+
+

‘हरि हजुरबा’बाट नाटकमा फर्किए विजय बराल

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १३:३१

काठमाडौं । अभिनेता विजय बरालले यतिबेला फिल्म ‘पूर्णबहादुरको सारंगी’बाट सफलताको स्वाद चाखिरहेका छन् । नेपालसहित डायस्पोरामा समेत फिल्मले उछाल कमाइ गरिरहेको छ ।

यसैबीच, विजयका फ्यानलाई लिएर नयाँ खबर छ । विजयले केही महिना फिल्मबाट विश्राम लिने भएका छन् । नाजिर हुसेनले निर्देशन गर्न लागेको नाटक ‘हरि हजुरबा’बाट विजय नाटकमा फर्किंदैछन् ।

नाटकमा विजय र नाजिर दुवैले अभिनय गर्ने पक्का भएको छ । निर्माण चाहिं दयाहाङ राईले गर्नेछन् । मंसिर मध्यदेखि पुस मध्यसम्म मञ्चन हुने यो नाटकको रिहर्सल केही दिनमा सुरु हुने नाजिरले बताए ।

नाजिरको यो तेस्रो नाटक हुनेछ । यसअघि उनले ‘सनलेक’ र ‘कुरुप हाँस’ निर्देशन गरिसकेका छन् । नाजिरको पनि सात वर्षपछि नाटकमा पुनरागमन हुनेछ ।

‘हरि हजुरबा’ले दुई पुस्ताका पात्रको कथा भन्ने नाजिर बताउँछन् । हजुरबुबा कुरेर बसेकी छोरीको कथामा नाटक बन्न लागेको हो । ‘यसमा जीवन दर्शन पनि मिसिएको छ । पर्खाइ कति गाह्रो छ भन्ने कुरा यसले भन्छ’, नाजिरले भने, ‘यसले अलिकति द्वन्द्वको समयलाई पनि प्रतिनिधित्व गर्छ ।’

यो नाटक यस वर्ष मण्डलाले घोषणा गरेका १४ नाटकमध्येको एक हो । प्रवीण खतिवडाले निर्देशन गरेको ‘अन्धवेग’ पहिलो नाटक थियो । दोस्रोमा अनिल सुब्बाको ‘मेखीदण्ड’ थियो । तेस्रो नाटकको रुपमा केदार श्रेष्ठ निर्देशित ‘ढुकढुकी ७२ मेगाहर्ज’ यतिबेला मञ्चन भइरहेको छ । यसपछि अनुप बराल, पशुपति राई, किरण चाम्लिङले निर्देशन गर्ने नाटक मञ्चनको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?