२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न लागेको सन्देशस्वरूप कर्णाली याक्सको झन्डा प्रसिद्ध धार्मिक स्थल र ठाउँमा फहराइएको छ ।
भारतको प्रसिद्ध धार्मिक स्थल केदारनाथ र अमेरिकाकाे टाइम्स स्क्यायरमा ‘कर्णाली याक्स’ को सफलताकाे कामना गर्दै समर्थकले झण्डा फहराएका हुन् ।
भारतको उत्तराखण्डस्थित केदारनाथ पुगेर चितवनका सागर भट्टराईले टाेलीको झन्डा फहराउँदै भनेका छन्, ‘कर्णाली याक्सले एनपीएल खेल्दैछ । उपाधि जितको लागि शुभकामना दिन चाहन्छु ।’
त्यस्तै अमेरिकामा दिनेश शेर्पालीले साथीसँग मिलेर न्युयोर्कस्थित टाइम्स स्क्वायरमा कर्णालीको झण्डा फहराएका छन् । एनपीएलको माहोल बढ्दै जाँदा समर्थकको मायाले टिमको उत्साह र हौसला बढ्ने कर्णाली याक्सका गृहेन्द्र घिमिरे बताउँछन् । ‘कर्णाली याक्सप्रति समर्थकले देखाउनुभएको माया र समर्थनले हाम्रो टिमलाई थप हौसला बढाएको छ’ घिमिरेले भने, ‘यसले एकातिर एनपीएलको माहोल बढाएको छ भने क्रिकेटमा लगानी गर्न आउने नीति क्षेत्रलाई पनि प्रोत्साहन दिएको छ ।’
हिमालयन विल्डर्स एन्ड इन्जियर्सले मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व खेलाडी ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरिसकेको छ । टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्शन झा, देव खनालसहित नन्दन यादव छन् ।
कर्णाली याक्सले विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपिएपल खेल्ने पक्का भइसकेको छ । यस्तै, नेपाली अन्य खेलाडीमा ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
कर्णाली याक्सको स्वामित्व हिमायलन विल्डर्स एन्ड इन्जिनियर्ससँग रहेको कर्णाली याक्सले यसअघि कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । टिमको हस्पिटालिटी पार्टनरमा हिल्टन होटल रहेको छ । प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।
प्रतिक्रिया 4