+
+

ग्वार्को फ्लाई ओभर : ठेक्का अवधिभित्र काम सकिनेमा शंका

अब रेलिङ, पेभमेन्ट र रङरोगनको काम बाँकी छ । एमएसई वालसहित अप्रोच सडक अन्तर्गत कोटेश्वरतर्फ ३२० मिटरमध्ये २५६ मिटरको मात्र काम भएको छ । सातदोबाटोतर्फ १८० मिटरमध्ये १२० मिटर जडान सकिएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ कात्तिक २६ गते २०:१०
सोमबार बिहान निर्माणाधिन फ्लाई ओभरको स्थलगत निरीक्षण गर्दै मन्त्री देवेन्द्र दाहालसहितको टोली ।

२६ कात्तिक, काठमाडौं । ११ फागुन २०८० मा निर्माण सम्पन्न हुने गरी १२ फागुन २०७८ मा ठेक्का लागेको ललितपुरस्थित ग्वार्को फ्लाई ओभरको काम थप गरिएको अवधिमा समेत नसकिने देखिएको छ । यो आयोजनाको थप भएको अवधि ८ पुस २०८१ सम्म छ ।

आयोजनाका अनुसार पुल निर्माणको काम ९८ प्रतिशत सकिएको छ । तर, अप्रोच सडकको ५ सय मिटर काम अझै बाँकी छ । यसबाहेक कालोपत्र समेत हुन बाँकी छ । यस संरचनामा ट्राफिक लाइटको समेत डिजाइन स्वीकृत भएको अवस्था देखिएको छ ।

अबको बाँकी एक महिनामा ग्वार्को फ्लाई ओभरको काम सक्न युद्धस्तरमा काम गर्नुपर्छ । यो आयोजनाको काम आशिष–समानान्तर–रेलिगेर जेभीले गरिरहेको छ ।

ग्वार्को फ्लाई ओभर अन्तर्गत ३० मिटर स्पानसहित ४ लेनको पुल निर्माण हुँदैछ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बन्ने छ । जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ । ‘मेकानिकल्ली स्टेबलाइज्ड अर्थ वाल’ (एमएसई) सहित अप्रोच सडकमा भने अझै धेरै काम बाँकी रहेको आयोजनाको प्रगति रिपोर्टमा देखिन्छ । आयोजनाका अनुसार पुल निर्माणको भौतिक प्रगति ९८ प्रतिशत छ ।

जसमा अब रेलिङ, पेभमेन्ट र रङरोगनको काम बाँकी छ । एमएसई वालसहित अप्रोच सडक अन्तर्गत कोटेश्वरतर्फ ३ सय २० मिटरमध्ये २ सय ५६ मिटरको मात्र काम भएको छ । सातदोबाटोतर्फ १ सय ८० मिटरमध्ये १ सय २० मिटर जडान सम्पन्न भइसकेको आयोजनाको प्रगति विवरणमा उल्लेख छ ।

यो सडकमा कालोपत्रको काम भने अझै सुरु हुन सकेको छैन । ट्राफिक लाइट जडानको काम भने डिजाइन मात्र स्वीकृत भएको अवस्थामा छ ।

सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार ठेकेदार कम्पनीले पुससम्म तीव्र गतिमा काम गर्दा पनि नसक्ने बताएको छ । ‘अहिले कामले गति लिएको देखिन्छ,’ उनले भने, ‘चैतसम्म सक्छौं भन्ने उहाँहरूको भनाइ छ ।’

विगतमा काममा केही ढिलासुस्ती हुँदा तोकिएको समयमा सक्न मुस्किल हुने गुनासो निर्माण पक्षको रहेको उनले जानकारी दिए ।

यो आयोजनाको वित्तीय प्रगति भने ४५.५४ प्रतिशत पुगेको छ । कुल १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा ठेक्का लागेको ग्वार्को फ्लाई ओभरको अहिलेसम्म ७ करोड ७७ लाख ३३ हजार ५ सय १५ रुपैयाँ खर्च भएको छ । यो आयोजना ‘इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (ईपीसी) मोडेलमा बनाउने गरी २०७८ सालमा टेन्डर निस्किएको थियो ।

निर्माण कम्पनीबाटै डिजाइन तयार भई सडक विभागबाट स्वीकृत भएपछि आयोजना निर्माण थालिएको थियो । चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाइ माथि उठाएर फ्लाई ओभर बनाइएको हो । ग्वार्को चोकमा बन्ने पुल मुनिबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्वाध चल्न सक्ने गरी यो आयोजना बनाइएको हो ।

समयमै सक्न भौतिकमन्त्रीको ताकेता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यो आयोजना ठेक्का अवधिभित्रै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । सोमबार आयोजनाको स्थलगत अनुगमनमा पुगेका उनले यो आयोजना काठमाडौंको सहरी तथा यातायात व्यवस्थापनमा महत्त्वपूर्ण हुने भएकाले समयमै सक्न निर्देशन दिए ।

उनले फ्लाईओभर निमार्णको गतिमा तिब्रता दिन निर्देशन दिँदै पूर्वाधार र विकास आयोजनामा ढिलासुस्ती सह्य नहुने बताए ।

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?