+

नेपाल प्रिमियर लिग : १० जिज्ञासा र जवाफ

२०८१ कात्तिक  २७ गते ८:५८ २०८१ कात्तिक २७ गते ८:५८
नेपाल प्रिमियर लिग  : १० जिज्ञासा र जवाफ

२७ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर-पुसमा फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना हुँदैछ ।

नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो फ्रेन्चाइज लिगको रुपमा रहेको एनपीएलको तयारी तीव्र रुपमा भइरहेको छ ।

फ्रेन्चाइजहरु अहिले टिम तयारी गर्ने, प्रशिक्षण गर्ने, ट्यालेन्ट हन्ट गर्ने, जर्सी, रिभेलदेखि ब्राण्ड एम्बासडर घोषणा गर्नेसम्म काममा व्यस्त छन् ।

आयोजक क्यान मैदानको तयारी गर्ने स्पोनर र ब्रोडकास्टर फिक्स गर्ने तयारीमा छ । समर्थकहरु लिगका लागि प्रतीक्षा गरेर बसिहरका छन् ।

३० भन्दा बढी विदेशी खेलाडीहरु एनपीएल खेल्न अनुबन्ध भइसकेकोले यसपटक टीयू मैदानमा धेरै विदेशीको खेल हेर्न पाइनेछ । यस्तै प्रशिक्षकहरु भने धेरै जसो विदेशी नै छन् ।

घरेलु खेलाडीहरू पनि ठूलो संख्यामा एनपीएलमा सहभागी हुँदैछन् । यस्तै ट्यालेन्ट हन्टमा पनि क्रिकेटरहरुको उत्साहजनक सहभागिता छ ।

नेपाली क्रिकेटमा एनपीएलले ठूलो परिवर्तन ल्याउने र क्रिकेट विकासमा सहयोग गर्ने र इँटा थप्ने काम गर्ने क्यानको विश्वास छ ।

क्यानका सचिव पारस खड्काको संयोजत्कवमा रहेको एनपीएलमा गभर्निङ काउन्सिलका क्यानका कोषाध्यक्ष पदम खड्का र क्यान सदस्य सुदिप शर्मा छन् ।

एनपीएल कहिले हुन्छ ?

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा पहिलो पटक हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) मंसिर १५ देखि पुष ६ गते (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म हुन्छ ।

एनपीएलमा कतिवटा टिम सहभागी हुन्छन् ?

एनपीएलमा कूल ८ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । त्यसमध्ये तीनवटा टोलीको प्रदेश र पाँचवटा टोलीको सहरको नामबाट नामाकरण गरिएको छ ।

सातवटै प्रदेशबाट प्रतिनिधित्व हुने गरी टिम निर्माण गरिएको छ भने बागमती प्रदेशबाट दुई फ्रेन्चाइज छन् । कोशी प्रदेशबाट विराटनगर किंग्स, मधेश प्रदेशबाट जनकपुर बोल्ट्स, बागमती प्रदेशबाट काठमाडौं गुर्खाज र चितवन राइनोज, गण्डकी प्रदेशबाट पोखरा एभेन्जर्स, लुम्बिनी प्रदेशबाट लुम्बिनी लायन्स, कर्णाली प्रदेशबाट कर्णाली याक्स र सुदूरपश्चिम प्रदेशबाट सुदूरपश्चिम रोयल्स छन् ।

एनपीएल कुन मैदानमा हुन्छ ?

एनपीएल कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ । नेपालमा अन्तर्राष्ट्रियस्तरको मैदान कम रहेकोले एनपीएलको पहिलो संस्करण टीयू मैदानमा मात्र गर्ने क्यानको तयारी छ ।

एक टिम कति खेलाडी हुन्छन् ?

एनपीएलका लागि एक टिममा कम्तीमा १६ खेलाडी हुनुपर्नेछ । जसमा एक जना मार्की खेलाडी छन् भने हरेक फ्रेन्चाइजले अक्सनबाट १० खेलाडी अनुबन्ध गरिसकेका छन् । यस्तै हरेक टिमले ४ विदेशी खेलाडी अनिवार्य राख्नुपर्नेछ । विदेशी खेलाडीको उपलब्धता हेरेर एक फ्रेन्चाइजले ६ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् ।

यसैगरी ट्यालेन्ट हन्टबाट पनि हरेक टिमले एक खेलाडी टिममा राख्नुपर्नेछ । ट्यालेन्ट हन्टमा धेरै खेलाडी सहभागी भइरहेका छन् । फ्रेन्चाइजले मुख्य टोलीमा एक खेलाडी मात्र राखेपनि ट्यालेन्ट हन्टबाट केही खेलाडी टिमसँगै प्रशिक्षण गर्नेगरी छनोट गर्न सक्नेछन् ।

एक टिममा १६ खेलाडीको हिसाबमा पनि १२८ खेलाडी हुनेछन् ।

विदेशी खेलाडी कति हुनेछन् ?

