
काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ स्पेनिस भाषामा डबिङ गरेर अमेजन प्राइम भिडियोमा रिलिज हुने भएको छ । फिल्म ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ नामबाट यो फिल्म ९० देशमा स्ट्रिमिङ हुन लागेको हो ।
यसअघि अंग्रेजी भाषामा फिल्म अमेरिका, बेलायत, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान र जापानमा रिलिज गरिएको थियो ।
गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित रहेर यो फिल्म निर्माण भएको हो । फिल्ममा गोर्खालीको त्याग, करुणा र मित्रताको कथा देखाइएको छ । फिल्मको पूरै छायांकन बेलायतमा गरिएको हो ।
२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्विन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर उनी बाँच्न सफल भए । उनकै कथालाई यो फिल्ममा देखाइएको थियो । यतिबेला २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो ।
साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजन गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । प्रदीप शाहीले यसअघि निर्देशन गरेको फिल्म ‘अन्तिम संस्कार’ प्रदर्शन भइसकेको छ । उनी निर्देशित आगामी फिल्म ‘एक्लो’ यतिबेला पोस्ट प्रोडक्सनमा छ ।
प्रतिक्रिया 4