गर्भावस्थामा महिलाले आफ्नो स्वास्थ्यको सबैभन्दा बढी ख्याल गर्नुपर्छ । अलिकति लापरबाही पनि गर्भवती महिला र उनको गर्भमा रहेको शिशुको लागि घातक साबित हुन सक्छ ।
प्रायः गर्भावस्थाको पाँचौं महिनादेखि केही महिलाहरूलाई उच्च रक्तचापको समस्या हुन थाल्छ । यसलाई नियन्त्रण गर्न सकिएन भने यो निकै हानिकारक हुनसक्छ ।
गर्भावस्थाको समयमा उच्च रक्तचापलाई मेडिकल भाषामा जेस्टेसनल हाईपरटेन्सन एवं यसमा अलि जटिलता देखा परेकाे अवस्थालाई प्रि–ईक्लाम्पसिया भनिन्छ। जेस्टेसनल हाईपरटेन्सन वा प्रि–ईक्लाम्पसिया सामान्यतया: गर्भवती महिलामा गर्भावस्थाको २० औँ हप्ता पछि सुरु हुन सक्छ ।
यो आमा र बच्चा दुवैको लागि गम्भीर अवस्था हो ।
गर्भावस्थामा रक्तचाप बढ्ने अवस्था
गर्भावस्थालाई उच्च रक्तचापको जोखिम हुने अवस्था पनि भनिन्छ । गर्भावस्थामा उच्च रक्तचापको समस्या ७ देखि ८ प्रतिशतसम्म हुन्छ ।
यो अवस्थामा किन देखिन्छ भन्ने ठोस कारण अझै पत्ता लागेको छैन । तर कतिपय जोखिम कारकहरुका कारण उच्च रक्तचाप विकसित हुने अनुमान गरिन्छ ।
ढिलो उमेरमा आमा बन्ने भएकाले रक्तचापको जोखिम भएको पाइन्छ ।
यस बाहेक गर्भमा जुम्ल्याहा वा तीन वा चार शिशु हुँदा पनि उच्च रक्तचापको समस्या बढ्छ । र, कुनै महिलालाई पहिलेदेखि नै मिर्गौला सम्बन्धित रोग छ भने उच्च रक्तचापको समस्या पनि देखिन सक्छ ।
साथै पहिलो गर्भावस्थामा उच्च रक्तचापको समस्या भएका महिलाको हकमा दोस्रो गर्भमा पनि यो समस्या हुने सम्भावना २५ प्रतिशतसम्म हुन्छ । यदि कसैको रक्तचाप पहिले नै उच्च छ भने, यो गर्भावस्थाको समयमा अझ बढ्न सक्छ ।
गर्भावस्थामा रक्तचाप बढे के हुन्छ ?
गर्भावस्थामा हुने उच्च रक्तचापको असर आमा तथा शिशु दुवैमा पर्ने गर्छ । रक्तचापले प्रत्यक्ष रूपमा रक्तनलीमा असर गर्ने भएकाले शिशुले आमाको गर्भभित्र आवश्यक मात्रामा पोषकतत्वहरू पाउन सक्दैन। जसले गर्दा शिशुको वृद्धि तथा विकास आवश्यक मात्रामा हुन सक्दैन ।
रगतको नलीहरूमा चाप बढेपछि सालको माध्यमबाट शिशुमा जाने रगत प्रवाहलाई असर गर्दछ । शिशुलाई रगतको मात्रा राम्रोसँग नपुग्ने, शिशुलाई आवश्यक पर्ने पोषण तत्त्व नपुग्ने, शिशु कम तौलको निस्किने हुन्छ ।
विश्वभरको तथ्याङ्क केलाउने हो भने पनि अस्पताल आउने गर्भवती महिलाहरूका धेरै समस्या मध्ये र मृत्यु हुनाकाे प्रमुख कारण उच्च रक्तचाप हो । रक्तचाप नियन्त्रणमा भएन भने गर्भवती महिलाहरूमा मस्तिष्क घात, हृदयाघात, मुटु फेल हुने, मिर्गौला फेल हुने समेत हुन सक्छ ।
गर्भावस्थामा उच्च रक्तचाप भए के गर्ने ?
