा, नम चेम्जोङ, दमकका शेरबहादुर नेम्वाङ, इटहरीका डेबिड घलेलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत, झापाबाट पक्राउ अनुमति समेत लिइसकेको उनले बताए । ‘फरार प्रतिवादीहरुको तदारुकताका साथ खोजतलास गरिरहेका छौं’, चन्दले थपे ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?