एनपीएलमा हरेक फ्रेन्चाइजले ४ विदेशी खेलाडी अनुबन्ध गर्नुपर्नेछ । यसरी हेर्दा एनपीएल खेल्नका लागि कूल ३२ खेलाडी नपाल आउने पक्का छ । त्यसमा विदेशी खेलाडी ६ जनासम्म अनुबन्ध गर्न पाउने नियम छ । कुनै विदेशी खेलाडी प्रतियोगिताको बिचमै छाडेमा त्यहाँ ६ जनाबाट त्यसको अर्को रिप्लेसमेन्ट राख्न पाउनेछ ।

एनपीएलका लागि अहिलेसम्म अनुबन्धका भएका ठूला नाममा विश्व चर्चित न्युजिल्याण्डका मार्टिन गप्टिल, जिम्मी निसम र स्कट कुगेलेइन, अष्ट्रेलियाका बेन कटिङ र दक्षिण अफ्रिकाका मर्चेन्ट डे ल्याङ छन् ।

त्यसबाहेक इंग्ल्याण्डको काउन्टी र भाइटालिटी ब्लास खेलेका खेलाडी धेरै छन् ।

यसैगरी अष्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अफ्रिका बाहेक टेष्ट राष्ट्र वेष्ट इंग्ल्याण्ड, इन्डिज, पाकिस्तान, अफगानिस्तान खेलाडीहरु पनि अनुब्नध भएका छन् ।

एशोसिएट राष्ट्र नेदरल्याण्ड्स, स्कटल्याण्ड, यूएई, नामिबिया, अमेरिका, ओमान, क्यानडा, हङकङका खेलाडीहरू पनि एनपीएलमा अनुबन्ध भएका छन् ।  नेपाल बाहेक कूल १५ देशका खेलाडीहरू एनपीएल खेल्न आउँदैछन् ।

लाइभ हेर्न पाइन्छ ?

एनपीएलको ब्रोडकास्टिङ राइटबारे अहिलेसम्म केही घोषणा भएको छैन । एनपीएलको कमर्सियल राइट्स पाएको ब्राण्ड लजिकले विश्व चर्चित भारतीय स्टार स्पोर्ट्ससँग प्रत्यक्ष प्रशारणको लागि कुरा भइरहेको बताए पनि अन्तिम निर्णय भएको छैन ।

विजेता कति पुरस्कार पाउनेछन् ?

क्यानले एनपीएलको विजेताले पाउने पुरस्कार घोषणा गर्न बाँकी छ ।

मुख्य स्पोनसर ?

एनपीएलको मुख्य स्पोनरसर केही दिनमै घोषणा हुनेछ ।

एनपीएलमा विदेशी प्रशिक्षक कति छन् ?

एनपीएलका ८ टोलीका प्रशिक्षक ।

एनपीएलमा यसपटक घरेलुभन्दा विदेशी प्रशिक्षक धेरै छन् । सहभागी ८ मध्ये ५ टिममा विदेशी प्रशिक्षक छन् । त्यसमा पनि दुई जना राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पनि छन् । यस्तै अर्का प्रशिक्षक नेपाली राष्ट्रिय टिमको ब्याटिङ कन्सलट्यान्टको रुपमा रहेका प्रशिक्षक पनि छन् ।

नेपाली राष्ट्रिय टिम सम्हालिसकेका पुबुदु दासानायके र उमेश पटवालसँगै आइपीएलमा चेन्नाइको सहायक प्रशिक्षक रहेका राजीव कुमार, नेपालको कन्सलट्यान्ट प्रशिक्षक नन्दन फाडनिस र आयरल्याण्डका पूर्वक्रिकेटर केभिन ओ’ब्रायन प्रशिक्षकको रुपमा छन् ।

नेपालबाट राष्ट्रिय टिमका पूर्वप्रशिक्षक जगत टमाटा, पूर्वसहायक प्रशिक्षक बसन्त शाही ठकुरी अनि राष्ट्रिय टिमका पूर्वकप्तान तथा नेपाल ए टिमका प्रशिक्षक रहिसकेका ज्ञानेन्द्र मल्ल छन् ।

कुन टिममा कस्ता खेलाडी छन् ?