‘प्रेग्नेन्सी इन्ड्युस्ड हाइपरटेन्सन’ अर्थात् गर्भावस्थाकै कारण उच्च रक्तचाप विकसित भएको हो भने सुत्केरी भएको ३ देखी ४ हप्ताबाट नै प्रेसर नर्मल हुँदै जान्छ । अधिकतर महिलाले हाई ब्लडप्रेसरको औषधि खानु पर्दैन ।
तर, डेलिभरी भएको १२ हप्ता बित्दा पनि रक्तचाप घटेन । पटक पटकको परीक्षणमा गर्भवतीको रक्तचाप माथि १४० र तल ९० भन्दा बढी भईरहनु ‘क्रोनिक हाइपरटेन्सन’ ले हो ।
यदि गर्भवती महिलामा गर्भावस्थाकाे २० हप्ता अगाडि नै उच्च रक्तचाप देखिनु पनि क्रोनिक हाइपरटेन्सन हाे ।
यसरी कसैकसैमा पहिलेदेखि जीर्ण प्रकारको उच्च रक्तचाप (क्रोनिक हाइपरटेन्सन) काे देखिएको अवस्थामा गर्भवती छँदा गर्भमा रहेको शिशुलाई असर नगर्ने खालको उच्च रक्तचापविरुद्धकाे औषधिको प्रयोग गरिन्छ ।
उच्च रक्तचापका कारण हुने जोखिमलाई कम गर्नका लागि बेला बेलामा रक्तचाप नाप्नुपर्ने हुन्छ । मोटोपना बढी भएका महिलाहरूले शारीरिक तौल घटाउनुपर्ने हुन्छ ।
गर्भावस्थामा हुने उच्च रक्तचापको समस्या र अन्य स्वास्थ्य समस्याहरूबाट बच्नको लागि नियमित रूपमा स्वास्थ्य जाँच गर्नुपर्छ ।
पहिले देखि नै उच्च रक्तचापको समस्या भएका महिलाहरूले पहिले स्वास्थ्य जाँच गरेर र हाई ब्लडप्रेसर नियन्त्रणमा ल्याएर तथा शिशुलाई हानी नपुर्याउने औषधि सुरु गरेर मात्र गर्भवती भए भने यसबाट हुन सक्ने जोखिम घटाउन सकिन्छ ।
सुगर, थाइराइड जस्ता हर्मोनजन्य समस्या छ भने पनि पहिले स्वास्थ्य जाँच गराएर मात्र गर्भवती हुनु उपयुक्त हुन्छ ।
गर्भावस्थामा उच्च रक्तचाप कसरी नियन्त्रण गर्ने ?
उच्च रक्तचाप अथवा गर्भावस्थामा हुन सक्ने स्वास्थ्यसम्बन्धी जटिलताहरूबाट बच्न सुरुदेखि नै राम्रो चेकजाँच गर्नुपर्छ । साथै निरन्तर स्वास्थ्यकर्मीको सल्लाह लिने र गर्भवती महिलाले आफ्नो गर्भावस्थाभरमा कम्तीमा ८ पटक गर्भ जाँच गराउनु पर्छ ।
गर्भावस्थामा हुने उच्च रक्तचापबाट बच्न तथा नियन्त्रण गर्न जीवनशैली परिवर्तन गर्नुपर्छ ।
दैनिक व्यायाम, योग, ध्यान गर्ने, अनावश्यक तनाव नलिने, धूम्रपान, मदिरापान नगर्ने, मोटोपना घटाउने, नुन कम खाने, धेरै गुलियो, कार्बोहाइड्रेट बढी भएको खाना तथा धेरै चिल्लो खाना कम खाने र हरियो सागपात एवं तरकारी र फलफूल प्रशस्त मात्रामा खाने गरियो भने रक्तचापबाट बच्न र नियन्त्रण गर्न सकिन्छ ।
प्रतिक्रिया 4