विराटनगर किंग्स

सन्दीप लामिछाने, प्रतिश जिसी, लोकेश बम, बसिर अहमद, जितेन्द्र मुखिया, राजेश पुलामी, दिपक बोहरा, सुवास भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, अनिल खरेल

विदेशी खेलाडी : मार्टिन गप्टिल, अकिब इल्यास, निकोलस किर्टोन, क्रिस सोल

मुख्य प्रशिक्षक : केभिन ओ’ब्रायन

जनकपुर बोल्ट्स

आसिफ शेख, अनिल शाह, ललित राजवंशी, हेमन्त धामी, किशोर महतो, शेर मल्ल, आकाश त्रिपाठी, शुब कंसाकार, रुपेश सिंह, तुल थापा, अरनिको यादव

विदेशी खेलाडी : जिम्मी निसम, जोसुआ ट्रोम्प, मोहमद मोहसिन, लहिरु मिलान्था, सोहेब मक्सुद

मुख्य प्रशिक्षक : पुबुदु दासानायके

काठमाडौं गुर्खाज

करण केसी, भीम शार्की, शाहब आलम, रासिद खान, दिपेश कँडेल, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ, विवेक केसी

विदेशी खेलाडी : माइकल लेभिट, जेरार्ड एरासमस, स्टेफेन इस्कीनाजी, डान डौथवेट

मुख्य प्रशिक्षक : बसन्त शाही ठकुरी

चितवन राइनोज 

कुशल मल्ल, रिजन ढकाल, कमल सिंह ऐरी, शरद भेषावकर, दिपेश श्रेष्ठ, अमरसिंह राउटेला, दीपक बोहरा, सन्तोष कार्की, गौतम केसी, रन्जित कुमार, विपिन रावल

विदेशी खेलाडी : मर्चेन्ट डे ल्याङ, लुक बेनकेन्स्टेइन, हसन एइसाखिल, निकोल जान लोफ्टी-इटन

मुख्य प्रशिक्षक : उमेश पटवाल

पोखरा एभेन्जर्स 

कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, दिलिप नाथ, सुनाम गौतम, तृत राज दास, नारायण जोशी, विपिन खत्री, अमृत गुरुङ, दिनेश खरेल, किरण ठगुन्ना

विदेशी खेलाडी : आन्द्रेस गौस, एन्डरसन फिलिप, बास डे लिड, म्याट क्रिटले, रेमोन रेइफर

मुख्य प्रशिक्षक : राजीव कुमार

मेन्टर : जोनट् रोड्स

लुम्बिनी लायन्स : रोहित कुमार पौडेल, सन्दिप जोरा, सूर्य तामाङ, अर्जुन साउद, विवेक यादव, आशुतोष घिरैया, तिलक राज भण्डारी, दुर्गेश गुप्ता, दिनेश अधिकारी, विकास आग्री, अभिषेक गौतम

विदेशी खेलाडी : बेन कटिङ, टम बुर्स, उन्मुक्त चन्द,

मुख्य प्रशिक्षक : नन्दन फाडनिस

कन्सलट्यान्ट प्रशिक्षक : शक्ति गौचन

कर्णाली याक्स टोली

सोमपाल कामी, गुल्शन झा, देव खनाल, नन्दन यावद, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे

विदेशी खेलाडी : हुसेन तलात, बाबर हायत, चाडविक वाल्टन,….

मुख्य प्रशिक्षक र क्रिकेटर डिरेक्टर : ज्ञानेन्द्र मल्ल

सुदूरपश्चिम रोएल्स 

दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, नरेश बुढाएर, इशान पाण्डे, अर्जुन कुमाल, अमित श्रेष्ठ, नरेन साउद, खडक बोहरा, भोज राज भट्ट

विदेशी खेलाडी : ब्राण्डन म्याकमुलेन, सैफ अली जैब, स्कट कुगेलेइन, रोहन मुस्ताफा

मुख्य प्रशिक्षक : जगत टमाटा

मेन्टर : ब्राड हज

एनपीएल नेपाल प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय